उच्च शिक्षामा आइटी : पढ्दै कमाउँदै, स्वदेश र विदेश जहाँसुकै अवसर
काठमाडौंको मोर्गन इन्टरनेसनल कलेजमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरु काठमाडौं । कक्षा–१२ को नतिजा प्रकाशन भएपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने विषयको सम्बन्धमा विद्यार्थीहरु द्विविधामा छन् । उच्च माध्यामिक शिक्षा परिषदको परीक्षा उत्तिर्ण गरेपछि विद्यार्थीहरुलाई विश्वविद्यालय प्रवेश गर्ने ढोका खुलेको छ । स्नातक तहमा रोजिने विषयले विद्यार्थीको करिअर निर्धारण गर्छ । तसर्थ, आफ्नो रोजाइको क्षेत्रमा अब्बल बन्नका लागि अध्ययनको विषय पनि सोहीअनुसार रोज्नुपर्छ । पछिल्लो समय धेरैजसो विद्यार्थी र अभिभावकले सूचना प्रविधिलाई पहिलो रोजाइको विषय बनाउने गरेका छन् । विश्वभरी नै ठूलो मात्रामा रोजगारी तथा उद्यमको सम्भावना बोकेको विषय हुनाले पनि धेरैले विश्वविद्यालय तहमा सूचना प्रविधि अध्ययन गर्न सुझाव दिने गरेका छन् । सूचना प्रविधि विषय अध्ययन गरेर आफूलाई अब्बल सावित गर्नेहरू बेरोजगार बस्नु पर्ने अवस्था छैन । सूचना प्रविधि क्षेत्रका विभिन्न विषय अध्ययन गरेका नेपाली विद्यार्थीहरुले नेपालमै बसेर ६७ अर्ब रुपैयाँ भन्दा धेरै विदेशी मुद्रा आम्दानी गरेको तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ । सूचना प्रविधि अन्तर्गत हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा दिनानुदिन अकल्पनीय प्रगति हुँदै गएको छ । सूचना प्रविधिको विकास यस्तो भएको छ कि यसको अभावका मानिसको दैनिकी नै प्रभावित हुन थालेको छ । उत्पादन तथा सेवा क्षेत्रका सबैजसो व्यवसाय सूचना प्रविधिमै निर्भर छन् । सुरक्षित करिअर, प्रशस्त आम्दानी टेक्सास कलेजका विएससीसिएसआइटी विभागका प्रमुख ओमकार बस्नेतले सूचना प्रविधि अहिले ‘ग्लोबल ल्याङ्वेज’ भएकाले विश्वव्यापी माग बढेको उनले बताए । विश्वव्यापी रूपमा आइटीमा दक्ष व्यक्तिहरूको अभाव रहेकाले नयाँ विद्यार्थीहरुका लागि प्रशस्त सम्भावना रहेको उनले बताए । सूचना प्रविधिका विषय अध्ययन गरेकाहरूलाई आंशिक वा पूर्णकालिन रूपमा कामको समस्या नभएको उनले बताए । यो विषय अध्ययन गरेका विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्ने भएका अध्ययन खर्च समेत विद्यार्थी आफैले जुटाउन सक्ने उनले बताए । नेपालमा डिजिटल प्लेटफर्मका विभिन्न प्रडक्टमार्फत बलियो उपस्थिति देखाएको कम्पनी एफवानसफ्टका निर्देशक सुवास शर्माले आइटी पढेका विद्यार्थीका लागि स्वदेश र विदेशमा राम्रो रोजगारीको सम्भावना रहेको बताए । देशभित्रै सूचना प्रविधि सम्बन्धी प्रशस्त उद्योगहरु खुलेका कारण आइटी पढेकालाई राम्रो अवसर रहेको उनले बताए । त्यसबाहेक, नेपालमै बसेर पनि विदेशका विभिन्न स्थापित कम्पनीमा काम गर्ने अवसर रहेको शर्मा बताउँछन् । ‘अहिले विश्व नै डिजिटलाइज भैरहेको छ, विदेशमा पनि सूचना प्रविधिको प्रचुर सम्भावना छ, नेपालमा पनि प्रशस्त अवसर सिर्जना भइरहेका छन्’, शर्मा भन्छन्, ‘आउटसोर्स कम्पनीहरु नेपालमा छन्, फ्रिल्यान्सरको रुपमा काम गर्नेहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् ।’ विदेश जान चाहनेहरुका लागि पनि नेपालमै आइटी अध्ययन गरेर जाँदा राम्रो हुने उनले बताए । नेपालका उद्योग तथा व्यवसाय क्षेत्र डिजिटल उन्मुख भएकाले थप अवसरको सम्भावना रहेको शर्माले बताए । ‘आइटी आफैँमा व्यवसाय भन्दा पनि यसले अन्य उद्योग तथा व्यवसायलाई सपोर्ट गर्ने हो, व्यवसायहरुलाई अटोमेटेड बनाउन सहयोग गर्छ । सफट्वेयरको प्रयोगले कामलाई पेपरलेस बनाउन सकिन्छ । यो सबैले चाहेका हुन्छन् । आफ्नो बिजनेसलाई अनलाईन, अटोमेटेड र पेपरलेस बनाउँदा आइटी नै सहयोग हुन्छ । यसमा ठूलो जनशक्ति चाहिन्छ । त्यसैले, प्रशस्त सम्भावना छ’, शर्माले भने । इच्छाशक्ति भएको र मेहनती विद्यार्थीले आफ्नो शैक्षिक खर्च मात्रै नभएर पढ्ने समयमा नै प्रशस्त पैसा कमाउन सक्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् । पढाइकै समयमा आफ्नो प्रोजेक्ट वर्कको काम गर्दा नै प्रशस्त आम्दानी गर्न सकिने अध्यापकहरुको भनाई छ । त्यसबाहेक, आंशिक, प्रोजेक्टमा आधारित र पूर्णकालिन जागिरमा आवद्ध भएर पनि कमाउन सकिन्छ । यो क्षेत्रका काम गर्ने नेपालीहरुले दैनिक ८ घण्टा काम गर्दा न्यूनतम ३०/३५ हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । के–के छन विषय ? नेपालका शिक्षण संस्थामा नेपाली तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधिका विषयहरू पढाई हुन्छन् । विएससी–सिएसआइटी, बिआइटी, बिसिए, बिआईएम लगायतका विषय स्नातक तहका अध्यापन हुन्छ । सूचना प्रविधि अन्तर्गतका सबै शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा सञ्चालित छन् । कक्षा–१२ मा विज्ञान संकाय अध्ययन गरेका विद्यार्थीले मात्रै विएससी–सिएसआइटी अध्ययन गर्न पाउँछन् । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको प्रवेश परीक्षा उत्तिर्ण गरेको हुनुपर्छ । त्यसबाहेकका शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले, बिसिए, बिआईएम लगायतका सूचना प्रविधिसँग सम्बन्धीत विषयहरु अध्ययन गर्न पाउँछन् । चार वर्षको आठ समेस्टरका कोर्ष विश्वविद्यालयहरुले बनाएका छन् । यी विषयहरु अध्ययन गर्दा विश्वविद्यालय र कलेजअनुसार शुल्क फरक छ । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये ८ वटा विश्वविद्यालयहरुले स्नातक तहमा आइटी सम्बन्धी कोर्ष सञ्चालन गरेका छन् । जसमध्ये त्रिभुुवन विश्वविद्यालयले बीएससी–सीएसआईटी, इलेक्ट्रोनिक्स, कम्प्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बीआईसीटीई, बीसीए, बीआईएम, बीआईटी र बीएससी एमएलटी कार्यक्रम सञ्चालन गर्ने गरेको छ । काठमाडौं विश्वविद्यालयले बीएससी इन कम्प्युटेस्नल म्याथेम्याटिक्स, बीबीआईएस, बीएससी इन बायोइन्फर्मेटिक्स, बीटेक बायोटेक्नोलोजी, बी–टेक इन एआई, कम्प्युटर साइन्स र बीएससी एमआईटी कार्यक्रम सञ्चालन गरेको छ । पोखरा विश्वविद्यालयले इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ, बीसीए, कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, बीएससी एमएलटी, बीई–आईटी र बीसीआईएस कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले बीसीए, बीआईटी, बायोटेक्नोलोजी, बायोटेक, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको छ । मध्यपश्चिम विश्विद्यालय र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ र बीएससी–सीएसआईटी कार्यक्रम सञ्चालन गरेको छ । गण्डकी विश्वविद्यालयमा बिआइटी र राजर्षी जनक विश्वविद्यालयमा बिएससी सिएसआटी कार्यक्रम सञ्चालन भइरहेका छन् । सामान्यतया आइटीका धेरै विषयहरु कक्षा ११/१२ मा विभिन्न विषय लिएर पढेका विद्यार्थीले स्नातक तहमा आइटी अध्ययन गर्न सक्छन् । विश्वविद्यालयहरुले स्नातक तहमा आइटी अध्ययन गर्नको लागि कक्षा ११/१२ मा निश्चित अंक ल्याएको हुनुपर्ने मापदण्ड तोकेको छ ।
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुन्छ : मन्त्री शर्मा
प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहका काम गर्नुपर्ने बताएकी छिन् । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै संभव हुने भएकाले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उनले बताए । प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसँगको भेटघाटमा उनले सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने बताइन् । ‘सुशासन प्रधानमनन्त्री र मुख्यसचिवले कायम गरेर मात्र हुने होइन । मन्त्री र मन्त्रालयका सचिवहरुले मात्र गरेर हुने विषय पनि होइन’, उनले भनिन् । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्– ‘ती निकायले निर्देशित गर्ने पक्कै हो तर जिल्ला र तलतलसम्म रहेका कार्यान्वायन इकाईले राम्रो काम गरे मात्रै सुशासन संभव हुने हो ।’ आम सेवाग्राही माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने पनि उनले स्पष्ट गरिन् । ‘तपाइँ राम्रोसँग सेवाग्राहीसँग बोलिदिनुभयो भने मात्रै पनि सेवा प्रवाह प्रभावकारी भएको मानिन्छ’– उनले कर्मचारीलाई सम्बोधन गर्दै भनिन्– ‘जनताको कामसँग प्रत्यक्ष जोडिने कार्यालयमा सुब्बा, खरिदार, अस्पतालका नर्स आदिले गर्ने काममार्फत सरकारको व्यवहार प्रस्तुत हुने गर्दछ । त्यसैले जनतासँग जोडिएर काम गर्ने कर्मचारीहरुको सेवा प्रवाह र बोलीव्यवहार राम्रो बनाउनुहोला ।’ पिँधमा बसेर काम गर्ने कर्मचारीबाट नै सरकारको सफलता असफलता निर्धारण हुने भएकाले सरकारले पनि तल्लो तहका बसेर काम गर्ने कर्मचारीहरुको उच्च मूल्यांकन गर्ने नीति लिएको उनले बताइन् । केही दिनअघि भएको नेपाल सरकारको बार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रधानमन्त्रीको सम्बोधनलाई मार्गदर्शनको रुपमा लिएर सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई सहयोग पुुग्ने गरी हरेक निकायले कार्ययोजना बनाउनुपर्ने पनि मन्त्री शर्माले स्पष्ट गरिन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वबिचमा राम्रो बुुझाइ र समझदारी आवश्यक रहेको पनि बताइन् । नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबिच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने उल्लेख गर्दै उनलाई यो असझदारी हटाउनैपर्ने बताइन् । ‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवहरुसम्म दोहोरो संवाद गर्ने सोंच बनाएका छौं, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ’, मन्त्री शर्माले भनिन् । यसैबीच मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको उल्लेख गर्दै घरभित्रकै मान्छे भए पनि नछाडिने बताइन् छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार सुरुदेखि नै बिकृती, बिसंगती अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्ममढङ्गले अगाडि बढेको बताइन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारमा मै परेपनी मेरो घरकै मान्छे संलग्न भएपनि नछाड्ने बताएको जानकारी दिँदै मन्त्री शर्माले सुन तस्करी, ललिता निवास, भुटानी शरणनार्थीलगायत सबै प्रकरणलाई निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्– ‘सरकारले भष्ट्राचारसँग जोडिएका सबै प्रकरणको मिहिनढंगले अनुसन्धान गरिरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौं ।’ शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिक्ताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाइन् । उनले गल्ती गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुन्छ भन्ने सन्देश दिन सरकार सफल भएको स्पष्ट गर्दै भनिन्– ‘सरकारले कानुन सबैका लागी बराबर हुन्छ भन्ने सन्देश दिएको छ।’ संविधान र कानुनको मातहतमा सबै रहेकोले गल्ती गर्ने जो सुकैलाई पनि नछोड्ने गरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको उनले बताइन् ।
सीडीएमएबाट फोरजीमा स्थानान्तरण हुने ग्राहकलाई टेलिकमको सुविधै सुविधा
काठमाडौं । नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन अर्थात सीफोन प्रयोगकर्ताहरुलाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । पछिल्लो समय विश्वबजारबाटै सीडीएमए फोनको आकर्षण घट्दै गएपछि नेपालमा पनि त्यसको प्रयोगकर्तालाई जीएसएमको फोरजीमा स्थानान्तरण गर्न कम्पनीले आकर्षण अफर ल्याएको हो । भदौ १ देखि लागु हुने उक्त अफरमा सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम मध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइने कम्पनीको भनाई छ । सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गति सम्मको १० जीबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ५ हजार ९ सय ९९ र वार्षिक अवधिका लागि १० हजार ४ सय ९९ रुपैयाँ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ४ हजार ९ सय ९९ र वार्षिक अवधिका ९ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गति सम्मको १५ जीबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९ सय ९९ र वार्षिक अवधिका लागि १६ हजार ४ सय ९९ रुपैयाँ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि ७ हजार ९ सय ९९ र वार्षिक अवधिका लागि १५ हजार ४ सय ९९ रुपैयाँ हुनेछ । यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी/एलटीई सीपीईसमेत उपलब्ध गराइने छ । नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुनेछ । यसरी उपलब्ध हुने १० जीबी वा १५ जीबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि ५० मा २४ घण्टा समयावधि सम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ । नेपाल टेलिकमले पहिले देखि नै सीडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’ उपलब्ध गराइरहेको छ । यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोही अनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिने छ । यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ । त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ । प्रविधिको विकाससँगै नयाँ प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्वव्यापी लहरलाई पछ्याउँदै कम्पनी पनि पुरानो प्रविधिलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्दै भरपर्दो तथा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन कटिबद्ध रहेको छ । यस अनुसार नेपाल टेलिकमले गत २०८० असार मसान्त देखि लागु हुने गरी कम्पनीद्वारा सञ्चालित सीडीएमए सेवा बन्द गरेको छ ।