नेपालमा पनि च्याटजिपिटीको एन्ड्रोइड मोबाइल एप शुरु, तर, उपयोगी छैन
काठमाडौं । सोमबारदेखि नेपालमा पनि चर्चित च्याटबट एप च्याटजिपिटीको मोबाइल एप्लिकेसन शुरु भएको छ । नेपाली एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले अब गुगल प्ले स्टोरबाट च्याटजिपिटी डाउनलोड गरेर यसको सेवा लिन सक्ने भएका छन् । नेपालमा सोमबारदेखि डाउनलोड गरेर प्र्रयोग गर्न सकिने गरि आएको च्याटजिपिटीको मोबाइल एप्लिकेसन भने खासै उपयोगी नभएको देखिएको छ । च्याटजिपिटीको मोबाइल एप्लिकेसनमा पटक-पटक लगइन गरिरहनपर्ने झन्झट नभएपनि चाहेको जानकारी भने पाउन नसकिने देखिन्छ । मोबाइलमा च्याटजिपिटीको निःशुल्क प्रयोग गर्ने प्रयोगकर्ताहरुले सोधेको विषयको जानकारी निकै छोटो मात्रै प्राप्त गर्न सक्छन् । साथै वेबसाइटमा जस्तो थप जानकारी पाउने सुविधा पनि सो एप्लिकेसनमा रहेको छैन ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले नयाँ तस्विर कसरी बनाउँछ ?
काठमाडौं । तस्विर बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक जटिल प्रणालीबाट तस्विर निर्माण गर्ने काम गर्छ । लाखौं तस्विर र सो सँग प्राप्त जानकारीको आधारमा एआईले तस्विर निर्माण गर्ने काम गर्छ । तपाईंले एआईले त्यो तस्विर पनि बनाउन भन्न सक्नुहुन्छ, जुन कुनै पनि घट्ना, वातावरण वा पात्रसँग सम्बन्धित छैन । उदाहरणको रुपमा तपाईंले मंगल ग्रहमा टहलिँदै गरेको मान्छेको तस्विर बनाउन पनि भन्न सक्नुहुन्छ । तपाईंले एआईलाई कुनै रचनात्मक तस्विर बनाउन पनि लगाउन सक्नुहुन्छ । उदाहरणको रुपमा तपाईंले प्रशिद्ध चित्रकार पिकासोको शैलीमा कुनै प्रशिद्ध खेलाडीको तस्विर बनाउन अनुरोध गर्न सक्नुहुन्छ । एआईसँग अनियमित ढंगले रंगहरुको प्रयोग गरेर तस्विर निर्माृण गर्नसक्ने प्रविधि जोडिएकोछ । यसको अलावा विभिन्न वस्तुहरुको तस्विर निर्माण गर्न थोप्लाहरु र तरिकाको प्रयोग गर्न सक्छ । थोप्लाहरुको सहायताले एआईले पहिला एक सतहको निर्र्माण गर्छ र त्यसमाथि निर्देशित ढाँचासँग मिल्ने तस्विर निर्माण गर्छ । यसो गर्दा पहिलो सतह हराउन पुग्छ । एआईले मंगल ग्रह, अन्तरिक्षमा टहलिँदै गरेको व्यक्ति लगायतका तस्विरहरुलाई पनि फरक प्याटर्नमा राखेर नयाँ तस्विर पनि निर्माण गर्न सक्छ । जुन कुनै पनि घटनामा नभएको अलग प्रकारको तस्विर हुन्छ । एआईले अरबौं तस्विरसँग जोडिएका अरबौं प्याटर्नका आधारहरुलाई प्रयोग गरेर सो काम गर्छ । कलाकारहरुले हजारौं वर्षदेखि गरेको तस्विर निर्माण गर्ने काम एआईले एउटा काल्पनिक अवधारणाका आधारमा निर्माण गर्न सक्छ । पछिल्लो समयमा एआईले निर्माण गरेका तस्विरहरुको अर्थ र यसको अधिकारका सम्बन्धमा चर्चा शुरु भएको छ ।
विद्युतीय व्यापार विधेयक २०८० ले व्यावसायीको हित नगर्ने
काठमाडौं । विद्युतीय व्यापार विधेयक, २०८०ले ब्यापारीको हित नगरेको व्यवसायीहरुले गुनासो गरेका छन् । विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा निजी क्षेत्रका व्यवसायीहरुले विद्युतीय व्यापार विधेयक, २०८० ले ब्यापारीहरु मारमा पर्ने बताएका हुन् । सिलिकन हायर प्रालि (मेरो अड्डा)का सह–संस्थापक तथा प्रवक्ता आलोक सुवेदीले एकै किसिमको व्यापारलाई धेरै कानूनले बाँधेको उल्लेख गर्दै विद्युतीय व्यापारलाई मजबुत बनाउन केन्द्रमा मात्र नभई स्थानीय तहसम्मको सहभागितामा छलफल गर्न आवश्यक रहेको बताए । पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले विधेयकले सेवा प्रदायकलाई संरक्षण नगरेको बताउँदै ठूला व्यवसायी मारमा पर्ने र साना व्यवसाय विस्थापित हुनाले विधेयकलाई परिमार्जन गरी व्यापारी उत्साहित बनाउनेतर्फ अनुकूल हुनपर्नेमा जोड दिए । दराज केमु प्रालिका प्रबन्ध निर्देशक आँचल कुँवरले सरकाले साझा, मझौला व्यापारीको प्रबन्ध गरी दिगोरूपमा विद्युतीय व्यापारको संलग्नतामा ल्याउन तालिम उपलब्ध गराउन आवश्यक रहेको बताइन् । त्यस्तै हाम्रो बजार भेन्चर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत रोहित तिवारीले वस्तु वा सेवाको मर्मतसम्भारको दायित्व मध्यस्थ व्यवसायको नभएकाले उक्त वस्तु तथा सेवाको ग्यारेण्टीको शर्त पालना गर्न सहजीकरण गर्ने व्यवस्था थप गर्नुपर्नेमा जोड दिए । उपभोक्ता हित संरक्षणका सचिव जयप्रसाद पौडेलले सबै कानून उपभोक्तासँग प्रत्यक्षरअप्रत्यक्षरूपमा जोडिने हुनाले उपभोक्तालाई केन्द्रमा राखी थप छलफल हुन आवश्यक रहेको बताए । बैठकमा सरोकारवाला अन्य सदस्यले इन्टरनेटको माध्यमबाट गरिने व्यापार भने पनि सामाजिक सञ्जालबाट गरिने व्यवसायलाई नसमेटिएको गुनासो गरेका हुन् । साथै, विद्युतीय व्यापारी मध्यस्थकर्ताका रूपमा रहने हुनाले वस्तुमा उत्पादन मिति, उपभोग गरिसक्नु पर्ने मिति र अन्य आवश्यक शर्तको प्रावधान हटाउनुपर्ने माग राखेका छन् । यता विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवद्र्धन गर्ने बताइन् । विद्युतीय व्यापार विधेयक, २०८० व्यापारीको हित अनुकुल नरहेको भन्ने सरोकारवाला निकायको तर्कप्रति उनले भनिन्, ‘विधेयक व्यापारी र उपभोक्ता दुवैको पक्षमा रहेर ल्याउने प्रयास गरिएको छ । विद्युतीय व्यापारलाई व्यवस्थित र विश्वसनीय बनाउन खोजिएकाले सम्बन्धित पक्षसँग छलफल गरी उपयुक्त सुझाव समेट्ने प्रयास गरेका छौँ । विधेयकले व्यापारीलाई प्रवद्र्धन गर्छ ।’ विधेयक अपूर्ण भएको महसुस गरी समितिले यसलाई थप सुदृढीकरण बनाउन समन्वयनको भूमिका लिएको र छलफललाई निरन्तरता दिने उनको भनाइ छ ।