बैंकको नाममा एसएमएस ठगी बढ्दै, शंकास्पद लिंक क्लिक नगर्न टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले एसएमएस सेवाको दुरुपयोग गर्दै बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

टेलिकमका अनुसार ‘एसएमएस’ सेवामार्फत कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी नक्कली सन्देश पठाइँदै आएको पाइएको छ । यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको भन्दै ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गरिन्छ ।

कम्पनीले यस्ता एसएमएस, फोन कल तथा लिंकप्रति सजग रहन अनुरोध गर्दै कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न आग्रह गरेको छ। साथै आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न समेत सुझाव दिएको छ ।

नेपाल टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पिन, सिभिभी लगायतका संवेदनशील जानकारी कसैसँग पनि साझेदारी नगर्न आग्रह गरेको छ । बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न कम्पनीले सुझाएको छ ।

त्यस्तै, शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ । ग्राहकको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकाले यस्ता भ्रामक गतिविधिबाट बच्न सबैमा सचेतना आवश्यक रहेको टेलिकमले जनाएको छ ।

Share News