भीपीएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ : प्रहरी
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भीपीएन, डीएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भीपीएन, डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याइ चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ । यस्तै विद्युतीयस्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ । रासस
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड
काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स)कोड सार्वजनिक गरिएको बताए । “विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो”, प्रहरी नायब महानिरीक्षक ढकालले भने, “यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए÷नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।” ‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत २ लाख २७ हजार ४२४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तक्र्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । उनले भने, “अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन् । उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन ।” उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उनको भनाइ थियो । त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रहरी नायब महानिरीक्षक ढकालले बताए । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए ३ दिनभित्र र साधारण खालको भए ५ दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ । क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तक्र्रियात्मक गस्तीबाट ७ हजार २६२, यात्रुमैत्री अभियानबाट २ लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट १ हजार ५६५ जना लाभान्वित भएका छन् ।
टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’, के–के छन् सुविधा ?
काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो । नेपालमै बनेको यस एपलाई नेपाली प्रयोगकर्ताहरूले रुचाउने अपेक्षा कम्पनीको छ । टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ । सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उत्तम एप बन्न सक्छ । यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानूनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्नेमा प्रतिबद्ध भएको प्रेस नोटमा उल्लेख छ । पछिल्लो समय लोकप्रिय बनेको अन्य सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताउँदै आएको छ । सामाजिक सद्भावमा असर पुर्याउने सामाग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्ने देखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत गरिनेछ । नेपाल सरकारको प्रचलित कानुनलाई सम्मान गर्दै आवस्यक सन्दर्भमा नेपाल सरकारका सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहयोग गरिने कम्पनीले जनाएको छ । ‘साथै नागरिकको व्यक्तिगत तथा गोप्य विवरणहरूको सुरक्षाका लागि हामी अत्यन्तै जिम्मेवार छौं’, प्रेसनोटमा भनिएको छ । नेपालमै बनेको यस्तो एपले सफलता पाएमा भविष्यमा अन्य मुलुकका सामाजिक सञ्जाल प्रयोग र गरिने विज्ञापनबाट नेपाली रकम बाहिरिने क्रम न्यूनीकरण हुन सक्ने सम्भावना समेत रहन्छ । यसबाहेक नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्नेछन् । प्रयोगकर्ताहरूको सुझावका आधारमा कम्पनीले यस एपलाई विकास गर्दै लैजाने जनाएको छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्नेछन् । यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।