विदेशी मुद्राको सटही रोकिँदा जटिल मोडमा इन्टरनेट सेवा उद्योग
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले विदेशी मुद्राको सटही रोकिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले सो बताएको हो । भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बद्ध व्यवसायी मारमा परेका महासंघले बताएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न नपाएको महासंघको गुनासो छ । यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने बताइएको छ । मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने समेत महासंघको भनाई छ । ‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ,’ क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले भने । ‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन,’ क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारी भने । नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै रहेको बताउँदै क्यान महासंघले सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको छ ।
एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने
काठमाडौं । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने भएको छ । कम्पनीका अनुसार एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँवा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटाले मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ । यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ । बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने कम्पनीले जनाएको छ । यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याईएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
टेलिकमको विन्टर अफर पुस २७ गतेदेखि लागू हुने
काठमाडौं । नेपाल टेलिकमले पुस २७ गतेदेखि लागू हुने गरि विन्टर अफर २०८० ल्याएको छ । टेलिकमले यो अफरअन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो । यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई थप आकर्षक बनाउँदै टेलिकमले १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध गराउने भएको छ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने टेलिकमले जानकारी गराएको छ । स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन-नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ । विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।