युटिएलसँग अप्टिकल फाइबर सम्झौता, २ बर्षमा २ अर्ब खर्चेर १९ जिल्लामा अप्टिकल फाइबर बिछ्याउने

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले युनाइटेड टेलिकमसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको छ । सोमबार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटिएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । युटिएलले २ अर्ब १ करोड रुपैंयाँ खर्चेर प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने छ । आगामी २ बर्षभित्रै काम सम्पन्न गर्ने सम्झौता गरिएको नेपाल दुर सञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द  मिश्रले विकासन्युजलाई जानकारी दिए । युटिएल पछिल्लो १३ बर्षदेखि नोक्सानीमा रहेको कम्पनी हो ।

ओप्पोको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, मूल्य ३५ हजार, के छ नयाँ आकर्षण ?

काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री र एफथ्री प्लसल सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले ३५ हजार ४८० रुपैयाँ निर्धारण गरेको छ । एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा दुबै फोन अभिनेता राजेश हमालले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा बैशाख २३ देखि फोन उपलब्ध छ । ‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय हो । प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई  हर क्षण रमाउँदै अनुभव संगाल्न र साँच्दै  एकताको सुत्रमा बाँध्न चाहान्छौँ’ ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने । प्रमुख कार्यकारी अधिकृत जोनी जीका अनुसार ‘एउटा सेल्फी, अर्को गु्रप सेल्फीका लागि’, एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ । फोनमा रहेको सीक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन)का साथ उच्च श्रेणीका व्यवसायिक गुणस्तरका तस्विर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्छन् । एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगा पिक्सेल रिजोल्यूशन, १÷३ इञ्च सेन्सर र ठूलो एफ÷२.० एपर्चरको फ्रण्ट क्यामेराको ब्यवस्था गरिएको छ । कम्पनीले केही समय अगाडी उपलब्ध गराएको एफवान एसका तुलनमा कार्यक्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको छ । चहकिलो पृष्ठभूमी (ब्याकग्राउण्ड) भएका स्थानमा समेत यो क्यामेराले तस्विरमा उपयुत्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउँछ । फोनमा रहेको क्यामेराले कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्विर लिन सकिन्छ । ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रुपमा उपलब्ध गराएको छ । यसले तस्विर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ । यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्विर खिच्न सक्छन् । ओप्पो एफथ्रीमा १३ मेगापिक्सेल क्षमताको १/३ ईञ्च सेन्सर जडान गरिएको छ । यसले प्रकाश सम्वेदनशिलतालाई बढावा दिँदै रात्रीकालिन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ । फोनमा रहेको पीडीएएफ प्रविधिले आवश्यकता अनुसार चाहिने बित्तिकै तस्विर लिन सक्छन् । नयाँ फोन एफथ्रीमा रहेको क्यामेराले चलायमान विषयको समेत आरामले फोकस गरी उत्कृष्ट तस्विर खिच्न सक्छ । यसले गर्दा आफूले इच्छाएको समय फोनमा तत्काल कैद गर्न सकिन्छ । तस्विरमा थप सुधारका लागि ओप्पोले उपलब्ध गराउँदै आएको ब्यूटिफाइ ४.० दुबै सेल्फि क्यामेरा तथा रियरमा समेत उपलब्ध गरिएको छ । यसको सहायताबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार ईफेक्टको प्रयोग गर्दै तस्विर लिन सक्छन् । सेल्फीलाई सहज तथा रमाइलो अनुभवका रुपमा स्थापित गर्न कम्पनीले हत्केला देखाएकै भरमा सेल्फी खिच्न सघाउने पाल्म शटर लगायत फिचर पनि फोनमा उपलब्ध गराएको छ । यस्तो छ प्राविधिक पक्ष ओप्पो एफथ्रीमा कम्पनीले कलरओस ३.०द्वारा शक्ति प्रदान गरिएको ओक्टा–कोर प्रोशेसर, चार जीबी ¥याम र ६४ जीबी रोम उपलब्ध गराएको छ । फोनमा रहेको ट्रिपल स्लोट कार्ड ट्रेमा दूई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । कम्पनीले गरेको परिक्षण (रियल लाइफ साइम्यूलेशन टेष्ट)मा ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइकएको छ । तसर्थ, यात्रामा निस्कँदा वा अन्य दैनिक क्रियाकलापमा ब्याट्री सक्किने डरका कारण पावर बैंक लगायत बोकेर हिड्नुपर्ने झञ्झटबाट छुटकारा प्राप्त हुन्छ । कम्पनीले ब्यक्तिगत गोपनियता र सुरक्षाका लागि समेत विशेष ध्यान दिएको छ । तिनका लागि फोनमा कम्पनीले अत्याधुनिक सलिड स्टेट फिङगर प्रिण्ट रिडर उपलब्ध गराएको छ । प्रयोगकर्ताले यसमा हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ । फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको औँलामा आद्र्रता भएको अवस्थामा समेत फिङ्गर प्रिण्टको सफल पहिचान गर्न सघाउँछ । आकर्षक र उपयुक्त डिजाइन मात्र ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का वजन भएको एफथ्री हातमा बोक्न सहजता होस् भन्ने कुरालाई विशेष ध्यानमा राखि निर्माण गरिएको फोन हो । फोनमा रहेको मेटल ब्याक प्यानलले धुलो टाँस्नबाट जोगाउनुका साथै आरामदायी ग्रिप प्रदान गर्छ । निकै आकर्षक बनोट सहितको फोनमा रहेको इन सेल एफएचडी प्रविधिले फोनमा रहेको स्क्रिनलाई साधारण स्क्रिनका तुलनामा १/४ भागले पातलो बनाएको छ । यसले फोनको स्क्रिनमा देखिन दृष्य थप जिवन्त तथा उज्यालो बनाउन सघाव पुर्याउँछ । सुर्यको प्रत्यक्ष प्रकाश भएका स्थानमा समेत यो स्क्रिनले राम्रो प्रदर्शन गर्ने क्षमता राख्छ । ओप्पोले नेपाली बजारमा एफथ्रीलाई गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध गराउने जानकारी दिएको छ । नयाँ मोवाइल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि ओप्पोको आधिकारिक कम्पनी टेलिसेल प्रालिका प्रबन्ध निर्देशक सुनिल कुमार अग्रवालले नेपाली बजारमा छिट्टै ओप्पो दोस्रो ठूलो ब्राण्ड बन्ने बताए ।

युटिएललाई अप्टिकल फाइबर बिछ्याउन २ अर्ब १ करोडको ठेक्का दिने निर्णय विरुद्ध संसदिय समितिमा उजुरी

काठमाडौं । १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई २ अर्ब १ करोडको ठेक्का निर्णय नेपाल दुर सञ्चार प्राधिकरणको निर्णय विरुद्ध संसदिय समितिमा उजुरी परेको छ । व्यवस्थापिका संसदको विकास समितिमा युटिएललाई प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन दिने निर्णय विरुद्ध उजुरी परेको हो । ‘युटिएललाई अप्टिकल फाइबर दिने निर्णय विरुद्ध समितिमा उजुरी आएको छ, हामीले प्रारम्भिक छलफल भएको छ, चुनावपछि छलफल हुन्छ’, विकास समितिका एक कर्मचारीले विकासन्युजसँग भने । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार एनसेल भन्दा ७० करोड र वल्ड लिंक भन्दा ५० करोड कममा आवेदन दिएकाले युटिएललाई ठेक्का परेको हो । १५ बर्ष अघि सञ्चालनमा आएको युटिएल पछिल्लो १३ बर्षदेखि बार्षिक करोडौँ रुपैंयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षमा मात्रै कम्पनीले ७३ करोड ३५ लाख नोक्सानी व्यहोरेको वित्तिय प्रतिवेदनले देखाउँछ । आव २०६५/६६ मा त झन यो कम्पनी करिब एक अर्ब नोक्सानीमा गएको थियो । बर्षेनी घाटामा गएको र पुर्व सम्झौता अनुसार सेवा समेत सञ्चालन गर्न नसकेको युटिएललाई गत भदौ २० गते दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि भारतीय लगानीको युटिएललाई युनिफाइड लाइसेन्स दिइनु आफैंमा संकास्पद रहेको आरोप लागिरहेको छ । पुरानो सेवा प्रभावकारी रुपमा सुचारु नगरेको र युनिफाइड लाइसेन्स अनुसार सेवा विस्तारको काम अघि नबढाएको भन्दै प्राधिकरणले प्रगति प्रतिवेदन मागेको छ । एक बर्षभित्र ४४ जिल्लामा सेवा विस्तार गर्ने भन्दै युनिफाइड लाइसेन्स लिएको कम्पनीले हालसम्म काम अघि बढाएको छैन । कम्पनीमा जम्मा २३ जना कर्मचारी मात्रै कार्यरत छन् । तीमध्ये प्राबिधिक २० र अप्राबिधिक ३ जना मात्रै छन् । कम्पनीको चुक्ता पुँजी भने दुई अर्ब १५ करोड रुपैया रहेको छ । गत आवमा कम्पनीले जम्मा नौ करोड ५९ लाख मात्रै कारोबार गरेको देखिन्छ । कम्पनीको ग्राहक संख्या पनि पाँच लाख ९८ हजार ८ सय ३६ मात्रै रहेको छ । युटिएलमा भारतको महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट इन्डिया तथा टाटा कम्युनिकेसनको समान २६ दशमलब ६६ प्रतिशत र नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर छ । ‘निरन्तर घाटामा रहेको र पुर्व सम्झौता अनुसार सेवा प्रवाह नगरेको तथा प्राबिधिक क्षमता समेत न्युन रहेको कम्पनीलाई राज्य कोषको त्यति मोटो रकम दिने कुराबारे छानविन हुन्छ’, समितिका ती कर्मचारीले भने ।