दोस्रो डिजिटल फ्रेमवर्क यही वर्षदेखि लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षदेखि दोस्रो डिजिटल फ्रेमवर्क लागू हुने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । त्यसको लागि डिएनएफ अन्तिम चरणमा पुर्याएको मन्त्री गुरुङको दाबी छ । २०७६ सालमा बनेको डिएनएफ धेरै अपूरो रहेको उनको भनाइ छ । मन्त्री गुरुङले डिएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने भनेर सम्झौता गरेको भएपनि ५८ पैसा समेत प्राप्त हुन नसकेको बताए । विश्व बैंकका प्रतिनिधिहरुसँग सम्पर्क गर्दा सम्पर्कमा नआएको बताए । सात महिनासम्म पनि विश्व बैंक सम्पर्कमा नआएपछि मन्त्रालयले पहल गरेको बताए । मन्त्रालयमा छलफल सकिसकेको र मन्त्रीपरिषद्बाट पास भएपछि चालु वर्षबाटै लागू हुने जानकारी दिए । मन्त्री गुरुङले भने, ‘दोस्रो डिजिटल फ्रेमवर्क नेपाल चालु आर्थिक वर्षदेखि लागू हुन्छ । डिएनएफ अन्तिम चरणमा पुर्याएका छौँ । २०७६ सालमा बनेको डिएनएफ पहिलो चरणमा बनेको थियो । यो धेरै अपूरो थियो । आइटी क्षेत्र त दिनदिनै यति धेरै फास्ट चेन्ज भइरहेको छ । यो वर्ष बनाएको पनि अर्को वर्ष संशोधन गर्नुपर्ने, सुधार गर्नुपर्ने हुन्छ । हाम्रो मन्त्रालयको छलफल सकिसकेको छ । क्याबिनेटबाट पास भएपछि यही वर्षबाट लागू हुन्छ ।’ मन्त्री गुरुङले नेपाल एआईको क्षेत्रमा धेरै पछि परेको बताए । चालु आ.व.मा फाइभजी काठमाडौं र पोखरा उपत्यकामा शुरु गर्ने बताए । यसले एआईको प्रयोगलाई समेत प्रभावकारी बनाउने जिकिर गरे ।
एप्पलविरुद्ध कानुनी लडाइँ लड्दै मस्क, एप स्टोरमा ‘शक्ति प्रदर्शन’ को आरोप
काठमाडौं । अर्बपति एलन मस्कले सोमबार आफ्नो कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप एक्सएआईले एप्पलविरुद्ध एपस्टोर र्याङ्किङसम्बन्धी विषयमा एन्टिट्रस्ट (प्रतिस्पर्धा विरोधी) नियम उल्लंघन गरेको आरोप लगाउँदै कानुनी कारबाही गर्ने बताएका छन् । ‘एप्पल यस्तो ढंगले व्यवहार गर्दैछ जसले ओपनएआई बाहेक कुनै पनि एआई कम्पनीलाई एप स्टोरमा #1 स्थानमा पुग्न असम्भव बनाइदिन्छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्ट उल्लंघन हो । एक्सएआईले तत्काल कानुनी कारबाही गर्नेछ,’ मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् । मस्कले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । एप्पल, ओपनएआई र एक्सएआईले रोयटर्सको टिप्पणीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएका छैनन् । हाल अमेरिकामा आइफोनका लागि एप स्टोरको ‘टप फ्री एप्स’ सूचीमा च्याटजीपीटी पहिलो स्थानमा छ भने एक्सएआईको ग्रोक पाँचाैं र गुगलको जेमिनी च्याटबट ५७ औं स्थानमा छ । सेन्सर टावरका तथ्याङ्कअनुसार गुगल प्ले स्टोरमा पनि च्याटजीपीटी नै शीर्ष स्थानमा छ । एप्पलको ओपनएआईसँग साझेदारी छ, जसअन्तर्गत च्याटजीपीटीलाई आइफोन, आइप्याड र म्याकमा एकीकृत गरिएको छ । ‘एप्पल एप स्टोर जब एक्स विश्वकै #1 समाचार एप हो र ग्रोक सबै एपहरूमा #5 छ, तब तपाईं किन एक्स वा ग्रोकलाई ‘मस्ट ह्याभ’ सेक्सनमा राख्न अस्वीकार गर्नुहुन्छ ? के तपाईं राजनीति खेल्दै हुनुहुन्छ ?,’ मस्कले सोमबारको अर्को पोस्टमा लेखेका छन् । मस्कको टिप्पणी त्यतिबेला आएको हो जब नियामक निकाय र प्रतिस्पर्धीहरूले एप्पलको एप स्टोर नियन्त्रणमाथि कडा निगरानी बढाएका छन् । गत अप्रिलमा अमेरिकी न्यायाधीशले एप्पलले आफ्नो एप स्टोरमा बढी प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने अदालतको आदेश उल्लङ्घन गरेको ठहर गर्दै कम्पनीलाई आपराधिक अवहेलना अनुसन्धानका लागि संघीय अभियोजकलाई पठाएका थिए । यो मुद्दा फोर्टनाइट निर्माता एपिक गेम्सले दायर गरेको हो । युरोपेली संघको एन्टिट्रस्ट निकायले गत अप्रिलमा एप्पललाई ५० करोड युरो (५८ करोड ७० लाख डलर) जरिवाना लगाएको थियो, जसमा उसले प्रविधिक र व्यावसायिक प्रतिबन्ध लगाई विकासकर्ताहरूलाई एप स्टोरबाहिर सस्तो डिलहरूमा प्रयोगकर्तालाई लैजान नदिएको, डिजिटल मार्केट्स एक्टको उल्लङ्घन गरेको निष्कर्ष निकालेको थियो । अलिबाबाबाट अर्बौं कमाएका सोन ३०० वर्ष टिक्ने एआई साम्राज्य बनाउँदै ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास
डिशहोम र लेक साइड रिट्रिबीच साझेदारी, ग्राहकलाई आवास र खानेकुरामा छुट
काठमाडौं । डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखराको लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग साझेदारी गरेको छ । यस सहकार्यमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले आवास र फुड एण्ड बेभरेजमा १५–१५ प्रतिशत छुटको सुविधा पाउने छन् । यो छुट प्राप्त गर्न ग्राहकले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनुपर्नेछ । पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दै आएको छ । यस साझेदारीसँगै डिशहोमका ग्राहकले यहाँको भ्रमणलाई अझ किफायती र स्मरणीय बनाउन सक्नेछन् । भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्छ । त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकन क्लिक गरी प्राप्त कार्ड देखाएर छुट लिन सकिन्छ । डिशहोमका अनुसार यो सहकार्य केवल इन्टरनेट वा टेलिभिजन सेवाभन्दा बाहिरका जीवनशैलीका फाइदा, बचत र अनुभव ग्राहकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धताको हिस्सा हो ।