एनसेल भन्यो : हामीले अब कुनै पनि रकम तिर्न बाँकी छैन
काठमाडौं । एनसेल तथा आजियाटा इन्भेस्टमेन्टस् (यूके)ले इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मध्यस्थता सम्बन्धमा गरेको कारबाहीको जानकारी प्राप्त गरेको जानकारी दिएको छ । दुई कम्पनीले आफूहरूले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्ष रूपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन सन् २०१९ मा आईसीएसआईडीमा निवेदन दिएका थिए । नयाँ निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी नभएकाे कम्पनीले विज्ञप्तीमार्फत जनाएकाे छ । आजियाटा युकेले एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्ष रूपमा खरिद गर्दा नेपाल सरकारले पुँजीगत लाभकर लिने विषय ग्रेट ब्रिटेन तथा उत्तरी आयरल्याण्ड र नेपाल सरकारबीच फागुन १९, २०४९ मा भएको द्विपक्षीय लगानी प्रवद्र्घन र संरक्षण सम्झौताको विरुद्धमा भएको दाबी गर्दै सन् २०१९ मा आईसीएसआईडीमा निवेदन दिएकाे थियाे । ‘आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधीकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि आईसीएसआईडीले नेपाललाई आदेश दिएको दाबी पनि विज्ञप्तिमा गरिएको छ । ‘यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरी करिब १४ लाख अमेरिकी डलर रहेको छ,’ आजियाटाले भनेको छ । आजियाटाले न्यायाधीकरणको निर्णयलाई सम्मान गर्ने र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको पनि जनाएको छ । यस विषयमा अद्यावधिक जानकारीहरूपछि घोषणा गरिने पनि उसले उल्लेख गरेको छ ।
नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ । कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो । भारतबाट सुरू भएको सेल्फी विथ डटर अभियान नेपालमा पनि आजकै दिन ३ वर्ष अगाडि सुरू भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ । विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा हरियानाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यस बाहेक सेल्फी विथ डटर अभियानका सुरूवातकर्ता सनिल जगलानको समेत उपस्थिति थियो । यस बाहेक नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरुलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने उनले बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैङ्गिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे । यस्तै सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए । कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड २०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो । सो कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । एचभिसी गुरुग्राम विश्वविद्यालयका प्रोफेसर दिनेश कुमार, एचभिसी आइआइएलएमका प्रोफेसर सुजाता शाही, ईस्ट वेस्ट अटोमेसन टेक्नोलोजीका एमडी अरविन्द कौल, रुप अटोमोटिभका एमडी मोहित ओसवाल, हीरो मोटोकर्पका एचआर हेड धर्मरक्षित, डा। सीके गरियाली, सेवानिवृत्त आईएएस र अम्बा वाटलले छोरीहरूको राम्रो भविष्य सिर्जना गर्न सामूहिक प्रयासको महत्त्वलाई जोड दिएका थिए । ‘सेल्फी विथ डटर’ दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा, नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक समानता र विशेष गरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तिकरणमा सधै जोड दिएको छ । नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियन भन्दा बढी भ्युज प्राप्त भएको छ । छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जा गर्न सधै तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।
ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य
काठमाडौं । ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । ओएसआर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिप कनटेक्सहरु अब डिशहोमको पे पर भ्यु र एक्सक्लुसिप च्यानलस्हरुमा डिशहोमका ग्राहकले हेर्न पाउने छन् । यसबाट ग्राहकले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिप कनटेक्सको मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।