एसईई नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ सजिलो तरिका

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसमार्फत हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यलाई यस वर्ष पनि निरन्तरता दिने जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२/८३ को एसईई नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । परीक्षा नियन्त्रण कार्यालयले अन्तिम तयारी गरिरहेको र गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

५ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै वेबसाइट डाउन हुने समस्याबाट बच्न ३५००१ सर्टकोडमार्फत एसएमएसबाटै नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार पारिएको कम्पनीले जनाएको छ ।

स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा.लि.) ले सन् २०१० देखि नेपालमा नतिजा हेर्ने डिजिटल प्रणालीको विकास गर्दै आएको छ । सुरुवातमा क्याम्पस स्टार्टअपका रूपमा सुरु भएको यो सेवा अहिले राष्ट्रिय डिजिटल पूर्वाधारको महत्त्वपूर्ण हिस्सा बनेको छ ।

पहिले नतिजा थाहा पाउन गोरखापत्र कुर्नुपर्ने वा साइबर क्याफे जानुपर्ने बाध्यता रहेकोमा स्प्यारोले इन्टरनेट बिना नै सामान्य मोबाइलबाट एसएमएसमार्फत नतिजा हेर्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।

स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले विद्यार्थीको तनावपूर्ण समयमा सहज सेवा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार देशका जुनसुकै स्थानमा रहेका विद्यार्थीले ३५००१ सर्टकोडमार्फत सजिलै नतिजा प्राप्त गर्न सक्नेछन् ।

एसएमएसबाट एसईई २०८३ को नतिजा हेर्ने तरिका :

मोबाइलको मेसेज (SMS) एप खोल्नुहोस्
नयाँ मेसेजमा SEE <स्पेस> आफ्नो सिम्बोल नम्बर टाइप गर्नुहोस्
उक्त मेसेज ३५००१ मा पठाउनुहोस्

Share News