डिशहोमले ल्यायो एकैपटक २०० जनाले चलाउने मिल्ने वाइफाइ प्रविधि
काठमाडौं । डिशहोम फाइबरनेटले धेरैजना मानिसहरू भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन्स बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा कम्पनीले शनिबार यो प्रविधिको लन्च गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरे । उनले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरू भित्राउन आफूहरू पहिलो हुने गरेको अनुभव सुनाए । आचार्यले डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै आज लन्च गरिएको नयाँ प्रविधि भविश्यलाई दृष्टिगत गरेर आफूहरूले लन्च गरेको बताए । डिशहोमले ल्याएको क्याम्पस वाईफाई सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । क्याम्पस वाईफाई सोलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाईफाई सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) पनि हुन्छ । क्याम्पस वाईफाई सोलुसन्सको सबैभन्दा ठूलो विशेषताको रुपमा रहेको धेरैजनाले एकै पटक वाईफाई चलाउन मिल्ने भन्दै एउटै एपीबाट एक पटकमा २०० जनाभन्दा बढी कनेन्ट भएर वाईफाई चलाउन सक्ने बताउछन् ।
पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारहरूले गरे क्यान इन्फोटेक अवलोकन
काठमाडौं । आइएमइ पेको मुख्य प्रायोजनमा जारी क्यान इन्फोटेक २०२२ को पाँचौं दिन सुचना प्रविधिसम्बन्धी कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएसन विथ स्मार्ट क्युआर’ भोलि सोमबार सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको छ । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरिसकेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जनाएको छ । सो क्रममा आइतबार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुष्मा कार्की, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ र सागर लम्साल ‘बले’तथा र्याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि क्यान अवलोकन गरेका छन् । हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमबार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । उनका अनुसार फिन्टेक कम्पनि, इन्टरनेट सेवा प्रदायक तथा अन्य कम्प्युटर, ल्यापटप, मोबाइल र आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य सहभागिता छ । इन्फोटेकमा युवा पुस्ता तथा सुचना तथा संचार प्रविधिमा रुचि राख्नेहरुले स्टार्टअप तथा इन्नोभेसनमा रुचि पुर्वक अवलोकन गरेको उनको भनाइ छ । इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ । इन्फोटेकमा बिभिन्न खण्डमा गरी कुल १७० वटा स्टल रहेका छन् ।
आहाराको प्रायोजन गर्नेबारे नेपाल टेलिकम र चिडियाखानाबीच सम्झौता
काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका एउटा बाघ र अन्य जनावरहरूको लागि १ वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरूको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाएका छन् । सम्झौता अनुसार चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको व्यवस्थाका लागि नेपाल टेलिकमले रकम उपलब्ध गराउनेछ ।