आइएनजी स्किल एकेडेमीले वीरगञ्जमा आयोजना गर्‍याे प्रविधि प्रदर्शनी

काठमाडौं । आइएनजी स्किल एकेडेमीले वीरगञ्जको टाउन हल पार्टी प्यालेसमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ । कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ । फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा सफल व्यवसाय सुरु गर्न र प्रविधिको सहायताले त्यसलाई बढाउन गरेको सहयोगको बारेमा भएको अभिमुखीकरण चाखलाग्दो भएको कार्यक्रममा सहभागी आयुष श्रेष्ठले बताए । वीरगञ्जनको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब १५ सय विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।

ट्वीटरमा पनि अडियो र भिडियो कलको सुविधा हुने

काठमाडौं । एलन मस्कले अब ट्वीटरबाट पनि अडियो र भिडियो कल गर्न सकिने सुविधा ल्याउने घोषणा गरेका छन् । ट्वीटरमा चाँडै ल्याउन लागिएको अडियो र भिडियो कलको सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबै माध्यममा उपलब्ध हुने उनले बताएका छन् । उनी ट्वीटरमा लेखेका छन्, ‘एक्समा चाँडै अडियो र भिडियो कलको सुविधा दिइनेछ । यो फिचर आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्टको कम्प्युटरमा प्रयोग गर्न सकिनेछ ।’ ट्वीटरमा भिडिओ र भ्वाइस कलिङका लागि कसैलाई आफ्नो मोबाइल नम्बर दिइरहनु नपर्ने बताइएको छ । आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्ने एलन मस्कले भनेका छन् । ट्वीटर खरिद गरेपछि उनले विभिन्न परिवर्तनहरु गर्दै आएका छन् । उनले केही समय अघि ट्वीटरको लोगोबाट चरा हटाएर एक्स चिह्न राखेका छन् । त्यसबाहेक, ट्वीटरले केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै ल्याउने बताएको छ ।

इन्टरनेटले बालबालिका यौन दुर्व्यवहारमा

काठमाडौं । सूचना प्रविधिको प्रयोगका कारण बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले सार्वजनिक गरेको अनलाइन बाल यौन दुर्व्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्षमुनिका बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको जनाएको छ । महान्याधिवक्ता डा. दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभई मनोविज्ञान रुपमा असर पार्ने बताए । उनले पहिले शारीरिक यौनदुर्व्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौन दुर्व्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्‍याउने बताए । उनले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताए । महान्याधिवक्ता डा. पोखरेलले ‘साइबर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ती कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोसेढुंगा हुने बताए । अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौनदुर्व्यहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौनदुर्व्यहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताए । लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुर्व्यहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौनदुर्व्यहार भएको भन्ने थाहा पाउन साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताए । उनले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने तर्क गरे । उनले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाईमा ‘चाइल्ड सेभ मोड’ राखिएको जानकारी दिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताए । कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौनदुर्व्यहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ । अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिए । रासस