साढे ६ अर्ब नाफा गरेको नेपाल टेलिकमको जगेडा कोष पौने १ खर्ब पुग्यो

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा साढे ६ अर्ब बढी नाफा गरेको छ । गत असारसम्म कम्पनीको खुद नाफा १६.४४ प्रतिशत घटेर ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेर ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब २७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेर ६ अर्ब ४८ करोड ९१ लख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७७ करोड ९२ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६.३२ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.२४ रुपैयाँ घटेर ३६.७७ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष पौने १ खर्ब पुगेको छ । अघिल्लो वर्ष ७५ अर्ब ९४ करोड ५० लाख रुपैयाँ जगेडा कोष १ प्रतिशत बढेर ७६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।

एनसेल प्रयोगकर्ताले रोमिङमा एसएमएस अलर्ट र ओटीपी पाउने

काठमाडौं । एनसेल सिम प्रयोगकर्ताले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने सूचनाहरू मोबाइलमा प्राप्त गर्न सक्ने भएका छन् । यसरी प्राप्त गरिने वा पठाइने सूचनाले विशेष गरी केवाईसीमा मोबाइल नम्बर चाहिने र नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधा बारेमा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायलाई ठूलो महत्त्व पुग्ने कम्पनीले जनाएको छ । विविध डिजिटल सेवाको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकले एप्लिकेसन टू पर्सन (एटूपी) म्यासेजहरू जस्तै : ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस्ता ओटीपी, एसएमएस र नोटिफिकेसनहरू सरकारी, अर्ध–सरकारी, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्था, गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् । ‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन, हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । मोहसिनले कम्पनीका कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या नरहेको बताए । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक भएको भन्दै उनले यसबाट ग्राहकहरू सधैं अन रहेको देखाउने बताए । ‘सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्या देखिएका थिए । ती समस्याहरू द्रुत गतीमा समाधान भइसकेका छन्,’ उनले भने । एनसेल नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता सूचना प्राप्त गर्न योग्य रहेको उनले बताए । एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

उत्तरी गोरखाको विकट र दुर्गम स्थानहरूमा टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी कम्पनीले भोइस तथा डेटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको हो । जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विही, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूइला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले टुजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको फोरजी सेवासमेत सञ्चालन गरेको जनाएको छ । ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरूमा VSAT प्रविधिलाई Microwave Transmission Link ले प्रतिस्थापन गरी टुजी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा फाेरजी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टुजी तथा फाेरजी मोबाइल सेवा सञ्चालन गरिएको छ कम्पनीले जनाएको छ । भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको रहेको छ ।