टेक्नो नेपालको ब्राण्ड एम्बेसडरमा क्रिकेटर आरिफ र आसिफ शेख
काठमाडौं । मोबाइल ब्राण्ड टेक्नोले नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो बाण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरूलाई बाण्ड एम्बेसडर घोषणा गरेको हो । एम्बेसडर घोषणा भएपछि आरिफ र आसिफ दुवैले आफू टेक्नोसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । आरिफले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरूको ब्राण्डको स्टप एट नथिङसँग मेल खाने बताए । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरूको ब्राण्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने विश्वास लिएको उनले बताए । टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले टेक्नोको नवप्रवर्द्धनप्रतिको समर्पण र जोशसँगै यस सहकार्यले आफूहरूलाई युवा पुस्तासँग जोडिन मद्दत गर्ने बताए । टेक्नो नेपालका सबै जिल्लामा आफूहरूको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गर्दै टेक्नो नेपालको पाँचौ शीर्ष ब्राण्ड भएको बताए । टेक्नोको नेपालभरिका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको बताउँदै कम्पनीले सय दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एकमात्र ब्राण्ड भएको बताएको छ । साथै, कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्राण्ड हो । टेक्नो मोबाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिस र बौद्धिक उत्पादनहरूसँगै टेक्नोले विश्वभरिका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यका लागि निरन्तर अग्रसर रहन प्रेरित गर्दछ भनेको छ ।
गुगल प्ले स्टोरमा पुनः फर्कियो इसेवा एप
काठमाडौं । केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुनः उपलब्ध भएको छ । कम्पनीका अनुसार विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउका लागि नयाँ नीति जारी गरेको छ । उक्त नीतिअनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ। इसेवा अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समयअगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो । इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो । गत २८ वैशाख २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो । गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ । नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थायी समयको लागि अनुपलब्ध गराएको थियो । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसकेको छ । कुनै पनि एपको विवरण परिवर्तन हुँदा गुगल अन्तर्गत पूरा गर्नुपर्ने प्रक्रियाहरू सम्पन्न गर्दा अस्थायी रूपमा आउन सक्ने यो एक सामान्य प्रक्रिया मात्र हो । यसै अन्तर्गत इसेवा पनि गुगल र डुन्सको कार्य प्रक्रिया भइरहदा गुगल प्ले स्टोरमा अनुपलब्ध रहेको थियो । कम्पनीले यो कुनै सुरक्षा कमजोरी वा सुरक्षासम्बन्धी समस्याले नभएको स्पष्ट पारेको छ ।
प्लेस्टोरमा नदेखिने भयो इसेवा
काठमाडौं । डिजिटल वालेट इसेवाको एप्लिकेशन गुगल प्लेस्टोरमा नदेखिने भएको छ । अनलाइन डिजिटल भुक्तानी वालेट सेवा कम्पनी इसेवा प्रालिको इसेवा एप्लिकेशन प्लेस्टोरमा डाउनलोड गर्न नमिल्ने भएको हो । केही समयअघिसम्म सामान्य रूपमा चलिरहेको इसेवा एप अचानक प्लेस्टोरमा नदेखिने भएको हो । तर, इसेवाले भने कम्पनी लिमिटेमा परिणत भएपछि विवरण थप गर्दा प्लेस्टोरबाट हटेको जनाएको छ । इसेवा प्रालि इसेवा लिमिटेडमा परिणत भएको र त्यससँग सम्बन्धित विवरण स्टोरमा अपडेट गर्नुपर्ने भएकाले डाउनलोड गर्न नमिल्ने भएको कम्पनीले जनाएको छ । प्लेस्टोरमा डाउनलोड गर्नका लागि २४ घण्टाको समय लाग्ने कम्पनीको भनाइ छ । तर, हाल डाउनलोड गरी सञ्चालनमा रहेका एपमा भने कुनै असर नपर्ने इसेवाले जनाएको छ । ‘इसेवा लिमिटेडमा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डाटा यूनिभर्सल नम्बिरिङ सिस्टम (डीयूएनएस)मा अपडेट गर्ने क्रममा छ । त्यसकारण इसेवा एप अस्थाई रुपमा प्लेस्टोरमा उपलब्ध नभएको हो । तर, अहिले डाउनलोड भैसकेको इसेवा एपहरूलाई केहि असर पर्दैन,’ इसेवाले एक सूचनामा भनेको छ ।