एनसेल वुमन आइकन आइसिटी अवार्डबाट महिलाहरु सम्मानित हुँदै
काठमाडौं । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्दैछ । यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात अवार्डका लागि ७ जना महिलाहरु छनोटमा परेका छन् । यहि शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरिने छ । प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ । हरेक वर्ष प्रदान गरिने आइसिटी अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिँदै, एनसेलले विगत ३ वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै यो एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गतवर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो । सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन् । त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिईन् ।
नागरिक स्टक डिलरमार्फत किनबेच भएको सेयर सेटलमेन्टको भुक्तानी अब इसेवाबाट
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत नागरिक स्टक डिलरबाट किनबेच भएको सेयर सेटलमेन्टको भुक्तानी हुने भएको छ । जसको लागि इसेवा र नागरिक स्टक डिलबीच सम्झौता भएको छ । उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरेका छन् । साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ । यस सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकले गेटपे सञ्चालन गर्ने, गरे सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) र सिटीटेकले यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेटपे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् । तीन वटै संस्थाले पुस २ गते सोमबार संयुक्त रुपमा सम्झौता गरेका हुन् । सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् । नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक प्रणाली सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलगअलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ । यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरु तथा सञ्जालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।