ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि...
काठमाडौं । यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छोडिन् । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिनन् । जब उनी मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखिन् । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उनले फोन उठाइन् । फोन काठमाडौंस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेर्स्याए । उनले सबै जवाफ दिइन् । एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मनलाग्यो र किन भनेर साेधिन् । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस् भन्ने जवाफ पाइन् । कार्कीले पछि मिलाएर आउँछु भनिन् । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौंमा सम्पर्क गर्न भनियो । ‘पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ’, उनले भनिन्, ‘सुरुमा पुरस्कार पर्यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।’ तर, जब काठमाडौंमा रहेका देवरले भनेपछि राम्रो उपहार परेको हो कि भन्ने भयो । देवरले एकपटक काठमाडौं आउनुहुन्छ त ? भनेपछि मात्र उनलाई साँच्चिकै पुरस्कार हो कि भन्ने भयो । उनी मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौंका लागि गाडी चढिन् । भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगिन् । ‘एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन’, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, ‘अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।’ कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उनको झण्डै आठ वर्षअघिको हो । ‘स्थानीय आरुघाटस्थित बजारमा सात/आठ वर्षअघि किनेको ‘सीमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘आज त्यही प्याकले एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।’ उनको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमानसँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उनको मनमा अझै ताजै छ । श्रीमानले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ । यद्यपि, भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । ‘कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ’, उनले भनिन् । उनको जीवनमा ब्रजपात त तब पर्यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु पर्यो । धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका– ६ बाङ्गेपीपल बसेरीमा हाल उनको सानो घर छ । विदेशमा श्रीमानले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि, महिला स्वयंसेविकाका रुपमा थोरै भएपनि भत्ता आउँछ । त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउँछिन् । गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छाडेकी हुन् । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लागेपछि घर सम्हालने जिम्मा उनको काँधमा आयो । खाडीको चर्को गर्मीमा श्रीमानले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउथे । त्यही रकमले घरखर्च चलाउँथिन् उनी । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र ? कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनले श्रीमानलाई देशमै जागिर गर्न सुझाव दिइन् । ‘विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु गर्‍यौँ’, उनले विगत सम्झिँदै सुनाइन् । तर, भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो । ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । ९ लाख रुपैयाँमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे । तर, त्यहाँ पनि भने जस्तो काम पाएनन् । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उहाँ अहिले पनि बहराइनमै छन् । ‘दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ’, उनले भनिन् । बहराइनमा श्रीमानको शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा १५/२० हजार रुपैयाँ पठाइरहन्छन् । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उनले बताइन् । एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ । यो रकम उनका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ । प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उनी खुसी छिन् । ‘यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन’, उनले भनिन् । ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । ‘यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमानलाई नेपालमै राखेर दुवै जना काम गर्छौं’, उनी भन्छिन् । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ । रासस
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गरेका छन् । चीनको साङ्घाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले एआईका उपलब्धिको पहुँच र समानताको वकालत गरे । सञ्चारमन्त्री गुरुङले भने, 'एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङ शक्ति, ओपन मोडल र डेटा सेटहरूको आवश्यकता छ । यसमा अन्तरराष्ट्रिय सहयोगको अपेक्षा छ ।' सम्मेलनअन्तर्गत विश्वव्यापी एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकमा उनले पारदर्शीता, समावेशिता, जवाफदेहिता र एआईको गैर–सैनिकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घ नेतृत्वको चार्टर्डलाई समर्थन गर्ने बताए । 'एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ । हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्दछौँ', उनले भने । मन्त्री गुरुङले एआईको विकासका लागि नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित रहेको बताए । उनले नेपाल डिजिटल छलाङको सीमामा उभिएको र यससम्बन्धी नीति अन्तरम चरणमा रहेको उल्लेख गर्दै उक्त नीतिले राष्ट्रिय प्राथमिकतासँग तारतम्य मिलेको समावेशी र नैतिक ‘एआई इकोसिस्टम’को परिकल्पना गरेको बताए । मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै भने,'नेपालले अन्तरराष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशमा नवप्रवर्तन हबहरू सुरु गर्नेछ । शासन, सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने हाम्रो लक्ष्य छ ।' यसैगरी उनले नेपालले एआई विलासिता नभई रुपान्तरणका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 'हाम्रा लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो । हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधलाई नाघेर अगाडि बढ्न सकियोस् । प्रविधिमार्फत सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्', मन्त्री गुरुङको भनाइ थियो,'मानवताबिना प्रविधि अराजकता हो, नैतिकताबिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन गर्नुपर्छ। नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याउँछ । हामी सबै राष्ट्रहरूलाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौं ।' उनले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानवजातिको उत्थानमा एआईको प्रयोग सुनिश्चित गर्नु साझा चुनौती भएको उल्लेख गर्दै यसमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
पार्वती बनिन् एनसेल करोडपति
काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, 'अब भने साँच्चै हाम्रो पनि दिन आयो !' कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठुलो सङ्घर्ष गरेकी छन्, धेरै गुमाएकी छन् । उनले झण्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् । विसं २०७२ सालको भूँइचालोमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन । भूँइचालोले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो । त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिसोलिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौँमा प्लस टुमा अध्ययनरत छन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् । 'मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु', उनले भनिन् । श्रीमानलाई विदेश नफापेपछि उनले केही समय काठमाडौँमा व्यापार पनि गरिन् । तर केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमानलाई फेरि विदेश पठाइकी थिइन् । 'अहिले पनि श्रीमान् विदेश जाँदाको र अरू ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ', उनले सुनाइन् । एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो । 'सधैँ अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,' एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने । 'सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौँ । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौँ ।'