एप्पलले भारतमा हरेक वर्ष ५ करोड आइफोन बनाउने

काठमाडौं । एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकनले गत महिना भारतमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । एप्पलका आपूर्तिकर्ता कम्पनीहरूले भारतमा उत्पादन–लिंक इन्सेन्टिभ योजनाअन्तर्गत प्राप्त अनुदानमा उत्पादन क्षमता बढाउँदैछन् । वाल स्ट्रीट जर्नलका अनुसार कर्नाटकमा फक्सकनको कारखानाले अप्रिलमा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ । वार्षिक २ करोड मोबाइल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसमा प्रायजसो आइफोनहरू उत्पादन हुनेछन् । कम्पनीले दोस्रो कारखाना पनि स्थापना गर्ने तयारी गरिरहेको छ । एप्पलले गत आर्थिक वर्षमा भारतमा ५ खर्ब ८० अर्ब रपैयाँभन्दा बढी मूल्यका आइफोनहरू एसेम्बल गरेको थियो । तमिलनाडुमा पनि आईफोन बनाउने टाटाको योजना टाटा समूहले तमिलनाडुमा पनि आइफोन निर्माण गर्ने योजना बनाएको छ । दुई वर्षमा २० वटा एसेम्बली लाइन र ५० हजार कर्मचारी हुनेछन् । उक्त समूहले आइफोन बनाउन कर्नाटकमा विस्ट्रोनको कारखाना खरिद गरिसकेको छ । टाटाले देशको सबैभन्दा ठूलो आइफोन एसेम्बली प्लान्ट निर्माण गर्न एप्पलको महत्वाकांक्षालाई ट्याप गर्ने योजना बनाएको छ ।

नेपाल सरकारलाई सामाजिक सञ्जाल प्लाटफर्मको प्रतिनिधि संस्था एआईसीले पठायो पत्र

काठमाडौं । सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी गरेको निर्देशिका र टिकटकमाथिको प्रतिबन्धप्रति सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले चासो व्यक्त्त गर्दै नेपाल सरकारलाई पत्र पठाएको छ । गुगल, एप्पल, मेटा, अमेजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाइजस्ता सूचना प्रविधि कम्पनी सदस्य रहेको एआइसीले नेपाल सरकारलाई पत्र पठाएको हो । सरकारले सम्बन्धित उद्योग र नागरिक समाजसँग छलफल नगरी र तयारीका लागि समय नै नदिई अपरझट ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ लागू गरेकोमा मुख्य चासो रहेको पत्रमा उल्लेख छ ।  

शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ अब आइफोनमा पनि

काठमाडौं । छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको नेपाली शर्ट भिडियो शेयरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अब आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह-संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) गृहेन्द्र घिमिरेले जानकारी दिए । यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने गरेकोमा अब भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो । टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप  एन्ड्रोइड भर्सनमा करिब दुई सातामै एक लाख भन्दा बढीपटक डाउनलोड भएको छ । आईफोन प्रयोगकर्ताहरूले पनि यो एप रुचाउने विश्वास लिइएको सीईओ घिमिरे बताउँछन् । ‘आईफोन प्रयोगकर्ताहरूले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ । उहाँहरूका लागि पनि अब एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने । रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको उनले जानकारी दिए । पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सार्वजनिक गरेको आईडिया जार कम्पनीले एपलाई परिस्कृत गर्दै गइरहेको छ । एपमा अहिले  डार्क मोड, शर्ट्स लगायत अन्य फिचर थपिएको घिमिरेले जानकारी दिए । यसबाहेक आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू सार्वजनिक गरिएको छ । कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ ।