लुम्बिनी फाइनलमा प्रवेश, विराटनगर ४० रनले पराजित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगर किंग्सलाईलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।  अघिल्लो सिजनको पुछारमा रहेको लुम्बिनीले यसपटक उपाधि जित्ने सपना नजिक पुगेको हो । यो जितसँगै लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँगको रोमाञ्चक भेट पक्का गरेको छ । एनपीएलको ‘ग्रान्ड फिनाले’ शनिबार हुनेछ । लुम्बिनीको लोभलाग्दो ‘कम्ब्याक’ लुम्बिनी लायन्सको फाइनल यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। पहिलो सिजनमा अंक तालिकाको सबैभन्दा पुछारमा रहेर लिग सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने गजबको पुनरागमन गरेको छ । एलिमिनेटरमा बलियो मानिएको काठमाडौं गोर्खाजलाई ४ विकेटले पाखा लगाएर आएको लुम्बिनीले दोस्रो क्वालिफायरमा पनि आफ्नो लय कायमै राख्दै ऐतिहासिक फाइनल स्थान सुरक्षित गर्यो । लिग चरणमा शानदार प्रदर्शन गरेको विराटनगर किंग्सका लागि भने ‘प्लेअफ’ दुर्भाग्यपूर्ण साबित भयो । लगातार दुईवटा क्वालिफायर खेल्ने मौका पाउँदा पनि विराटनगरले त्यसलाई सदुपयोग गर्न सकेन । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको फराकिलो हार बेहोरेको विराटनगरले दोस्रो मौका (क्वालिफायर-२) मा पनि लय समात्न सकेन। लिग चरणको उत्कृष्ट प्रदर्शनलाई नकआउट चरणमा निरन्तरता दिन नसक्दा विराटनगर उपाधि नजिक पुगेर पनि बाहिरिन बाध्य भयो । अब शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने-सामने हुनेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमै विराटनगरलाई हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । गत सिजनको पुछारको टोली लुम्बिनी र लगातार फाइनल पुगेको सुदूरपश्चिमबीचको उपाधि भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै, विजयी हुने टोली फाइनलमा पुग्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपरान्ह ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।  लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।  आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७  गते हुनेछ ।

इलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै, जित्नेले विराटनगर किङ्ससँग खेल्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज अपरान्ह ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो ।  आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।