अस्वस्थ प्रतिस्पर्धामा टेलिकम कम्पनीहरु, आफैले गरेको सम्झौता विपरित कल ब्लक, सेवाग्राही मार्कामा

काठमाडौं। नियम विपरित टेलिकम कम्पनीहरुले अवैद्य रुपमा कललाई ब्लक गर्ने गरेको खुलेको छ। त्यसमा पनि टेलिकमका दुई ठूला प्लेयर नेपाल टेलिकम र एनसेलले अस्वस्थ प्रतिश्पर्धामा उत्रिएर कल ब्लक गरेका छन्। एक आपसमा कल अवरोध नगर्ने भनी सम्झौता गरेका टेलिकम र एनसेलले ब्लक गरेर सर्वसाधारणलाई सास्ती दिइरहेको दूरसञ्चार प्राधिकरणको अनुसन्धानमा खुलेको छ। नेपाल टेलिकम र एनसेल पूर्ण रूपमा असल नियतका साथ फोन कलहरूमामा कुनै अवरोध गर्ने छैनन् भनेर टेलिकम र एनसेलबीच २०६८ सालमा गरेको व्यावसायिक सम्झौता उल्लङ्घन गरेका हुन। सम्झौतामा स्वदेशी र विदेशी दुवैखाले कलमा अवरोध कृतिम रूपमा अन्तरआबद्धता अवरोध गर्ने काम गरिने छैन भनेर हस्ताक्षर गरेका थिए। दुवै कम्पनीले पटकपटक आफूविच र नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रोहवरमा गरेको सहमतिसमेत उल्लंघन गरी कल ‘ब्लक’ गरेको पाइएको हो । आम्दानीको लडाइँमा यी कम्पनीले एक अर्काको नेटवर्कबाट हुने कल ‘ब्लक’ गर्दा उपभोक्ताले सास्ती पाइरहेका छन्। टेलिकम हरेक महिना विदेशबाट आउने २० करोड मिनेट कल ‘टर्मिनेट’ गरी एनसेलको नेटवर्कमा निर्वाध रूपमा पठाउने भनिएको छ। त्यस्तै एसनेलले पनि हरेक महिना विदेशबाट आएका १५ करोड मिनेट कल ‘टर्मिनेट’ गरी टेलिकमको नेटवर्कमा पठाउनेछ भनिएको छ तर सम्झौता विपरित दुवै कम्पनीले एक अर्कामा सो नियमको पालना गरेका छैनन्। गत बर्ष नियामक निकाय दूरसञ्चार प्राधिकरणले दुवै पक्षलाई राखेर कल ब्लकका विषयमा छलफल गरेपनि त्यसको कार्यान्वयन भएको छैन। प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले धेरैपटक कल ब्लक गरेको रेकर्ड भेटिएकाले यसलाई अझ कडाइका साथ लागु गर्नुपर्ने बताए। उनले पटकपटक चेतावनी दिँदा पनि नमानेकाले अव कानून ल्याएर कम्पनीहरुलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने बताए। दुवै कम्पनीले अहिले पनि आफैंले गरेका सहमति विपरीत विदेशबाट आउने मात्र होइन, स्वदेशी कलमा समेत अवरोध गरिरहेका छन्। यसरी अवरोध गर्नु कम्पनी बीचको सम्झौता मात्र होइन, दूरसञ्चार ऐन र अन्तरआबद्धता निर्देशिका विपरीतसमेत भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले केहि समय अगाडि टेलिकम र एनसेललाई अवरोध नगर्न निर्देशनसहितको पत्राचार गरिसकेको छ। सहमति र नियम विपरीत कल ‘ब्लक’ गर्ने कार्य जारी राखे कम्पनीहरूलाई कानुनी कारबाही अघि बढाउने कानुनमा प्रावधान रहेको छ। त्यसको पालन नभए प्राधिकरणले कानुनी कारबाही अघि बढाउँने मिश्रले बताए। ऐनमा यस्ता कार्य गर्नेलाई ५ लाखसम्म जरिवाना र क्षतिपूर्तिसमेत भराउने व्यवस्था छ।

टेलिकमको प्रिपेड मोबाइलमा फोरजी सेवा शुरु, फेसबुक चलाउनेलाई २० रुपैयाँमा १०० एमबी डाटा

काठमाडाैं । नेपाल टेलिकमले काठमाडौं र पोखरामा जीएसएम प्रिपेड सेवामा फोरजी सेवा शुरु गरेको छ । कम्पनीले १३ औ वार्षिकोत्सवको अवसरमा कम्पनीले यो सेवा शुरु गरेको हो । त्यसैगरी कम्पनीले सीआरबीटी सेवा पुनः सञ्चालन गरेको छ । मोबाइल सेवामा कल वेटिङ र कल फरवाडिङ सेवा जस्ता सुविधा उपलब्ध गराइएको छ । जीएसएम नेटवर्कका सेवाग्राहीहरुलाई १०० एमबीको फेसबुक प्याकेज २० रुपैयाँमा दिने भएको छ । १०० एमबी डाटा ५ दिन सक्नुपर्ने कम्पनीले जनाएको छ । यी वाहेक अन्य विभिन्न सेवाहरुमा विभिन्न प्रकारको अफर र छुटको व्यवस्था गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले नेपाल टेलिकमले तथ्यांक भन्दा पनि परिणाममा जोड दिनु पर्ने बताउदै प्रतिस्पर्धात्मक रुपमा नेपाली जनताको हितमा समर्पित हुने गरी कार्य गर्न आग्रह गरे । उनले देशका दुर्गम स्थान र सहरी क्षेत्रका अस्पताल र स्कुल÷कलेजहरुमा नेटवर्क विस्तार गरी सबैलाई प्रविधिको माध्यमबाट एक अर्कासँग सम्पर्क गर्न र विश्वको अवस्थासँग परिचित हुने कार्यमा सहयोग पु¥याउन कम्पनीलाई सुझाव दिए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रतिस्पर्धाको बजारमा सधैँ सतर्क रहनु पर्ने आवश्यकता औल्याउदै नवीनतम प्रविधिको माध्यमबाट सधै सेवाग्राहीलाई सन्तुष्टी प्रदान गर्न सुझाव दिए । उनले लामो समयदेखि सेवा प्रदान गरिरहेको र विश्वसनिय समेत भएकाले नेपाल टेलिकमलाई नै प्राधिकरणले समेत विश्वास गरिरहेको बताए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हाल १ करोड ६२ लाख ग्राहक आधार भएको कम्पनीले प्रत्येक वर्ष सरकारलाई समेत सबैभन्दा बढी कर तिरेर सम्मानित भएको बताइन् । कम्पनीलाई अझै प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको र यसका लागि परामर्श कार्य एक वर्षमा पूरा हुने अपेक्षा बताइन् । कम्पनीले सिंहदरबार अगाडिको यूएनआई शान्तिमार्ग मर्मतका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ । माननीय मन्त्री सुरेन्द्रकुमार कार्कीले सो बराबरको चेक आज काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई हस्तान्तरण गरेका छन् । वार्षिकोत्सवको अवसरमा कम्पनीमा २० वर्ष भन्दा बढी सेवा गर्ने काठमाडौ क्षेत्रका कर्मचारीहरुलाई संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले दीर्घसेवा पदकले सम्मानित गरे । काठमाडौं क्षेत्रका १ सय ३० कर्मचारीहरु सहित अन्य क्षेत्र समेत गरी २ सय ६३ कर्मचारीलाई आज सो पदकले सम्मानित गरिएको छ । त्यसैगरी उत्कृष्ट कार्य गरे वापत ५० हजार रुपैयाँ राशीको पुरस्कार सहित १० जना कर्मचारीलाई मन्त्री कार्कीले सम्मानित गरे । प्रशंसनीय कार्य गरे वापत १७ जना कर्मचारीलाई संसदको सार्वजनिक लेखा समितिका सभापति माननीय डोरप्रसाद उपाध्यायले प्रमाणपत्र सहित सम्मानित गरेका छन् ।

टेलिकमले उत्कृष्ट ग्राहक र सेवा बिक्रेता सम्मान गर्यो, को को हुन् सम्मानित ?

काठमाडौं । नेपाल टेलिकमले गत आ. व. २०७२÷७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने बिक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका हुन् । सो अवसरमा कम्पनीका रिचार्ज कार्डहरु सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा भी कार्ड कन्सर्न, कन्टिनेन्टल मार्केटिङ प्रा.लि., सक्सेस युनाइटेड प्रा.लि., सनलाइट मल्टिपर्पोज प्रा.लि., त्रियोग स्टेशनरी सप्लायर्स र टकटाइम ट्रेडिङ प्रा.लि. रहेका छन् । ब्यक्तिगत तर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा साजनमान जोशी, सीडीएमए पोष्टपेडमा अशोकनाथ योगी, ल्यान्डलाइनमा रमेश सापकोटा, एडीएसएलमा राजेन्द्र सिंह भण्डारी र वाइम्याक्समा योजेन्द्र पुन सम्मानित भएका छन् । त्यसैगरी संस्थागततर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा सूर्य नेपाल प्रालि, सीडीएमए पोष्टपेडमा कारागार कार्यालय चितवन, ल्यान्डलाइनमा ग्रान्डी इन्टरनेसनल हस्पिटल धापासी, एडीएसएलमा नापी कार्यालय डिल्लीबजार र वाइम्याक्समा सीई कन्स्ट्रक्सन प्रालि त्रिपुरेश्वर सम्मानित भएका छन् । नेपाल टेलिकमले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा माघ २१ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।  काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट प्रारम्भ भई न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय प्रांगणमा पुगेर सम्पन्न भएको थियो । सो अवसरमा टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गर्नुका साथै सेवासँग सम्बन्धित सामग्रीहरु प्रसारण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकतावद्ध भई लाग्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरिन्  । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष यस किसिमका कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपाल टेलिकमले भोलि शनिबार (२०७३ माघ २२ गते) तेह्रौँ वार्षिकोत्सव मनाउँदै छ ।