एनसेल भोल्टे सेवा अब आईफोनमा पनि उपलब्ध

काठमाडौं । यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्नेछन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने एनसेलले जनाएकाे छ । एनसेलकाे अनुसार ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्नेछन् । एनसेल भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन् । आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरु भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुनेछन् । एनसेलकाे अनुसार  यस्ता ग्राहकले *१७२०१# डायल गरि भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्नेछन् । भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोगगर्ने ग्राहकहरुका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यस अन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीबी बोनस डेटा पाउनेछन् । बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेता मार्फत आईफोन खरिद गरेका ग्राहकहरुका लागि लागू हुने एनसेलले जनाएकाे छ । आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरि आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्नेछ । अन्य ग्राहकले भने आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम नि:शुल्क लिन सक्नेछन् ।

स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन दिएको छ । प्राधिकरणलेले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने जनाएको छ । आगामी वैशाख २ गतेबाट स्मार्टको लाइसेन्स सकिँदैछ तर कम्पनीले देशका केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको छ ।

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउन संघले गर्यो ५ निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको छलफलमा संघले सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउन विभिन्न निर्णयहरु गरेको हो । सेवा प्रदायहरुबीच भएको उक्त छलफलपछि विभिन्न ५ वटा निर्णय गरिएको छ । जसमा नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गरी विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जानेदेखि इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने रहेको छ । त्यस्तै, यी निर्णय कार्यानव्यन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्ने/गराउने र यसका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, एसओपी निर्माण, प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरु गर्ने संघले जानकारी गराएको छ । त्यसैगरी, नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित बनाउनका लागि आवश्यक छलफल/हातेमालो/सहकार्य गर्दै जाने निर्णय भएको छ ।