सोशल मिडिया प्रतिबन्धले बालबालिकालाई जोखिममा पार्ने युट्युबको चेतावनी
काठमाडौं । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ । अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने, 'यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।' युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् । लर्डले भने, 'हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।' युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन । अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भने, 'यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।' विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् । अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ । मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ । रासस
एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, दैनिक १० जीबी डेटा उपहार
काठमाडौं । एनसेलको आधिकारिक मोबाइल एप ‘एनसेल एप’ को डाउनलोड सङ्ख्या एक करोड नाघेको छ । एक करोड नाघेको अवसरमा कम्पनीले १० दिने ‘उत्सव कार्यक्रम’ सार्वजनिक गरेको छ । मंगलबारदेखि सुरु भएको योजनाअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० जीबी डेटा निःशुल्क प्राप्त गर्ने एनसेलले जनाएको छ । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहकहरू पुरस्कारका लागि योग्य हुनेछन् । विजेताले प्राप्त गर्ने डेटा १० दिनसम्म प्रयोग गर्न सक्नेछन् । एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजका अनुसार एक करोड डाउनलोडको उपलब्धिले एनसेल एप ग्राहकहरूको डिजिटल दैनिकीको अभिन्न हिस्सा बनेको प्रमाणित गरेको छ । उनले सरकारको डिजिटल नेपाल अभियान तथा कागजरहित सार्वजनिक सेवा प्रवाहलाई यस उपलब्धिले टेवा पु–याएको उल्लेख गर्दै ग्राहकप्रति आभार व्यक्त गरे । एनसेल एपमार्फत ग्राहकले सेन्टर वा पसलमा नगईकनै रिचार्ज, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, गुनासो दर्ता, सेवा सक्रिय र निष्क्रिय गर्ने जस्ता सुविधा लिन सक्छन् । विदेशमा रहेका नेपालीले पनि यही एप प्रयोग गरी रोमिङ सेवा व्यवस्थापन तथा रिचार्ज गर्न सक्ने गरेका छन् । गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध एनसेल एप प्रयोगकर्ताको सहजता र प्रयोगअनुकूलता ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध
काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल डेटा सेवा एक घण्टादेखि अवरुद्ध भएको छ । मोबाइल डेटा सेवा मंगलबार साँझ ५ बजेदेखि अवरुद्ध भएको हो । विभिन्न प्रयोगकर्ताहरूले मोबाइल डेटा नचल्ने, डेटा प्याक नसकिँदै सकिएको जानकारी आउने, मोबाइल डेटा खोल्दा सिम्बोल पनि नआउनेजस्ता समस्या आएको गुनासो गरेका छन् । केही प्रयोगकर्ताहरूले भोइसमा पनि समस्या आएको गुनासो गरेका छन् । यता नेपाल टेलिकमले भने प्राविधिक समस्या पत्ता लगाउने काम भइरहेको जनाएको छ।