हिमालय स्पोर्टस् च्यानल र डीगो एप सार्वजनिक, विश्वकप २०२६ नेपालमै हेर्न पाइने

काठमाडौं । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो ।  अब नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र यी दुई प्लेटफर्मबाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ । नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले टेलिभिजनतर्फ हिमालय स्पोर्टस् र हिमालय टेलिभिजन तथा मोबाइल एपतर्फ डीगो एपसँग एक्सक्लुसिभ प्रसारण सम्झौता गरेको हो । सम्झौतापछि एसप्रो मिडियाका अध्यक्ष सोम धितालले नेपाली दर्शकले अब नेपाली टेलिभिजन र मोबाइल एपमै विश्वकप हेर्न पाउने वातावरण बनेको बताए । उनले विदेशी च्यानलमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे । हिमालय स्पोर्टस् र डीगो एप सार्वजनिक सोही अवसरमा हिमालय टेलिभिजनको खेलकुद विशेष च्यानल ‘हिमालय स्पोर्टस्’को औपचारिक शुभारम्भ पनि गरिएको छ । हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल तथा हिमालय स्पोर्टस्‌का प्रमुख कार्यकारी अधिकृत सुरज गिरीले च्यानलको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष भुसालले हिमालय टेलिभिजनले सब्सक्रिप्सन मोडलमार्फत विश्वस्तरीय कन्टेन्ट नेपालमा प्रसारण गर्ने नयाँ अध्याय सुरु गरेको बताए । त्यस्तै, कार्यकारी निर्देशक श्याम कँडेलले खेल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उत्कृष्ट गुणस्तरमा खेलसम्बन्धी कन्टेन्ट प्रसारण गर्न हिमालय स्पोर्टस् च्यानल सुरु गरिएको जानकारी दिए । सोही समारोहमा डीगो मोबाइल एपको पनि शुभारम्भ गरिएको थियो । यसअघि ‘डिसहोम गो’ नाममा रहेको मोबाइल एपलाई नयाँ प्रविधि र नयाँ स्वरूपसहित ‘डीगो’ नामबाट सार्वजनिक गरिएको हो । डिस मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकाल, निर्देशक सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेलले एपको शुभारम्भ गरेका थिए ।  अध्यक्ष ढकालले प्रविधि, बजार र दर्शक एकैसाथ तयार रहेको अवस्थामा लगानीका हिसाबले यो सुनौलो अवसर भएकाले डीगोलाई फिफा विश्वकपसँगै नयाँ स्वरूपमा सार्वजनिक गरिएको बताए । उनले विश्वभर रहेका नेपालीलाई कन्टेन्टमार्फत जोड्ने उद्देश्यसहित डीगो अघि सारिएको उल्लेख गरे । कार्यक्रममा हिमालय स्पोर्टस्‌का सीईओ तथा निर्देशक सुरज गिरी र डीगोका प्रमुख सञ्चालन अधिकृत रोशन निरौलाले टेलिभिजन प्रसारण, मोबाइल एप तथा अन्य प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।   यस्तो छ ग्राहक शुल्क  फिफा विश्वकप हेर्न दर्शकले टेलिभिजनमा हिमालय स्पोर्टस् च्यानल सब्सक्राइब गर्नुपर्नेछ । टेलिभिजनमा विश्वकप हेर्न प्रति सेटअप बक्स ९ सय ९९ रुपैयाँ (करसहित) शुल्क लाग्नेछ । हाल अर्ली बर्ड अफरअन्तर्गत डीगो एपमार्फत सीमित अवधिका लागि ७ सय ९९ रुपैयाँमा ग्राहक पास खरिद गर्न सकिने जनाइएको छ । मोबाइलबाट मात्रै हेर्न चाहने दर्शकका लागि ५ सय ४९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ ।  उल्लेखित शुल्क तिरेपछि दर्शकले विश्वकपका सबै १ सय ४ खेल हेर्न पाउनेछन् । टेलिभिजनको ग्राहक बन्न सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने जनाइएको छ ।   

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

काठमाडौं । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन हेलिकप्टरबाट उपकरण तथा सामग्री ओसारेरसमेत दूरसञ्चार सेवा विस्तार भइरहेको छ । दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको छ । यस्ता स्थानहरूमा कम्पनीले गरेको लगानीबाट व्यावसायिक लाभ हासिल नहुने भए पनि डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको टेलिकमले जनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिने उल्लेख गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पनि डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।   यसका लागि आवश्यक समन्वय, सहकार्य तथा मार्गनिर्देशनसमेत मन्त्रालयबाट भइरहेको छ । नेपाल टेलिकमले फोरजी सेवा पूर्ण रूपमा कार्यान्वयन र फाइभजी सेवा पनि सँगसँगै सुरु गर्ने सरकारको योजनाअनुसार काम गरिरहेको छ । फाइभजी सेवा सञ्चालनका लागि ३३००–३७०० मेगाहर्ज ब्यान्ड खुला गरी प्रविधि विस्तारको मार्ग प्रशस्त गरिएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षित थापा क्षेत्रीले दुर्गम तथा दूरदराज क्षेत्रहरूमा पनि इन्टरनेट र मोबाइल सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइन् । उनका अनुसार नवीनतम प्रविधिको प्रयोग गर्दै भौगोलिक अवस्था र आवश्यकताअनुसार कुन प्रविधि उपयुक्त हुन्छ भन्ने मूल्याङ्कन गरेर सेवा विस्तार गरिँदै आएको छ । उनले सम्भव भएसम्म ‘अप्टिकल फाइबर’ विस्तार गर्ने योजनाअनुसार नेपाल टेलिकमले काम गरिरहेको जानकारी दिनुभयो । त्यस्तै, विद्युत् सुविधा नपुगेका स्थानहरूमा सोलार टावरमार्फत विद्युत् आपूर्ति गरी सञ्चार सेवा सञ्चालन गरिएको छ । दुर्गम क्षेत्रमा भने भिस्याट प्रविधिको प्रयोग गरेर सेवा उपलब्ध गराइएको उनको भनाइ छ । टेलिकमका अनुसार डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लाहाँ तथा ठूलीभेरी नगरपालिकाअन्तर्गत दुनै क्षेत्रमा समुद्र सतहदेखि करिब ३९०० मिटर उचाइमा केही दिनअघि सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । त्रिपुरासुन्दरी लाहाँमा सोलार पावरबाट सिङ्गल सेक्टर टुजी सञ्चालनमा रहेकामा उक्त साइटको स्तरोन्नति गरी जलविद्युत् जडान र १८ मिटर पोल जडानपश्चात् फोरजी सेवा सञ्चालनमा आएको हो । यसबाट त्रिपुरासुन्दरी–६ का बस्तीहरू लाहाँ, खादाङ, फुल्चिङ, पालङ गाउँ तथा जाजरकोट–डोल्पा राजमार्गमा उच्च गतिको फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ भने करिब २५० घरधुरीका १२०० मोबाइल प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिका–१ थाला डाँडाको ३९०० मिटर उचाइमा टावर राखिएको छ । यस साइटमा उच्च क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरी २५ मिटरको टावर जडानपश्चात् फोरजी सेवा सञ्चालनमा आएको छ । यहाँबाट ठूलीभेरी नगरपालिका वडा नम्बर १, २, ३ र ४ का थाला गाउँ, लोचा गाउँ, तिप्ला, कुल्मी र काइके गाउँपालिकाका वैजबाडा, वनठाडा, सहरतारा, गुम्बातारा, टुप्पातारा, लाबन बगर तथा दुनै सहरतारा पदमार्गमा उच्च गतिको फोरजी सेवा विस्तार भएको छ । यसबाट करिब ८०० घरधुरीका ३२०० भन्दा बढी मोबाइल प्रयोगकर्ता लाभान्वित भएको जनाइएको छ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा ३४०० मिटर उचाइमा गत शुक्रबारदेखि फोरजी सेवा सुरु भएको छ । यस सेवाबाट ओलाङ्चुङगोला, याङमा, जारीटार, लुम्बासम्बा पदमार्गको दिगासम्बा तथा ग्रेट हिमालय ट्रेलअन्तर्गत लाङ्ग्योङ आसपासका क्षेत्रमा मोबाइल नेटवर्क सुविधा उपलब्ध हुन थालेको छ । त्यसैगरी, ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा मन्दिर परिसर, काफ्लेपाटी, देउराली, भालुगौडा तथा मन्दिरतर्फ जाने पदमार्गका विभिन्न स्थानहरूमा मोबाइल नेटवर्क सुविधा विस्तार भएको छ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सा ९३८५० मिटर मा नेपाल टेलिकमले सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि स्याटेलाइटमार्फत टुजी सेवा मात्र रहेको यस क्षेत्रमा अब उच्च गतिको मोबाइल इन्टरनेट सेवा विस्तार भएको छ । घुन्सा, फले, खम्बाचेन, लोनाक तथा कञ्चनजङ्घा आधार शिविरतर्फ जाने पदमार्गका क्षेत्रमा मोबाइल नेटवर्क सुविधा उपलब्ध हुनेछ । नेपाल टेलिकमले सङ्खुवासभा जिल्लाका दुर्गम तथा उच्च हिमाली क्षेत्रमासमेत आफ्नो दूरसञ्चार सञ्जाल विस्तार तथा स्तरोन्नति गरेको छ । यसबाट स्थानीय बासिन्दा तथा पर्यटकलाई अत्यावश्यक सञ्चार सुविधा उपलब्ध भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित चेक्सेडाँडा क्षेत्रमा स्थापना गरिएको नयाँ बिटीएस टावर हालै सञ्चालनमा आएको छ । सो टावरले मकालु गाउँपालिका–२ का विभिन्न बस्तीहरू, वडा नम्बर ३ का केही क्षेत्र तथा वडा नम्बर ५ को माङसिमामा मोबाइल नेटवर्क उपलब्ध गराएको छ ।  साथै, यो टावरले मकालु बेस क्याम्प ट्रेकिङ मार्गका उच्च पहाडी क्षेत्रहरूमा समेत ‘नेटवर्क कभरेज’ दिएको छ । त्यस्तै, नेपाल टेलिकमले सिम्बोप्वा डाँडामा माइक्रोवेभ रेडियो रिपिटर तथा बीटीएस (तासिथवा) स्थापना गरेको छ । करिब ३७०० मिटर उचाइमा रहेको यस स्थानमा टावर स्थापना गर्न चुनौतीपूर्ण थियो । बसोबास क्षेत्रभन्दा माथि करिब छ घण्टा ठाडो उकालो चढेर मात्र पुग्न सकिने यो क्षेत्रमा उपकरण ढुवानी र निर्माण सम्पन्न गर्न करिब तीन वर्ष लागेको टेलिकमले जनाएको छ ।  सिम्बोप्वा डाँडाको टावरले भोटखोला गाउँपालिकाका लिंगम, छुम्सुरलगायतका दुर्गम बस्ती तथा कोशी राजमार्गको माथिल्लो खण्डमा मोबाइल नेटवर्क कभरेज उपलब्ध गराएको छ । यहाँ माइक्रोवेभ रिपिटर स्टेसन ९किमाथांका० स्थापना भएपछि किमाथांकासम्म माइक्रोवेभ लिङ्क विस्तार सम्भव भएको टेलिकमको भनाइ छ । त्यसैगरी, टेलिकमले भोटखोला गाउँपालिकाको उत्तरी सीमा क्षेत्र किमाथांकामा माइक्रोवेभ रेडियोमा आधारित फोरजी सेवा सुरु गरेको छ । उत्तर–दक्षिण कोशी राजमार्गसँग जोडिएको यो अत्यन्त दुर्गम क्षेत्रमा यसअघि स्याटेलाइटमा आधारित टुजी भ्वाइस सेवा मात्र सञ्चालनमा थियो । टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा डोल्पाको कान्छो गाउँ कुगाउँ तथा निजाल, दोलखाको ना–गाउँ र रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइटमार्फत जिएसएम मोबाइल सेवा विस्तार गरिएको छ । हाल टेलिकमले ३८ विभिन्न स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यीमध्ये सबैभन्दा बढी १४ ‘साइट’ डोल्पा जिल्लामा छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट छन् । हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ, मुगुको मुगुगाउँ, पुलु, रारा ९मुर्मा०, सोरुकोट र भी, मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ, ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी, दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा स्याटेलाइटमार्फत सेवा पुर्याइएको छ । टेलिकमले बाजुराको बडिमालिका मन्दिर क्षेत्र ९४२०० मिटर उचाइमा फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । साथै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको जनाइएको छ । डिजिटल पहुँचको विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने प्राथमिकताअनुरूप नेपाल सरकार सक्रिय रूपमा काम गरिरहेको छ । दुर्गम क्षेत्रमा रहेका देशभरका बस्तीहरूलाई डिजिटल रूपमा जोड्ने अभियान निरन्तर जारी रहने टेलिकमले जनाएको छ । फोरजी सेवा सञ्चालनसँगै अनलाइन कक्षा, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल, इमेल तथा विभिन्न अनलाइन सेवा सहज रूपमा प्रयोग गर्न सकिने भएको छ । यसले स्थानीय प्रशासन, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै पर्यटन प्रवद्र्धन, सूचना प्रवाह तथा समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस  

एनसेल फाउन्डेसनद्वारा १०० जना विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ घोषणा

काठमाडौं । एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना जेहेन्दार विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । 'प्रोजेक्ट शिक्षा'सँगको सहकार्यमा फाउन्डेसनले कक्षा ११ र १२ अध्ययनका लागि यो छात्रवृत्ति दिन लागेको हो । यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिनेछ । यस पहलले देशका हरेक कुनाका विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ । यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्‍याउनेछ । 'एनसेल फाउन्डेसनमा हामी शिक्षा देशको भविष्य निर्माण गर्ने एक आधारभूत स्तम्भ हो भन्नेमा विश्वास राख्छौँ । प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहन्छौँ । भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो । यस पहलमार्फत हामी सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पुर्‍याइरहेका छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।  हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा रहेको छ र नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ ।