एनसेलका लुटेरा फन्दामा पर्दै, सीसीटीभी फुटेजसहित कारवाहीको माग

काठमाडौं । काठमाडौंको लैनचौरस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’मा गत भदौ २४ गते जेनजी प्रदर्शनका नाममा भएको तोडफोड, आगजनी र डकैती प्रकरणमा संलग्नहरूको भिडियो फुटेजसहित चोरी नोक्सानी भएको सबै विवरण एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा बुझाउँदै उनीहरू विरूद्ध उजुरी दर्ता गरेको छ । एनसेलका अनुसार प्रदर्शनका क्रममा विभिन्न समूहले मौका छोपी कार्यालयमा ठूलो क्षति पुर्‍याएका थिए । उजुरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरेर कानूनी कारबाही गर्न, डकैती गरी लगिएका सामान फिर्ता दिलाउन र आगजनीबाट नष्ट भएको सम्पत्तिको क्षतिपूर्ति दिलाउन माग गरिएको छ । कम्पनीका अनुसार आन्दोलनको नाममा आएका व्यक्तिहरूले सुरक्षाकर्मीलाई धम्की दिँदै कोठामा थुनिसकेपछि कार्यालयको सिसा फुटाएर भवनभित्र प्रवेश गरेका थिए । उनीहरूले ग्राहक सेवा केन्द्र, रिसेप्सन र हरेक तला पुगेका कार्यालयका उपकरण तथा कागजात नष्ट गरेका थिए । सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा र अन्य महत्वपूर्ण कागजात जलाइएको वा लुटिएको उजुरीमा उल्लेख छ । एनसेलले आफ्नो कार्यालयका बहुमूल्य विद्युतीय सामान, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डिङ मेसिनलगायत सम्पूर्ण कार्यालय उपकरण डकैती गरिएको जनाएको छ । कर्मचारीहरूका लकर फोडी ल्यापटप, व्यक्तिगत सामान तथा गहना समेत लुटिएको छ । बैठक कक्षका टिभी र मोनिटरदेखि फिटनेस कक्षका उपकरणसमेत बाहिर फालेर आगजनी वा डकैती गरिएको विवरण उजुरीमा छ । त्यस्तै, कम्पनीका आफ्नै तथा भाडामा प्रयोगमा रहेका मोटरगाडीहरू नियन्त्रणमा लिएर पालैपालो भवनको आँगन र सडकमा ल्याई जलाइएको, केही सवारी साधन तोडफोड गरिएको र कर्मचारीका निजी गाडीसमेत नष्ट गरिएको उल्लेख छ । प्रहरीलाई एनसेलले क्षतिको विवरण, लुटिएका सम्पत्तिको सूची तथा घटनाका सिसिटिभी फुटेज उपलब्ध गराएको छ । कम्पनीले तोडफोड, आगजनी र डकैतीबाट भएको वास्तविक क्षतिको मूल्यांकन भइरहेको र अनुसन्धानको क्रममा थप विवरण उपलब्ध गराइने जनाएको छ ।

पर्सामा क्षतिको आँकलन गरिँदै, नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी

काठमाडौं । गतहप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ ।  यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो। नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा  करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको  जानकारी दिए ।  ‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’ उनले भने,  ‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ।’ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले  सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ ।  ‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा  विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’ यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ । रासस

हामी फेरि उठ्ने छौं, तपाईंहरूसँगै : एनसेल

काठमाडौं । गत हप्ताको तोडफोडका घटनामा एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको एनसेलले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा यी घटनाले भौतिक सम्पत्तिसँगै कर्मचारीहरूको सुरक्षा र सेवामा निरन्तरतामा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ । एनसेलका अनुसार चुनौतीपूर्ण परिस्थितिमा पनि सेवाको सहज पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराइएको थियो । कम्पनीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउँदै आएको र ग्राहकप्रतिको प्रतिबद्धता अझै अटल रहेको स्पष्ट पारेको छ । नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । कम्पनीले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यसले मुलुकमा एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा योगदान गर्दै आएको छ । आगामी दिनमा पनि देश र जनताको सेवामा अडिग रहन्छौं ।' एनसेलले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।