टेलिकमले ल्यायो नाइट भ्वाइस प्याक अफर, फागुन १७ गतेसम्म लागू हुने

काठमाडौं । नेपाल टेलिकमले प्रणय दिवस(भ्यालेनटाइन डे) का अवसरमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरुका लागि नाइट भ्वाइस प्याकेज अफर ल्याएको छ । उक्त अफर अन्तर्गत जीएसएम सेवाका ग्राहकले २५ रुपैयाँमा २५० मिनेटको टक टाइम भएको भ्वाइस प्याकेज लिन सक्नेछन् । कम्पनीका अनुसार यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुनेछ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिनसम्म रहनेछ । यस अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म  गर्न सकिनेछ । यो प्याकेज लिनका लागि VDAY टाइप गरी १४१५ मा SMS गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले सोही अवसरमा हरेक  जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । दुवै सीम वा रीममा रु. ५० बराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर फागुन ३ गते देखि ५ गतेसम्म लागू हुनेछ । यो अफर सेवा कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एनसेलका ग्राहकले फेसबुक निःशुल्क चलाउन पाउने, ८० लाख नेपालीले फेसबुक चलाउने अाधिकारीक जानकारी

काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ । फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन  क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । ‘‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन  मद्दत पुर्याउनेछ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले मंगलबार अायाेजित पत्रकार सम्मेलनमा भने । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले ईन्टरनेटको पहुँच र आर्थिक वृद्धिबिच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्षमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँ विकास समितिमा ईन्टरनेट पुर्याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पुर्याउन कटिबद्ध रहेको पर्किन्सले बताए । ‘‘ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथा नविनतम सेवा मार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउन काम गरिरहेका छौं । प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ,” फेसबुक फ्रि योजना सार्वजनिक गर्दै पर्किन्स्ले भने । पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए । “एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको यो सामाजिक अफर ल्याउन पाएकोमा हामी हर्षित छौं । यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिहरुलाई ईन्टरनेटमा जोड्न योगदान पु¥याउने विश्वास छ,” नाइग्रेनले कार्यक्रममा भनिन् । फेसबुक फ्रि अफर यहि बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको मजा लिन ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नपर्ने छैन । अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने छ । ग्राहकले आफुले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने ‘सि फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट पेड संस्करणमा जानु भन्दा अगावै ग्राहकलाई सुचित पनि गराइने एनसेलले जनाएकाे छ । फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिद गर्न पनि सक्नेछन् । त्यसैगरी एस्ट्रिक्स १२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार पनि ग्राहकहरुले आफुलाई चाहिएको डेटा प्याक खरिद गर्न सक्नेछन् । फेसबुकका अनुसार, हाल नेपालबाट ८० लाख भन्दा बढि मानिसहरु फेसबुकका माध्यमबाट सामाजिक रुपमा आवद्घ रहेका छन् । यसअघि कति नेपालीले फेसबुक चलाउँछन् भन्ने अाधिकारिक तथ्याङ्क सार्वजनिक भएकाे थिएन । फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । उदाहरणका लागि ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्ने कम्पनीले जनाएकाे छ ।

टेलिकमको नाफा ७ अर्ब ९१ करोड, प्रतिशेयर आम्दानी १०५ रुपैयाँ

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को चालू आर्थिक वर्षको ६ महिनाको खुँद नाफा ७ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । टेलिकमले यो अवधिमा २२ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी गत वर्ष २१ अर्ब २९ करोड रुपैयाँ थियो । यो वर्षको आम्दानीमा सेवा क्षेत्रबाट भएको आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ हो भने अन्य आम्दानी १ अर्ब ८३ करोड रहेको छ । टेलिकमको अघिल्लो वर्षको सोही अवधिको आम्दानी भने ७ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । यसको प्रति सेयर आम्दनी १०५ रुपैयाँ रहेको छ । प्रति सेयर अम्दानी गत वर्षको तुलनामा ८ रुपैयाँ ८३ पैसाले बढेको देखिएको छ । टेलिकमको प्रति सेयर नेटवर्थ ६२५ रुपैयाँ ४५ पैसा रहेको छ । यो नेटवर्थ अघिल्लो वर्ष ५७४ दशमलव ६५ पैसा रहेको थियो । यसको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७८ अर्ब ८१ करोड रहेको छ । टेलिकमको बजारमा प्रतिसेयर ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।