ग्यालेक्सी एस२४ सिरिजका लागि एनसेल र सामसङबीच साझेदारी, अग्रिम बुकिङ गर्न सकिने

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो ईच्छाअनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् । सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् । यस साझेदारीका बारेमा बताउँदै एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस२४ सिरिज सबै भन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ संभावनाहरु पहिल्याउन प्रतिवद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौं ।’ सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन-डिभाइस सुविधाहरु प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ र यो डिभाईस टाइटेनियमबाट बनेकोले एकदमै बलियो रहेको छ । सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता विभिन्न अन-डिभाइस अनुभवहरू प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ । एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन् । ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइटमार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्छन् । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ ।

भायानेटले सार्वजनिक गर्‍यो ‘बाइ वान गिफ्ट वान फ्री’ योजना

काठमाडौं । भायानेटले ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको छ । भायानेट कम्युनिकेसन लिमिटेड नेपालमा फाइबर इन्टरनेट,आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्थाले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो ‘बाइ वान गिफ्ट वान फ्री’ (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन् जुन उनीहरुले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नेछन् । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको २७०० रूपैयाँ भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र  यसमा जडान शुल्क भने लागू हुनेछ। उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । कम्पनीका अनुसार यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ । जसको मुल्य मात्र  २७०० रुपैयाँ भ्याट पर्नेछ । भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउन कम्पनीले अनुरोध समेत गरेको छ ।

नेपाली मिडियामा पनि पस्यो एआई, के पत्रकारले जागिर गुमाउँदैछन् ?

काठमाडौं । विगतमा समाचार वाचन तथा रिपोर्टमा ‘भ्वाइस ओभर’का लागि कर्मचारी परिचालन गर्दै आएको नेपाल एफएमले हाल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर रिपोर्ट प्रसारण गर्छ । सो सञ्चार माध्यमले अहिले कर्मचारी कटौती गरेर एआईको व्यापक प्रयोग बढाएको छ । पहिले कर्मचारीमा मासिक लाखौं खर्च गरेर उत्पादन हुने रिपोर्टहरू अहिले निःशुल्क उत्पादन भइरहेका छन् । समाचारका हरेक बुलेटिनमा रेडियो रिपोर्ट तयार पारेर एआईलाई पढ्न दिएपछि उसले अडियोमा रेकर्ड गरेर तयार गर्छ र आफूले चाहेको बेला महिला वा पुरुष आवाजमा अडिओ रेकर्ड गर्न सकिन्छ । ‘एआई’ले रिपोर्टको स्क्रिप्ट पढ्न थालेपछि धेरै सहज भएको नेपाल एफएमका कार्यकारी निर्देशक गोविन्द्र खड्का बताउँछन् । ‘अब डेस्कमा राम्रो काम गर्न सक्ने मान्छे छ भने एक जनाले पनि रेडियो चलाउन सकिन्छ, एआईलाई काम दिन सक्ने मान्छे भए पुग्यो,’ उनी भन्छन्, ‘महिलाले डेस्क हेरिरहेको छ भने पुरुषको आवाजमा र पुरुषले डेस्क हेरिरहेको छ भने महिलाको आवाजमा हामीले रिपोर्ट पढाउने गरेका छौं, अब एआईको राम्रो प्रयोग गर्न सक्ने मान्छे भए धेरै कर्मचारी राखिरहन पर्दैन ।’ पछिल्लो समय मिडियामा दक्ष जनशक्तिको अभाव छ । अब कर्मचारी थप्नेभन्दा पनि भएका जनशक्तिलाई प्रविधिको विषयमा सिकाउन सकेमा कम जनशक्तिबाट धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा खड्काको छ । उनले पनि अहिले कर्मचारी कटौती गरेर एआईको प्रयोगलाई व्यापकता दिइरहेका छन् । रेडियोमा मात्र होइन अहिले विभिन्न सञ्चार माध्यमले एआईको प्रयोगलाई व्यापकता दिएका छन् । अनलाइन सञ्चार माध्यमले पनि समाचारसँगै अडियो क्लिप पोष्ट गर्ने गरेका छन् । जुन अडियो एआईको नै हो । भारतमा टेलिभिजनको प्रस्तोता पनि एआई नै छ । नेपाली युट्युवरहरूले पनि एआईको प्रयोगबाट भिडिओहरू निर्माण गर्ने गरेका छन् । नेपाल चित्र नामक युटुव च्यानलले पनि पछिल्लो समय एआईको प्रयोगले नै भिडिओ बनाउने गरेको छ । नेपाल चित्रका सञ्चालक विशाल सापकोटा विगत ६ महिनादेखि युटुबमा एआईको प्रयोग गरिरहेको बताउँछन् । ‘भिडिओका लागि कन्टेन्ट र तस्बिर हाम्रै हुन्छ, स्टोरी पढाउनका लागि एआईको प्रयोग गर्छौं, हामीसँग ठूलो मिडिया हाउस चलाउने स्रोत छैन, जनशक्ति नभएको मिडियाको लागि एआई राम्रो माध्यम बन्न सक्छ,’ उनले भने । एआईमार्फत् कन्टेन्ट पढाउँदा छिटो पनि हुने उनको भनाइ छ । ‘मान्छेले आफैंले पढ्दा धेरै टेक खानुपर्छ, अडियो पनि सम्पादन गर्नुप¥यो । तर, एआईको प्रयोग गर्दा समय पनि नलाग्ने, चाहेको जस्तै आवाज बन्छ,’ उनी भन्छन्, ‘स्टोरी शुद्ध भयो भने आवाज पनि राम्रै बन्छ ।’ अडियो र भिडिओमा मात्र नभइ अनलाइन, पत्रपत्रिकामा काम गर्ने धेरै जसो पत्रकार एआईको प्रयोग गरिरहेका छन् । कतिपय सम्पादकले एआईकै प्रयोगले समाचार सम्पादन गर्ने गरेको पनि देखिन्छ । अब प्रविधिकै सहयोग र प्रयोगले सबै काम गर्न सकिने जानकारहरू बताउँछन् । आम मानिसले जस्तै व्यवहार र प्रतिक्रिया गर्ने बौद्धिक मेसिनको सहायताले हरेक काम गर्न छिटो र छरितो मात्रै होइन गुणस्तरीय बन्ने चर्चा पनि छ । मान्छेले एआईको प्रयोग गरेर नै सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा तस्बीर राख्नेदेखि भिडियोमा निर्माण पनि गरिरहेका छन् । कसरी प्रयोग गर्ने एआई ? एआईलाई रेडियो रिपोर्ट पढाउँदा सबैभन्दा पहिले आफ्नो युजर आईडी बनाउनु पर्ने हुन्छ । त्यसपछि भ्वाइस मेकर डट इन खोज्नु पर्ने हुन्छ । सर्च (खोजी) गर्दा धेरै टुल्सहरू देखिन्छन् । ती मध्ये कुनै एकमा जान सकिन्छ । नेपालका रेडियो, युटुब जसले एआई प्रयोग गरिरहेका छन् तिनिहरूले छुट्टाछुट्टै तरिकाले प्रयोग गरिरहेका छन् । भ्वाइस मेकर डट इन खोल्ने वित्तिकै युजर आइडी माग्छ । त्यसको लागि आफ्नो अकाउण्ट हुनुपर्छ । त्यसमा भाषा छानिसकेपछि महिला वा पुरुष कुनबाट अडिओ पढाउन खोजिएको हो त्यो विकल्प क्लिक गर्नुपर्छ । रिपोर्ट तयार भइसकेपछि रिपोर्टको गति छान्नुपर्छ । त्यसलाई डाउनलोड गरेर रेडियोमा बजाउन मिल्छ । पछिल्लो समय धेरैले एआईमार्फत् तस्बिर पनि बनाउने गरेका छन् । त्यसका लागि विभिन्न वेवसाइटहरू छन् । कतिपय निःशुल्क छन् भने कतिपयमा पैसा पनि लाग्ने गरेको छ । नेपाली मिडियामा भने अहिले निःशुल्क रूपमा एआईको प्रयोग भइरहेको छ । काठमाडौंको मदन भण्डारी कलेजमा एआईको विषयमा अध्यापन गराउँदै आएका रबी राज बराल युट्युव र सामाजिक सञ्जलमा यसको प्रयोग बढी भइरहेको बताउँछन् । नेपाली मिडियामा पत्रकारले तयार पारेको समाचार वा रिपोर्टको स्क्रिप्ट एआईको सफट्वेरमा राख्ने र उसले पढेर बनाएको अडियो र त्यसलाई भिडियोमा राखेको पाइएको उनको भनाइ छ । ‘युटुबर र सोसलमिडिया क्रियटरले एआईको प्रयोग गरिरहेका छन्, कतिपय टेलिभिजनमा बिरोलको रूपमा एआईको प्रयोग भइरहेको छ,’ उनी भन्छन् । लण्डन स्कूल अफ इकोनोमिक युनिभर्सीटीको एउटा रिसर्च सेन्टरले सन् २०२० मा ३२ देशका ७१ समाचार कक्षमा कसरी एआईको प्रयोग गरिरहेको छ भन्ने विषयमा अध्ययन गरेको थियो । त्यहाँ धेरै मान्छेलाई एआई भनेको के हो थाहै नभएको र केहीलाई भने थोरै जानकार िभएको अध्ययनबाट खुलेको थियो । नेपालमा भने यो विषयमा अनुसन्धान नै भएको छैन । नेपालका पत्रकारले जेनेरेटिक एआईको प्रयोग गरिरहेका छन् । नेपाल चेकका सम्पादक दिपक अधिकारी पछिल्लो समय नेपाली सञ्चार माध्यमले प्रयोग गर्ने अधिकांश फोटोहरू एआईबाट बनेको बताउँछन् । ‘पत्रकारहरूले एआईजस्ता टुल्स पहिलेदेखि नै प्रयोग गर्दै आइरहेका छन्, डेटा जर्नलिजमको लागि विभिन्न टुल्सदेखि एक्सल प्रयोग गर्नेसम्म पत्रकारले पहिलेदेखि यस्ता प्रविधिको प्रयोग गरिरहेका थिए, अहिले प्रयोग गर्नेको संख्या बढेको छ,’ उनी भन्छन् । अधिकारीका अनुसार एआईको प्रयोग नेपाली मिडियामा दुई किसिममा भइरहेको छ । एउटा फोटो भिडियो, अर्को शब्द (टेक्स्ट)मा यसको प्रयोग भइरहेको छ । विश्वसनियतामाथि प्रश्न आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई एक सफ्टवेर हो । कम्प्युटर विज्ञानमा कृत्रिम बौद्धिकता एआईलाई यान्त्रिक बुद्धी पनि भनिन्छ । यो एउटा मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो । मानव शरिरको अलावा मानव निर्मित उपकरणद्धारा विचार वा निर्णय प्रदर्शन गर्ने प्रक्रिया हो । एआईले कम्युटर नेटवर्कका आधारमा काम गर्छ । तर, एआईबाट हुने काम भने सतप्रतिशत सही नहुने विज्ञहरूको दाबी छ । एआइबारे नेपालमा एक दशकदेखि अध्ययन गर्दै आएका नेचुरल लेंग्वेज प्रोसेसिङका प्रमुख अजयमणी गौतम एआईले गर्ने सबै काम सही नहुने धारणा राख्छन् । एआईले अंग्रेजी वा अन्य भाषालाई राम्ररी बुझेपनि नेपाली भाषाको शब्द भण्डार नै प्रयाप्त नभएकाले उसले सोधेको सबै कुरा भन्न नसक्ने उनी बताउँछन् । ‘सहयोग एआईको लिए पनि दिमाग आफ्नो लगाउनुपर्छ, नेपाली भाषा प्रविधिमा लैजान डिजिटल्ली शब्दको भण्डार बनिसकेको छैन,’ उनी भन्छन्, ‘एआईले दिएको सबै सूचना सत्य हुँदैन ।’ एआइले रिर्पोटरलाई राम्रो रिपोर्ट तयार पार्नमा भने सघाउ पुग्ने विज्ञहरू बताउँछन् । ‘एआईलाई अनुवादमा प्रयोग गर्न सकिन्छ, लामो रिपोर्टलाई सारांशमा लेख्न सहयोग पुग्छ । तर, पूर्ण रूपमा विश्वस्त भने हुनु हुँदैन,’ उनले भने । एआईले ड्राइभरबिनाको कार बनाइसकेको छ भने एआईकै कारण पाइलटबिनै जहाज उड्ने प्रविधिको विकास समेत भइसकेका समाचार सुनिन्छन् । यी सबै उपलब्धि सूचना प्रविधि र कम्प्युटर विज्ञानको पछिल्लो चमत्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङका कारण सम्भव भएका हुन् । एआइसँगै च्याट जीपीटी प्रयोग गर्नेको संख्या पनि बढेको छ । च्याट जीपीटीको मुख्य उद्देश्य गुगलसर्चबाट इन्जिनलाई विस्थापित गर्दै सर्च इन्जिन हिस्सा लिने हो । यसको असर मिडिया र सोसल मिडियामा पर्छ । एआई र च्याट जीपीटीकै कारण नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको जागिर पनि जोखिममा रहेको बुझाइ धेरैको छ । तर, तत्काल नेपाली मिडियाले पत्रकारहरूलाई नै रिप्लेस हुने गरी काम गर्न नसक्ने धारणा जानकारहरूको छ ।