नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई थप सहजता प्रदान गर्दै नयाँ प्रिपेड ई–सिम अनलाइनमार्फत नै लिन सकिने व्यवस्था सुरु गरेको छ । 

टेलिकमले जारी गरेको विज्ञप्तिअनुसार अब नयाँ सिम लिनका लागि ग्राहकहरू स्वयं उपस्थित भएर कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । 

नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले टेलिकमको आधिकारिक वेबसाइट esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको 'गेट न्यू प्रिपेड ई-सिम' मा क्लिक गर्नुपर्ने टेलिकमले जनाएको छ । 

वेबसाइटमा दिइएको निर्देशन अनुसार आफ्नो विवरण दर्ता गरिसकेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

भुक्तानी प्रक्रिया पूरा भएपछि सेवाग्राहीलाई इ–सिमको क्यूआर कोड प्राप्त हुनेछ, जसलाई आफ्नो मोबाइल सेटको सेटिङमा गएर स्क्यान गरेपछि सिम सक्रिय हुनेछ । 

टेलिकमले यसअघि नै प्रयोगमा रहेका भौतिक सिमलाई ई–सिममा बदल्ने सुविधा अनलाइनमै उपलब्ध गराउँदै आएकोमा अहिले नयाँ प्रिपेड सिमका लागि पनि यो सुविधा थप गरेको हो । 

यसका साथै नयाँ फिजिकल सिमका लागि आवश्यक पर्ने फारम भर्न तथा ग्राहक विवरण दर्ता वा अद्यावधिक गर्नका लागि समेत सोही पोर्टलमा अनलाइन केवाईसी सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

Share News