एनसेलको पिआरबिटी सेवा अब मात्र रु १ मा, दैनिक र साप्ताहिक समयावधिकाे दुर्इ नयाँ प्याकेज
काठमाडौ । एनसेलका सबै ग्राहकले अब कर सहित मात्र रु १ मा पिआरबिटी सेवाको मजा लिन सक्नेछन् । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ, जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् । यसअघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिमा मात्र उपलब्ध थियो । यो अफर यही बिहीबार (चैत्र ३१) देखि लागू हुने कम्पनीले जनाएकाे छ । यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा सुचारु गर्न सक्नेछन् । पिआरबिटी सेवा अन्तर्गत एनसेलका ग्राहकले आफ्नो रोजाइको लोकप्रिय टोन तथा गीतहरुलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् र साथीभाईले कल गर्दा उक्त टोन तथा गीत सुन्न सक्नेछन् । लोकप्रिय नेपाली तथा अन्तर्राष्ट्रिय गीत संगीतहरुको सूचिबाट ग्राहकले आफुले रुचाएको गीत तथा टोनलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पिआरबिटी र टोन सेवा कर सहित मात्र रु १ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा कर सहित रु ५ मा सुचारु गर्न सक्नेछन् । ग्राहकले १७११७ डायल गरि प्राप्त निर्देशन अनुसार पिआरबिटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एस्ट्रिक१७११७ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गीत तथा टोनको सुचिबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्ने कम्पनीले जनाएकाे छ । ‘‘पिआरबिटी सेवा हाम्रा ग्राहक बीच एक मनपर्ने सेवाको रुपमा रहँदै आएको छ । दुई नयाँ संस्करणका साथ ग्राहकलाई पिआरबिटी सेवामा पनि छनोटको विकल्प ल्याउन पाउँदा हामी निकै हर्षित छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । दैनिक र साप्ताहिक पिआरबिटी र टोन सेवा स्वतः नविकरण हुनेछ । साप्ताहिक सेवा लिएका ग्राहकलाई समयसीमा सकिनु दुई दिन अगावै नविकरणका बारेमा सुचित गराइनेछ । ग्राहकले अंग्रेजीमा आर लेखि १७११७ मा एसएमएस पठाई यो सेवा निष्क्रिय गर्न सक्नेछन् । यो नयाँ वर्षको अवसरमा ल्याइएको यो अफर १५ दिनको लागि मान्य हुनेछ ।
एनसेलले ल्यायो आकर्षक रोमिङ् अफर, प्रिपेडमा अब स्वतः रोमिङ् सेवा उपलब्ध हुने
काठमाडौंं । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ । यो योजना अन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले आफु रोमिङ्मा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा संम्बधित देशका व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो अफर यहि बिहीबार (चैत्र ३१) देखि लागु हुनेछ । दैनिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरि कर सहित मात्र रु ५०० मा अनलिमिटेड डेटाको मजा लिन सक्नेछन् । यो सेवा एक पटक सुचारु गरेपछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ । नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ, शुल्क रु ५०० भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् प्याक नविकरण भएपनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क लाग्ने छैन । दैनिक रोमिङ् डेटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ । त्यसैगरी आफु यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित मात्र रु ५०० मा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कलका साथै २५ वटा एसएमएस पठाउन सक्नेछन् । यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । आफ्नो सञ्चार सेवाको आवश्यकता बमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याक जति पटक पनि लिन सक्छन् । यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ । एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् । यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वत उपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वत उपलब्ध भएको जानकारी गराइने छ । भारत र चीनको लागि भने प्रिपेडमा स्वतः रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ । “विभिन्न देशमा भ्रमणमा रहदा ग्राहकको सञ्चारको आवश्यकतालाई परिपुर्ति गर्न भ्वाइस, डेटा र एसएमएसको अफरहरु ल्याउन पाउँदा हामी हर्षित छाैं। यसले रोमिङ्मा रहँदा हाम्रा ग्राहकलाई सुलभ र सहज रुपमा सम्पर्कमा रहन सघाउनेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ् शुल्क लागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् । एनसेलका ग्राहकले एस्ट्रिक्स१०१ह्यास डायल गरी आफ्नो प्याकहरुमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न पनि सक्छन् ।
अब ५ रुपैयाँमै पानी तथा विजुलीको विल भुक्तानी, हुलाकका कर्मचारी पैसा र बिलका लागि ग्रामिण जनताको घरघरमै पुग्ने
काठमाडौ । सरकारले बिजुली र खानेपानीको महशुल भुक्तानी अब न्यूनतम पाँच रुपैयाँमै नै गर्न सक्ने सुविधा दिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयको गत आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकले हुलाक सेवाबाट विद्युत, खानेपानी, टेलिफोसहितको विल भुक्तानी गर्न बनेको कार्यविधिलाई सहमतिको लागि अर्थ मन्त्रालय पठाउने निर्णय गरेको छ । एक साताभित्रै अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने उक्त कार्यविधि स्वीकृत भएपछि हुलाक सेवाबाट ५ रुपैयाँमै विल भुक्तानीको सुविधा पाइने संचार मन्त्रालयले जानकारी दिएको छ । यो कार्यविधि स्वीकृत भएपछि सम्बन्धित निकायको कार्यालयमै धाउनुपर्ने बाध्यता नहुने संचार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । उनका अनुसार सरकारले बिजुली, खानेपानी र टेलिफोनको बिल भुक्तानी सुविधा हुलाक सेवामार्फत दिन यस अघि नै गरेको निर्णयका आधारमा कार्यविधि बनेको छ । हुलाका सेवा विभागले बनाएको यो कार्यविधिलाई अर्थबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने पनि मन्त्रालयको भनाइ छ । सूचना तथा सञ्चार मन्त्रालयले सेवाग्राहीको सहजताका लागि देशैभरका हुलाक कार्यालयमार्फत यो सुविधा दिने उल्लेख छ । टेलिफोनको बिल तिर्न प्रविधि र सम्बन्धित निकायले दिने सेवाका कारण अन्यको तुलनामा सहज भए पनि खानेपानी र बिजुलीको महशुल भुक्तानी अझै कष्टकर छ । लाइन बस्नुपर्ने, घण्टौको समय खर्च गर्नुपर्ने तथा ग्रामिण भेगमा ८० रुपैयाको महशुल तिर्न सोही मात्रामा पैसा खर्च गरेर गन्तव्यमा पुग्नुपर्ने अवस्था रहेको छ । ग्रामीण भेगका स्थानीयलाई सहजता प्रदान गर्न हुलाकमार्फत सुविधा दिने तयारी भएको हुलाक सेवा विभागले जानकारी दिएको छ । विभागले कार्यविधि तयार पारेर मन्त्रालय पठाएको छ । यसलाई सरकारले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने पनि उल्लेख छ । ८० रुपैयाँको भुक्तानी शुल्क पाँच रुपैयाँ विभागका अनुसार कार्यविधि स्वीकृत भएपछि अब बिजुली, खानेपानी र टेलिफोनको बिल भुक्तानी जम्मा पाँच रुपैयाँमा नै गर्न सकिने उल्लेख छ । विभागले तयार परेको कार्यविधि अनुसार न्यूनतम सेवा शुल्क लिएर हुलाकले यो सुविधा दिने भएको छ । हुलाकले तीन सय रुपैयाँसम्मको महशुल भुक्तानी गर्न जम्मा ५ रुपैयाँ सेवा शुल्क लिनेछ । एक हजारसम्मको बिल भुक्तानीमा १० रुपैयाँ र त्योभन्दा बढी भए १५ रुपैयाँ लिने प्रस्ताव कार्यविधिमार्फत गरेको उल्लेख छ । यस्तो सेवा शुल्कबाट २५ प्रतिशत महशुल संकलन गर्न जाने कर्मचारीलाई दिइनेछ । यो सुविधाबाट हुलाकको कर्मचारी घरघरमै महशुल संकलन गर्न तथा विल दिन जान्छन् । महशुल भुक्तानीपछि ग्राहकको कार्ड र रसिद पुनः घरघरमै फिर्ता दिइनेछ । सिमकार्ड र रिचार्जकार्डको सेवा पनि हुलाकमार्फत नै दिने प्रस्ताव पनि कार्यविधिमा रहेको छ । सिमकार्डलाई नागरिकता अनिवार्य चाहिने र प्रमाणीकरण गनुपर्ने भएकाले सिमकार्डको सेवा दिने विषयमा टेलिकमको पनि सहमति मागिएको उल्लेख छ । सबै प्रदेशबाट सेवा सुरुको तयारी यो सेवा पहिलो चरणमा हरेक प्रदेशका कम्तिमा एकएक जिल्ला पर्ने गरी सुरु हुनेछ । हुलाकका कर्मचारी र कार्यालय ७५ जिल्लामा नै रहेकाले शुल्क उठाउन कुनै समस्या नहुने विभागको भनाइ छ । विभागका अनुसार अहिले भएका कर्मचारी परिचालन गर्ने र नपुगेको अवस्थामा आवश्यक जनशक्ति करारमा लिइनेछ । यो सुविधा उपत्यकामा प्रभावकारी नभए पनि बाहिरी जिल्लामा निकै उपयोगि हुने उल्लेख छ । हुलाकका कर्मचारीले दिनभरि संकलन गरेको पैसा नजिकको केन्द्र वा सम्बन्धित काउन्टरमा दिने व्यवस्था मिलाइने उल्लेख छ । संसद्को विकास समितिले महशुल भुक्तानी सहज बनाउन सरकारलाई यस अघि निर्देशनसमेत दिएको थियो । सोही निर्देशन पालन गर्न पनि सञ्चार मन्त्रालयले हुलाक सेवालाई अधिकार दिने भएको हो । हुलाकका कर्मचारी काम दिन प्रस्ताव उपयुक्त हाल देशभर हुलाकका चार हजार कार्यालय छन् । मोबाइल सेवाले चिठीपत्र ओसारपसार गर्नु नपर्ने भएपछि हुलाकका कर्मचारी दिनभरी घाम ताप्ने, गफ चुटने र अनावश्यक कर्मचारीलाई काम नै नगरी सरकारी सेवा सुविधा दिइरहनु परेको छ । यी कर्मचारीलाई प्रयोग गरेर सरकारले महशुल भुक्तानीको सेवा दिन लागेको पनि उल्लेख छ ।