हुवावेद्वारा विश्वकै द्रुत इन्टरनेट शुरु, प्रतिसेकेन्ड १.२ टिबी डाटा ट्रान्सफर गर्न सकिने
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेई टेक्नोलोजीले विश्वको सबैभन्दा छिटो इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो नेटवर्क १.२ टेराबाइट (टीबी) प्रति सेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्षम रहेको दाबी गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार, हुवावे टेक्नोलोजीका उपाध्यक्ष वाङ लेईले भने कि यो नेटवर्कले एक सेकेन्डमा १५० हाई-डेफिनिसन (एचडी) चलचित्र बराबरको डाटा ट्रान्समिट गर्न सक्छ। यसबाहेक यसले नेटफ्लिक्सको सबै विश्वव्यापी सामग्री पठाउन सक्छ। कम्पनीले यसलाई जुलाईमा परीक्षण गरेको थियो र अहिले आधिकारिक रूपमा लन्च गरेको हो । नेटवर्कले सबै परिचालन परीक्षणहरू पास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यस सफलताका लागि सिङ्गुआ युनिभर्सिटी, चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सर्नेट कर्पोरेसनले मिलेर काम गरेका थिए । अमेरिका र दक्षिण कोरिया भन्दा १० गुणा छिटो कम्पनीले विश्वको पहिलो नेक्स्ट जेनेरेशन फाइबर इन्टरनेट सेवा सुरु गरेको छ । यसको गति अमेरिका र दक्षिण कोरिया भन्दा १० गुणा बढी रहेको बताइएको छ । तीन हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर केबलिङमा फैलिएको नयाँ ब्याकबोन नेटवर्कले १.२ टेराबाइट (१२०० गीगाबाइट) प्रति सेकेन्डमा डाटा पठाउन सक्छ। सञ्जालले उत्तरमा बेइजिङ, मध्य चीनको वुहान र दक्षिणी प्रान्त ग्वाङ्जाउलाई जोड्ने काम गर्छ ।
आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, हाम्रो पेमार्फत भोट गर्न सकिने
काठमाडौं । आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौटपश्चात पब्लिक भोटिङ सञ्चालन भएको हो । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा उत्कृष्ट ५ को छनौटपछि हाम्रो पात्रो अन्तर्गतको हाम्रो पेएपमार्फत पब्लिक भोटिङ सुरु गरिएको आयोजकले जनाएको छ । प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनबाट छनौट भएका उत्कृष्ट ५ ले क्याटेगोरी अवार्ड विजेताको लागि र उत्कृष्ट १३ मा पर्न सफल ३९ प्रतिस्प्रधीले पब्लिक च्वाइस आइसिटी अवार्डको लागि हाम्रो पे पब्लिक भोटिङ सञ्चालन गरिएको हो । क्याटेगोरी अवार्ड भोटिङको लागि एउटा आइडीले एकदिनमा एउटा विधामा एउटामात्र भोट गर्न सकिनेछ भने पब्लिक च्वाइसमा इच्छाअनुसारको भोट गर्न सकिनेछ । सर्वोत्कृष्ट छनौटको लागि जुरी समितीको फिल्ड भिजिट पनि सञ्चालन हुनेछ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्ने प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा १३ विधामा नोमिनेसन खुल्ला गरिएको थियो । प्राप्त ६०० बढिको अनलाइन नोमिनेसनबाट सम्पुर्ण विधामा सर्वोत्कृष्ट छनौट १४ जना जुरी सदस्यहरुले विभिन्न चरणको छनौट प्रकृया सञ्चालनमा रहेको छ । दक्षिण एसियाली दे्शका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ स्टार्टअप अवार्ड पनि सञ्चालनमा छ । यसको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाका विज्ञहरुलाई जुरी समितीमा समावेश गरिएको छ । उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज र यार्सा टेक प्रा.लि रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् । यि उत्कृष्ट ५ सँगै अन्य १३ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको बारेमा तयार पारिएको विशेष टेलिभिजन कार्यक्रम पनि प्रशारणको तयारीमा रहेको छ । ग्राण्ड फिनाले अघि कान्तिपुर टेलिभिजनबाट ५ वटा एपिसोडहरु प्रशारण हुनेछ । यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा तेस्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यसैगरी, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा दोस्रो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रम सहभागी हुन इच्छुकले मसिंर १५ गतेदेखी खुल्ला हुने टिकट खरिद गर्न सकिनेछ । भोटिङ र फाइनलिस्टहरुको बारेमा थप जानकारी लिन आइसिटीले वेबसाइट हेर्न सकिनेछ ।
भीपीएनको प्रयोगले खाताबाट पैसा चोरी हुने जोखिम, गोपनीयता भंग हुन सक्ने
काठमाडौं । सरकारले वैद्यानिक रुपमा भिडियो प्लेटफर्म टिकटक बन्द गरेपछि त्यसलाई प्रयोग गर्ने विषयमा केही मानिसहरूले विकल्प खोजिरहेका छन् । केही व्यक्तिहरूले भचुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर पनि प्रतिबन्धित वेबसाइट र एप्लिकेसनहरु चलाउन सकिने मत व्यक्त गरिरहेका छन् । साथै केही व्यक्तिहरूले भिपिएनको प्रयोग गरेर टिकटक चलाइ रहेका पनि छन् । तर, भिपिएनको प्रयोग गरेर मोबाइल चलाउँदा मोबाइलमा रहेका सम्पूर्ण तथ्यांकहरू चोरी हुने र भिपिएन प्रयोगकर्ताहरुलाई जोखिम हुनसक्ने देखिएको छ । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको सञ्जाल स्थापित गर्ने प्रविधि हो । भिपिएनले धेरै साइटहरुलाई जोड्ने, तेस्रो पक्षलाई पनि इन्टरनेटमा पहुँच दिने, अव्यवस्थित डिभाइसहरुलाई सपोर्ट गर्ने र आइओटी डिभाइस जोड्न सहयोग पुर्याउने काम गर्छ । जसले गर्दा भिपिएनको प्रयोग प्रयोगकर्ताको लागि असुरक्षित हुन पुग्छ । यही वर्षमा २३८ जना आइटी व्यवसायी, साइबर सेक्युरिटी एक्सपर्ट र प्रयोगकर्ताहरूमा गरिएको सर्वेक्षणले भीपीएनले साइबर क्षेत्रमा सुरक्षा चुनौती दिएको प्रतिवेदन बाहिरिएको छ । सन् २०२३ को भिपिएन जोखिम प्रतिवेदनले भिपिएन असुरक्षित रहेको औंल्याएको छ । सर्वेक्षणमा ८८ प्रतिशत संस्थाहरुले भीपीएनले न्यून देखि उच्च स्तरको सुरक्षा जोखिमको वातावरण निम्त्याउन सक्ने जनाएका छन्। त्यस्तै, सर्वेक्षणमा सहभागी ४५ प्रतिशतले पछिल्लो १२ महिनामा भिपिएनको जोखिमको कारण भाइरस आक्रमण भएको बताए । भिपिएनमा भएको जोखिमका कारण हुने गरेको साइबर आक्रमणलाई रोक्न तत्काल यसको संरचनालाई नै सम्बोधन गर्नुपर्ने रिपोर्टले औंल्याएको छ । सर्वेक्षणमा सहभागी ८४ प्रतिशत प्रयोगकर्ताले भिपिएनले मोबाइलका आधारभूत एप्लिकेसनमा पहुँच राख्न सक्ने बताएका छन् । पछिल्लो वर्षमा दुई संस्थाले भिपिएनबाट सम्बन्धित भएर गरिएको प्रत्यक्ष साइबर हमलाको सामना गरेका थिए । भीपीएनमा तेस्रो पार्टीले उपलब्ध गराउने सेवामार्फत् उनीहरुले प्रयोगकर्ताको उपकरणमा राख्ने पहुँचमा गम्भीर सुरक्षा चुनौती रहेको भीपीएन जोखिम प्रतिवेदन २०२३ ले औंल्याएको छ । त्यस्तै, काठमाडौं, कमलपोखरी स्थित सञ्चालनमा रहेको आइआइएमएस कलेजका साइबर सेक्युरिटी मोड्युलेटर अपूर्व नेपालले पनि आम मानिसहरूले भिपिएन प्रयोग गरेर मोबाइल सञ्चालन गर्ने विषय निकै जोखिमपूर्ण हुने बताएका छन् । उनले भिपिएन प्रयोग गर्दा व्यक्तिका सम्पूर्ण क्रियाकलाप र तथ्यांकहरु भिपिएन सेवा उपलब्ध गराउने कम्पनीको मातहतमा जाने बताएका छन् । ‘भीपीएन प्रयोग गर्नु भनेको एक हिसाबले सो कम्पनीको अधिनमा बस्नु हो’, उनले भने, ‘भिपिएनले प्रयोगकर्ताहरुको हरेक क्रियाकलापलाई अध्ययन गर्न सक्छ ।’ मोड्युलेटर नेपालले भिपिएनले प्रयोगकर्ताहरुको लगइन, पासवर्ड लगायतका नितान्त व्यक्तिगत र गोप्य तथा तथ्यांकहरु समेत लिन सक्ने बताएका छन् । उनका अनुसार भीपीएन मोबाइलमा इन्स्टल गर्दा त्यसले अन्य एप्लिकेशनलाई पनि आफ्नो निगरानीमा राख्छ । त्यसमा भएको तथ्यांकलाई उसले सजिलै प्राप्त गर्न सक्ने जोखिम भएको उनको भनाइ छ । प्रयोगकर्ताले मोबाइलमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पनि प्रयोग गरिरहेका हुन्छन् । त्यसलाई पनि भीपीएनले सहजै आफ्नो निगरानी गर्न सक्छ । त्यसैले पनि प्रयोगकर्ताको मोबाइलमा भएको बैंक खातालाई भीपीएनले सजिलै आफ्नो निगरानीमा राख्ने सक्ने अनुमान आईटी विशेषज्ञहरूले गरेका छन् ।