टेलिकमको टीभी एपको परीक्षण सुरु, च्यानलहरु निःशुल्क हेर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ । सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइड को प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ । उक्त एपमार्फत एन्ड्रोइड र आइवएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने छ । यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन ।

अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

डिशहोममा २४ महिनाको रिचार्ज गर्दा इलामकी मन्दिरा राइले जितिन् एक लाख

काठमाडौं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका ग्राहक मन्दिरा राइले १ लाख रुपैयाँ जितेकी छिन् । क्यासआइडी २५६४०३३७७५ भएका राइले १ लाख रुपैयाँ जितेकी हुन् । कम्पनीले ल्याएकाे याेजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।