माघभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण सुरु हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएका छन् । चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने उनको भनाइ छ । उनले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनलगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार गर्ने सरकारको तयारी रहेको बताए । कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत जानकारी दिए । उनीले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे । आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे । सातवटै प्रदेशमा आईटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न सरकार लागेको मन्त्री गुरुङको भनाइ छ । उनले भने, 'हामी डिजिटल नेपालको फ्रेमवर्क बनाउँदैछौं । त्यो नीति अब क्याबिनेटबाट पास भएर कार्यान्वयनमा आउँछ । हामी त्यसको अन्तिम चरणमा छौं । अब टुरिज्म, एजुकेसन, गभर्नेन्स तथा डिजास्टर म्यानेजमेन्टलगायत आठ वटा क्षेत्रमा त्यसले काम गर्छ । त्यसले इन्टरनेटको प्रयोगलाई सहयोग गर्ने र एआईको प्रयोगमा पनि टेवा पुर्‍याउने विश्वास लिएका छौं ।' बैंकिङ ठगीका मुद्दा बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि आवश्यक कानून निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताए ।

एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ?

काठमाडौं । एनभीडीयाले बुधबार आय र आम्दानी दुबै क्षेत्रमा विश्लेषकहरूको अनुमानभन्दा राम्रो नतिजा सार्वजनिक गर्‍यो । यस त्रैमासिकमा बिक्री वृद्धि ५० प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको छ, जसले वाल स्ट्रिटलाई कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारको माग अझै पनि उच्च रहेको संकेत दिएको छ । तर, २०२४ मा करिब तीन गुणा बढेको र यस वर्षमात्रै ३५ प्रतिशत उकालो लागेको सेयर विस्तारित कारोबारमा घट्यो, किनभने कम्पनीको डेटा सेन्टर आम्दानी लगातार दोस्रो त्रैमासिकमा अपेक्षाभन्दा कम रह्यो । विश्लेषकहरूको अनुमानसँग तुलना गर्दा कम्पनीको नतिजा  प्रति सेयर आम्दानी (ईपीएस) : १.०५ (समायोजित) र १.०१ (अनुमानित) आम्दानी ४६.७४ अर्ब र ४६.०६ अर्ब (अनुमानित) एनभीडीयाले यो त्रैमासिकमा ५४ अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ (२ प्रतिशत वृद्धिदर), तर यसमा चीनतर्फ एचटुओ चिपको ढुवानी समावेश गरिएको छैन । विश्लेषकहरूले ५३.१ अर्ब आम्दानी हुने अनुमान गरेका थिए । २०२६ को दोस्रो त्रैमासिक नतिजाले एनभीडीयाको डेटा सेन्टर व्यवसाय विश्वव्यापी एआई विस्तारको केन्द्रमा रहेको पुष्टि गरेको छ । वित्त प्रमुख कोलेट क्रेसले भनेअनुसार दशकको अन्त्यसम्म एआई पूर्वाधारमा ३ देखि ४ ट्रिलियन डलरसम्म खर्च हुने अनुमान छ । आम्दानी वृद्धि एनभीडीयाको कुल आम्दानी गत वर्षको ३०.०४ अर्बबाट ५६ प्रतिशत बढेर ४६.७४ अर्ब पुगेको छ । लगातार नौ त्रैमासिकदेखि वार्षिक आम्दानी वृद्धि ५० प्रतिशत माथि छ, जुन सन् २०२३ को मध्यदेखि जेनेरेटिभ एआईको माग बढ्न थालेयता देखिएको हो । तर, यस अवधिमा यो सबैभन्दा सुस्त वृद्धि भएको त्रैमासिक हो । सीईओ जेन्सेन हुआङले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि एनभीडीयाले चीनतर्फ एचटुओ चिप पठाउन अमेरिकी अनुमति पाउने अपेक्षा गरेको थियो । तर यो प्रोसेसर वाणिज्यिक (व्यवसायिक ढंगले बजारमा बिक्री वा कारोबार गर्न मिल्ने अवस्था) रूपमा उपलब्ध नभएको कारण कम्पनीलाई ४.५ अर्बको घाटा भयो र करिब ८ अर्ब आम्दानी गुम्यो । यस त्रैमासिकमा चीनलाई एचटुओ चिप पठाउन नसके पनि चीनबाहिरका एक ग्राहकलाई १८० मिलियन बराबरको एचटुओ स्टक बेचेको कम्पनीले जनाएको छ । क्रेसका अनुसार यदि भूराजनीतिक परिस्थिति अनुकूल भए एनभीडीयाले यस त्रैमासिकमा २ देखि  ५ अर्बसम्म एचटु‌ओ चिप पठाउन सक्छ । शुद्ध नाफा ५९ प्रतिशत बढेर २६.४२ अर्ब (प्रति सेयर १.०५) पुगेको छ, जुन गत वर्षको १६.६ अर्ब (प्रति सेयर ६७ सेन्ट) थियो । डेटा सेन्टर व्यवसाय एनभीडीयाको डेटा सेन्टर व्यवसाय जसले जीपीयू र त्यसलाई जोड्ने/चलाउने अन्य उत्पादनहरूमा केन्द्रित छ, गत वर्षको तुलनामा ५६ प्रतिशत बढेर ४१.१ अर्ब पुगेको छ, तर विश्लेषकहरूको ४१.३४ अर्ब अनुमानभन्दा कम रह्यो । ३३.८ अर्ब जीपीयू चिप बिक्रीबाट (गत त्रैमासिकको तुलनामा १ प्रतिशत घटेको) ७.३ अर्ब नेटवर्किङ पार्ट्स बिक्रीबाट (गत वर्षको भन्दा लगभग दोब्बर) ठूला क्लाउड प्रदायकहरू (मेटा, अल्फाबेट, माइक्रोसफ्ट, अमेजन) एनभीडीयाको डेटा सेन्टर बिक्रीको करिब आधा हिस्सा बनाउँछन् । उनीहरूले अहिले कम्पनीको नयाँ ब्लाकवेल चिप खरिद गरिरहेका छन् । ब्लाकवेल चिप बिक्री गत त्रैमासिकको तुलनामा १७ प्रतिशत बढेको छ । मे महिनासम्म नयाँ प्रोडक्ट लाइनले २७ अर्ब आम्दानी गरेको थियो, जसले कुल डाटा सेन्टर आम्दानीको ७० प्रतिशत हिस्सा ओगटेको छ । अन्य व्यवसायहरू गेमिङ डिभिजन : ४.३ अर्ब आम्दानी, गत वर्षभन्दा ४९ प्रतिशत वृद्धि  रोबोटिक्स डिभिजन : ५८६ मिलियन आम्दानी, वार्षिक आधारमा ६९ प्रतिशत वृद्धि कम्पनीले अतिरिक्त ६० अर्ब मूल्यको सेयर पुन: खरिद योजनालाई स्वीकृति दिएको छ, जसको समयसीमा छैन । यस त्रैमासिकमा मात्र कम्पनीले ९.७ अर्ब बराबरको आफ्नै सेयर पुन: खरिद गरेको छ । चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा

सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुन सरकारको आह्वान

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रूपमा आह्वान गरेको छ ।  सोमवारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।  बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ ।  उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले पेश गरेको स्वैच्छिक अवकाश स्वीकृत गरेको पनि बताए ।  यस्ता छन् सोमबारको मन्त्रिपरिषद्का बाँकी निर्णयहरू  नेपाल सरकारबाट घोषणा भएका विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने । मित्रराष्ट्र भियतनामका उपराष्ट्रपति एच. ई. भो थी अनछुआङले २०८२ साल भदौ ७ देखि ९ गतेसम्म गर्ने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने । नेपाली सेनातर्फ चारजना उपरथीहरूको सरुवा गर्ने, एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एकजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने । २०८२ भदौ १६ देखि १८ गतेसम्म कोरियाको सियोलमा आयोजना हुने ग्लोवल ग्रीन ग्रोथ इन्स्टिच्युटसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई स्वीकृति प्रदान गर्ने । २०८२ भदौ १० देखि १३ गतेसम्म फिजीको नाडीमा आयोजना हुने छैटौँ फोरम अफ मिनिस्टर एण्ड इन्भायरोमेन्ट अथुरिटीज अफ एसिया प्यासिफिक (एपी फोरम)मा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा वि.क.लाई स्वीकृति प्रदान गर्ने । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मिति २०८२ भदौ ३० देखि असोज ३ गतेसम्म भियना इन्टरनेसनल सेन्टर, भियनामा आयोजना हुने ६९औँ आईएईए जेनेरल कन्फरेन्स कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा देहायबमोजिम गर्नेः (क) सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने । (ख) तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने ।   नेपाल लेखापरीक्षण सेवाको समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक रिक्त पदमा श्री इन्द्र प्रसाद आचार्यलाई बढुवा गर्ने । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव श्री भरतमणी सुवेदीले पेश गर्नु भएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।