आगलागीले डाटा सेन्टर प्रभावित, भायानेटको सेवा अवरुद्ध
काठमाडौं । भायानेटले हालै इन्टरनेट र भीआइए टिभी सेवामा आएको अवरोधका कारण ग्राहकसँग माफी मागेको छ । कम्पनीका अनुसार गत भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टरमा क्षति पुर्याएको थियो । भायानेटका अनुसार ब्याकअप डाटा सेन्टरहरू भए पनि प्रमुख संरचना गुमाउँदा सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न नसक्दा देशभर सेवा अवरुद्ध भएको थियो । प्राविधिक टोली तत्काल खटिए पनि भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसकिएको र ब्याकअपमार्फत आंशिक रूपमा मात्र इन्टरनेट चलाइएको कम्पनीले जनाएको छ । भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे प्राविधिक टोलीले भवनभित्र प्रवेश गरी आवश्यक सर्भरहरू सुरक्षित रूपमा निकालेर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताइएको छ। भायानेटका अनुसार प्राविधिक टोलीको प्रयासका कारण अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ भने आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । अवरुद्ध ‘भीआइए टिभी’ सेवा पनि चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । भायानेटले ग्राहकवृन्दको धैर्य, विश्वास र साथका लागि आभार प्रकट गर्दै यस घटनाबाट नेटवर्कलाई अझ मजबुत बनाउन प्रेरणा मिलेको जनाएको छ ।
एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा
काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले गत मंगलबारबाट थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ । कम्पनीका अनुसार अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् । हालको विषम परिस्थितीमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरु एनसेलले मंगलबारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो । एनसेलले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरु १ दिन थप गरिएको जानकारी गराएको हो । एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।
टेलिकमले भ्वाइस कल र इन्टरनेट सेवा तीन दिन नि:शुल्क दिने
काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो सुविधा हिजो रातिदेखि नै सक्रिय गरिएको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क सहज बनाउनका लागि यो पहल गरिएको उनले बताए । ग्राहकहरूले निशुल्क डेटा सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गर्नुपर्नेछ भने भ्वाइस कल सुविधा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ । यससम्बन्धी जानकारी सबै ग्राहकलाई एसएमएसमार्फत पठाइसकिएको पनि प्रवक्ताले जानकारी दिए । निशुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको हुनेछ भने भ्वाइस कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।