जुम्ला र कालिकोटमा टेलिकमकाे एनटी फाइबर सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । टेलिकमले जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरेकाे हो । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरेका थिए । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ । फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक ८ हजारमा उपलब्ध छ । त्यसैगरी, एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको छ ।
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै : प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गरेको स्मार्ट टेलिकमले भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको जनाएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै संस्था, सर्वसाधारण व्यक्तलाई भुक्तानी गर्नुपर्ने रकम कम्पनीकै दायित्व रहेको स्पष्ट पारेको हो । ‘स्मार्ट टेलिकम प्रालि ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) वमोजिम मिति बैशाख ३ गतेदेखि स्वतः रद्द भएकोले निजले नेपाल सरकार, प्राधिकरण तथा अन्य संस्थाहरुलाई तिर्न बुझाउनु पर्ने रकम असुल उपर गर्नका लागि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ वमोजिम निजको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिएको छ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । यस्तै, प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा कम्पनीको मात्रै रहेकोभन्दै प्राधिकरण तथा सरकारको दायित्व नभएको उल्लेख गरेको छ । स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड रुपैयाँ र त्यसको १५ प्रतिशत जरिवाना बुझाउनु पर्ने हुन्छ । यस्तै, बजारमा २५ करोडभन्दा बढीका सिम तथा रिचार्ज कार्ड तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा दुईअर्बभन्दा बढी ऋण रहेको पाइएको छ ।
घरबार बेचेर घाटामा मोबाइल व्यवसाय चलाउँदै, ५० हजार बढी समस्यामा
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी समस्यामा परेको बताएका छन् । महासङ्घको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको बताए । ‘व्यवसायी गर वा मरको अवस्थामा पुगेका छन्, मार्जिन नबढाए आयातकर्ताविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन, यसका लागि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ,’ अध्यक्ष भट्टराईले भने । वैधानिकरुपमा प्राप्त हुने २० प्रतिशत मुनाफा आफूहरुले नखोजेको भन्दै उनले व्यवसाय बचाउनका लागि मार्जिन विना मोबाइल बिक्री नगर्ने विषयमा छलफल चलिरहेको बताए । महासङ्घका महासचिव रमेश घिमिरेले व्यावसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नुपर्नेमा जोड दिए । महासङ्घमा आबद्ध नभएका र अव्यावसायिक काम गर्नेविरुद्ध महासङ्घ चनाखो रहेको उनको भनाइ छ । महासङ्घका बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यले स्मार्टफोन बिक्री गर्ने व्यवसायीहरु पहिले आफै स्मार्ट बन्नुपर्ने सुझाव दिए । कोशी प्रदेश कमिटी गठन कोशी प्रदेशका १४ जिल्लाबाट धरानमा जम्मा भएका व्यवसायीको भेलाले जीवन शाक्यको अध्यक्षमा सात पदाधिकारीसहित २७ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा झापाका केशव श्रेष्ठ र सङ्खुवासभाका गुणराज श्रेष्ठ, महासचिवमा सुनसरीका सविन लम्साल, सचिवमा झापाका शिव खतिवडा, कोषाध्यक्षमा सुनसरीका बिमला खतिवडा र सह कोषाध्यक्षमा झापाका मनोज ढकाल निर्वाचित भएका छन् । साथै सदस्यमा पुण्य बराल, लोकेन्द्र बुढाथोकी, दीपेश गुप्ता, बजिन्द्र मैनाली, विन्द्रकुमार राई, लोकमान तामाङ, दीपेन्द्र सिंगक, राजु भट्टराई, विश्वबन्धु श्रेष्ठ, लेखराज श्रेष्ठ, किरण रत्न भण्डारी, रमेश कटुवाल, ओमप्रकाश रेग्मी, आशीषराज यादव निर्वाचित भएका छन् ।