सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर खुला
काठमाडौं । सामसङ नेपालले अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि-अर्डर सुरु गरेको छ । साउन २२ देखि साउन २९ गतेसम्म यी स्मार्टफोनहरू प्रि-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्लोबल अनप्याक्ड कार्यक्रमपछिको घोषणा अनुसार नयाँ फोल्डेबल डिभाइसहरू अल्ट्रा-पातलो, हलुका र इन्ट्युटिभ ए.आइ. फिचरहरूसहित बजारमा ल्याइएका हुन् । ग्यालेक्सी जेड फोल्ड७ हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा सामसङको डिजाईन, क्यामेरा क्षमता र ग्यालेक्सी एआइ सँगको संयोजन भएको डिभाइस हो । खोल्ने बित्तिकै ठूलो डिस्प्ले मार्फत उत्पादकत्व र मल्टिटास्किंगमा नयाँ स्तर प्रदान गर्ने यो डिभाइस प्रिमियम प्रयोगकर्ताका लागि लक्षित गरिएको छ । त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप७ स्मार्ट ए.आइ. फिचरहरूसहितको कम्प्याक्ट फोल्डेबल फोन हो, जुन खल्तीमै अट्ने डिजाइनसहित दैनिक प्रयोगमा सहजता दिन्छ। सानो भए पनि यो डिभाइस फ्ल्यागशिप क्यामेरा, एज-टु-एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइनका साथ उच्चस्तरीय अनुभव दिन सक्षम छ । सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले भने, 'ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल प्रविधिलाई पुनः परिभाषित गरेको छ । एआइ र हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई सहज र स्मार्ट अनुभव दिन्छ ।' जेड फ्लिप७ मा नयाँ र ठूलो कभर स्क्रिन समावेश गरिएको छ, जसमा थप विजेटहरू, एप्सहरूसँग इन्टरेक्शन तथा स्क्रिनमै धेरै काम गर्न मिल्ने बनाइएको छ । ४.१ इन्चको फ्लेक्सविन्डो यो सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो स्क्रिन हो। फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले दैनिक कार्यहरू सजिलै गर्न सक्ने बनाइएको छ। क्यामेरा पनि अब झनै स्थिर र रंगको दृष्टिले सटीक छ, र ब्याट्रीको आयु थप सुधार गरिएको छ। नेपालमा यी स्मार्टफोनहरू हाललाई २५६GB स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछन् । प्रि-अर्डर गर्न इच्छुक ग्राहकहरूले सामसङकाे वेबसाइटमा गएर दर्ता गर्न सक्नेछन् । प्रि-अर्डरको लागि ५ हजार अग्रिम भुक्तानी गरेपछि, ग्राहकहरूले OTP प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले नजिकको स्टोरबाट नयाँ स्मार्टफोन खरिद गर्दा आफ्नो प्रि-अर्डर प्रमाणित गर्न सक्नेछन् ।
एनसेलका सीईओ जाब्बोरले दिए राजीनामा
काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले राजीनामा दिएका छन् । उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका हुन् । कायुमोभको राजीनामापछि एनसेल सञ्चालक समितिले सेद एमडी इनामुल कबिरलाई निमित्त सीईओको जिम्मेवारी दिएको छ । उनी एनसेलका प्रमुख वित्तीय अधिकृत (सीएफओ) थिए । जाब्बोर एनसेलमा २०८० साल वैशाख २६ गते सीईओ एवं प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएका थिए ।
टेलिग्राम बन्द गर्ने सरकारको निर्णयप्रति सरोकारवाला संस्थाहरूको आपत्ति
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते इन्टरनेट सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाल एप टेलिग्राम बन्द गर्न निर्देशन दिएको निर्णयप्रति विभिन्न सरोकावालाहरूले आपत्ति जनाएका छन् । बुधबार डिजिटल राइटस् नेपाल, डिजिटल मिडिया फाउण्डेस, मिडिया एक्सन नेपाललगायत दुई दर्जनभन्दा बढी सरोकारवालाहरूले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । उक्त निर्णयलाई ‘एकपक्षीय, अपारदर्शी र प्रमाणविहीन’ भन्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेपको संज्ञा दिएका छन् । ‘नेपालको संविधानको धारा १७ र १९ ले प्रत्याभूत गरेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक डिजिटल माध्यममा पनि प्रयोग गर्ने नागरिक अधिकारलाई संकुचित पार्ने काम भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । टेलिग्रामजस्ता डिजिटल माध्यमहरू सूचनाको आदानप्रदान, जनसहभागिता, शैक्षिक कार्य, सामाजिक अभियान्ता र समुदाय समन्वयका लागि महत्वपूर्ण प्लेटफर्म भएको भन्दै विज्ञप्तिमा यस्तो प्रतिबन्धले प्रेस स्वतन्त्रता, सूचनामा पहुँच र डिजिटल समावेशिताको सरकार पक्षधरता माथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०८० मा टिकटकमाथि लगाइएको प्रतिबन्धप्रति परेको रिटमा सर्वोच्च अदालतले कानुनी व्यवस्था बनाएर सामाजिक सञ्जाल नियमन गर्न आदेश दिएको थियो । त्यसको सन्दर्भमा हाल राष्ट्रिय सभामा सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक विचाराधीन रहेको अवस्थामा, कुनै वैध कानुन बिना टेलिग्राममाथि लगाइएको प्रतिबन्ध अलोकतान्त्रिक र संविधानविपरीत छ ।’ सरकारले टेलिग्राममा आपराधिक गतिविधि भइरहेको दाबी गरे पनि त्यस्ता घटनासम्बन्धी कुनै प्रमाण वा कानुनी आदेश सार्वजनिक नगरिएको पनि विज्ञप्तिमा जनाइएको छ । प्लेटफर्मको दुरुपयोगबाट आपराधिक गतिविधि भएमा दुरुपयोग गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने र प्लेटफर्म बन्द गर्नु गैरउत्तरदायी कदम भएको विज्ञप्ति जारीकर्ताहरूको ठम्याइ छ । साथै ‘नेपालले अंगीकार गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिका दायित्वहरू र मानव अधिकारको सार्वभौमिक घोषणापत्रको समेत उल्लङ्घन भएको’ विज्ञप्तिमा उल्लेख छ। सरोकारवालाहरूले विज्ञप्तिमार्फत टेलिग्राममाथिको प्रतिबन्ध तत्काल फिर्ता गर्न माग राखेका छन् । त्यस्तै, डिजिटल प्लेटफर्म नियमन संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार पूर्णपरिपालना गर्न अनुरोध गरेका छन् । यस्तै, डिजिटल अधिकारको संरक्षणका लागि सरोकारवालाबीच पारदर्शी, समावेशी र उत्तरदायी संवाद सुरु गर्नुपर्ने सरकोकारवालाहरूको माग छ ।