एसईई परीक्षार्थीका लागि एनसेलको विषेश अफर, माइफाइभ अन्तर्गतका ५ वटा नम्बरमा अनलिमिटेड कल सेवा

काठमाडौ । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो योजना आइतवार (चैत्र २०) देखि लागु हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्ने कम्पनीले जनाएकाे छ । यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी रु ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स५५४४ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ । ‘‘एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई  संवोधन गर्ने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।  यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहने उनले बताए ।

विदेशबाट १५ अर्ब मूल्यका ४० लाख मोबाइल अायाे, २० अर्बका दुरसंचार उपकरण

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १५ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन आयात भएका छन् । भन्सार विभागका अनुसार गत साउनदेखि फागूनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये मोबाइल फोनको हिस्सा सबैभन्दा बढी छ । यस अवधिमा साढे २० अर्बका दूरसञ्चार उपकरण आयात भएका छन् । महँगा मोबाइल फोनको प्रयोग बढै गएकाले आयात वृद्धि भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा ११ अर्ब ४३ करोड बराबरका मोबाइल फोन आयात भएकामा यसपाली भने आयात बढेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनाभित्र ४० लाख २३ हजार ८ सय ५८ मोबाइल नेपाल भित्रिएका छन् । गत वर्षको यसै अवधिमा भने ३३ लाख ७६ हजार १ सय ९१ मोबाइल सेट नेपाल भित्रिएका थिए । भन्सारमा घोषित मूल्यका आधारमा गत आठ महिनामा साढे १५ अर्बका मोबाइल फोन नेपाल भित्रिएको देखिएपनि बजार मूल्यका आधारमा भने मोबाइल कारोबार धेरै हुने आयातकर्ता बताउँछन् । नेपालमा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात भएका छन् । गएको आठ महिनामा चीनबाट मात्र ३४ लाख ९० हजार मोबाइल फोन आयात भएका छन् । चीनपछि धेरै मोबाइल आयात हुने मुलुकमा भियतनाम पर्छ । त्यहाँबाट ८ महिनायता २ लाख ८८ हजार मोबाइल सेट आयात भएका छन् । भारतबाट भने २ लाख ३५ हजार थान मोबाइल आयात भएको विभागको तथ्याङमा छ । विश्वस्तरिय सबै ब्रान्डका मोबाइलको उत्पादन चीनमा हुने भएकाले त्यहाँबाट आयात धेरै देखिएको संघका अध्यक्ष एवं सामसङ मोबाइलका बिक्रेता दिपक मलहोत्रा बताउँछन् । ‘सबैखाले ब्रान्ड चीनमा बन्छन्, हाम्रोमा आयात गर्न नजिक पनि छ, त्यसैले चीनबाट नै धेरै आउँछ,’ उनले भने । कान्तिपुर दैनिकबाट ।

टिभीमापनि कनेक्ट गर्न मिल्ने सामसङको ग्यालेक्सी एस ८ मा नयाँ फिचर

नयाँ दिल्ली । सामसङले सन् २०१७ का लागि आफ्नो नयाँ फ्यागसिप लाइनअपलाई नयाँरुपमा प्रस्तुत गरेको छ । कम्पनीले ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ । यस प्रिमियम स्मार्टफोनको डिजाइन मात्र नभई अरु फिचरहरु पनि नयाँ छन् ।  नवभारतटाइम्सको अनलाइनसंस्करणमा उल्लेखभए अनुसार  सामसङको नयाँ मोबाइलको नयाँ फिचर यस्ता छन् : निकै प्रभावशाली प्रोसेसर          सामसङ ग्यालेक्सी एस ८ र एस ८ प्लसमा क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसर छ । यो प्रोसेसर भएको सामसङको पहिलो             स्मार्टफोन हो । सीरीको प्रतिश्पर्द्धि बक्सबी एप्पलको सीरी, गुगल असिस्टेन्ट र माइक्रोसफ्टको कर्टानाको प्रतिश्पर्द्धिको रुपमा सामसङले आफ्नो असिस्टेन्ट बिक्सबी सार्वजनिक गरेको छ । टचद्वारा गरिने क्रियाकलापलाई बिक्सीको सहायतमा भ्वाइस कमाण्डबाट पनि चलाउन सकिन्छ । यसले क्यामराबाट स्क्यान भएपछि धेरै जानकारी दिन्छ । ध्यानदिनुपर्ने कुरा चाँही हाल बिक्सबीलाई सिमित एप्समा मात्र प्रयोग गर्नसकिन्छ । गीगाबाइट एलटिइ सपोर्ट गीगाबाइट एलटिइ स्पीडको क्षमता राख्ने ग्यालेक्सी एस ८ बजारमा पहिलो स्मार्टफोन हुनेछ ।  यो गीगाबाइट स्पीडको क्षमता भएको पहिलो क्वालकोम चिपसेट हो । स्क्रिनभित्र होम बटन सामसङको नयाँ स्मार्टफोनको डिजाइन बिल्कुलै नयाँ छ । दुवैको किनारामा कर्ब्ड (बाटुलो) छ । डिस्प्लेको किनारमा फ्रेम वा बेजल निकै कम गरिएको छ । तल एउटा लाइन छ जसमा स्क्रिनभित्र नै होम बटन राखिएको छ । यहाँ प्रेसर सेन्सेटिभ हार्डवेयर राखिएको छ । मोबाइल एचडिआर सर्टिफिकेसन युएचडी अलायन्सबाट मोबाइल एचडिआर सर्टिफिकेसन पाउने दुनियाँ सबैभन्दा पहिलो स्मार्टफोन भएको सामसङको दाबी छ । इनफिनिटी डिस्प्ले सामसङ ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसमा एज-टु-एज कर्ब्ड डिस्प्ले राखिएको छ । कम्पनीले यसलाई ‘इनफिनिटी डिस्प्ले’ नाम दिएको छ । सामसङका अनुसार फोनको फ्रन्ट स्क्रिनको ८० प्रतिशत बेजल लेस र ड्यूल एज डिस्प्ले रहेको छ ।कम्पनीले एस ७ को तुलनामा एस ८ स्मार्टफोनको डिस्प्ले १८ प्रतिशतले बढी छ । ल्याण्डस्केप मोडमा देखिने २१:९ मूभिज ग्यालेक्सीको १८:५:९ डिस्प्लेमा राम्रोसँग हेर्नसकिन्छ । यसको भ्युइङ एरिया ग्यालेक्सी एस ७ को तुलनामा ३६ प्रतिशतले बढी हुन्छ । नयाँ यूजर इन्टरफेस सामसङले दुवै स्मार्टफोनसँगै नयाँ युएक्स पनि सार्वजनिक गरेको छ । यसमा भर्टिकल स्वाइपिङ इन्टरफेस राखिएको छ जसबाट तपाईंले होम र एप स्क्रिनको बीचमा छुट्याउन सक्नुहुनेछ । यसमा अलवेज अन डिस्प्ले वालपेपर फोनको कलर अनुसार कस्टमाइज गर्न सकिन्छ । ग्यालेक्सी एस ८ को समग्र डिजाइन ल्याङ्वेजको एप आइकन्स र टाइपोग्राफीमा पनि अपनाइएको छ । सामसङ डेक्स सामसङले अप्सनल डकिङ स्टेससन पनि सार्वजनिक गरेको छ जसलाई टिभीबाट कनेक्ट गरेपछि स्मार्टफोनलाई डेस्कटप जसरी प्रयोग गर्न मिल्छ ।  यसको नाम कम्पनीले डेक्सस्टेसन राखेको छ । यसमा प्रयोगकर्ताकालागि विन्डोज रीसाइज गर्न मिल्ने र एकपटकमा धेरै एप्समा काम गर्न मिल्ने सुविधा राखिएको छ । यो माइक्रोसफ्ट कन्टिनम जस्तै छ । डेक्सस्टेसन स्मार्टको एचडिएमआइको मनिटर्समा कनेक्ट गर्न सकिन्छ । यसको साथमा किबोर्ड र माउसपनि जोड्न सकिन्छ ।