एनसेलद्वारा सेयर कारोबारका लागि सम्झौता भएको घोषणा

काठमाडौं । स्पेक्ट्रलाइट यूके र आजियाटा यूकेबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मूलका व्यवसायी हुन् । उनी भन्छन् ‘एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ । दूरसञ्चार क्षेत्रको मेरो वृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौँ ग्राहकलाई विभिन्न परिष्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छाैं ।’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तन देखि हामी खुसीछाैं र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन हामी तत्पर छाैं। आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गदै सेवाहरूको दायरा फराकिलो बनाइने छ जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ ।’

३० कम्पनीको लाइसेन्स खारेज गर्दै प्राधिकरण (सूचीसहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ३० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न ३० वटा कम्पनीलाई ७ दिनभित्र बक्यौता रकम भुक्तनी नगरेर लाइसेन्स खारेज गर्ने जनाएको हो । प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र लिई विगत केहि वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र नबुझाएको प्राधिकरणले बताएको छ । ‘बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न यसै सूचनामार्फत् जानकारी गराइन्छ, साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाइने छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।

गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्। सल्यानको कपुरकोट गाउँपालिकाले आज आयोजना गरेको स्वागत कार्यक्रममा उनले सरकारको प्राथमिकता सुशासन र गुणस्तरीय सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि नागरिक केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताइन् । सरकारले सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक सम्बन्धित स्थानीय तहसम्म पुगेको, मल आपूर्ति सहज भएको, सेवा प्रदायक कार्यालयमा लामो लाइन बस्नुपर्ने समस्या अन्त्य भएकोलगायत उदाहरण पेस गर्दै मन्त्री शर्माले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताइन् । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम सङ्घीय तथा प्रदेश सरकारले गर्ने बताइन् । सङ्घीयताले जनताको घर नजिक सरकार पुर्याएको भन्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्नेमा जोड दिइन् । राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधारलगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको मन्त्री शर्माले स्पष्ट पारिन् । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले गरेका थिए । गाउँपालिकाका समस्याबारे उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी गराएका थिए ।