यु-१९ महिला टि-२० विश्वकपमा बुधबार अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड दुई अङ्कसहित तेस्रो र कुवेत शून्य अङ्कसहित तालिकाको अन्तिममा छ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ ।

यु-१९ महिला टि-२० विश्वकप : नेपालले आज कुवेतको सामना गर्दै

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे खेल सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाचौँ खेल हो । नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ, भने एक खेलमा पराजित भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा आइतबार थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ ।

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

भैरहवा । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । बिजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २९ टिमबिच भएको तिनदिने प्रतियोगिताको अन्तिमदिन आज १६ टिमबिच क्वाटर, सेमी र फाईनल खेल भएको थियो । यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ । उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरे । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले खेलको उद्धाटन गरेका थिए ।