एनपिएल : चितवनले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबार काठमाडौं गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौं गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ । चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौंको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् । आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

एनपिएल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ । काठमाडौं गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु-१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् । त्यसैगरी काठमाडौं गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् । चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन् । त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् । यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ । कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् । कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन् । धवनलाई टोलीलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सको खेल हेर्न क्रिकेटप्रेमीहरु उत्साहित छन् ।

एनपीएल अर्थतन्त्र : ८ टिमका एक दर्जन मालिक, कुनको व्यवसाय के ?

काठमाडौं । महाकुम्भका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपीएल) कर्पोरेट क्षेत्रका लागि पनि प्रतिस्पर्धाको क्षेत्र बनेको छ । विगतका दिनमा अन्य व्यापार व्यवसायमा प्रतिस्पर्धा गर्ने व्यवसायीहरूको लगानीको क्षेत्र अब एनपीएल पनि बनेको छ । अहिले विभिन्न व्यवसायीहरूले एनपीएलमा टिम र खेलाडी खरिद गर्नका लागि लाखौं/करोडौं खर्चिरहेका छन् । टिम तथा खेलाडी किन्न र प्रायोजन गर्नका लागि अहिले व्यवसायीबीच प्रतिस्पर्धा चलिरहेको छ । शनिबादेखि सुरु भएको एनपीएलको ८ वटा टिम खरिद गर्नका लागि विभिन्न व्यवसायीले कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ खर्च गरेका छन् । एउटा टिम किन्न टिम मालिकले साढे ३ करोडभन्दा धेरै खर्च गरेको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको छ । यस्तै, काठमाडौं गुर्खाजलाई कान्तिपुर पब्लिकेसन्सले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ, जनकपुर बोल्टलाई ड्रिम स्पोर्टस् प्रालिले दुई करोड पाँच लाख,  लुम्बिनी लायन्सलाई फरच्युना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख चार रुपैयाँ, चितवन राइनोजका लागि चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार र सुदूरपश्चिम रोयल्सलाई इम्पाइर स्पोर्टस् म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा खरिद गरेको थियो । यस्तै, विराटनगर किंग्सलाई एमएडी ड्रिम्स स्पोर्टस् प्रालिले एक करोड ५१ लाख र कर्णाली याक्सलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले एक करोड ११ लाख ७० हजारमा किनेको थियो । ८ टिमले अक्सनबाट ८० खेलाडीका लागि पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । मार्की खेलाडीले २० लाख पाउँदा ‘ए’ श्रेणीले १० देखि १५ लाखसम्म पाएका छन् । बी श्रेणीका खेलाडीले ५ देखि १० लाख रुपैयाँसम्म पाए भने सी श्रेणीका खेलाडीले २ देखि ५ लाख रुपैयाँसम्म पाए । एउटा टिमले खेलाडी खरिदमा अधिकतम् १५ करोड रुपैयाँसम्म खर्च गरेको बुझिएको छ । अहिले क्रिकेटप्रेमीहरूको मात्रै होइन, समग्र देशभरकै आँखा कीर्तिपुर क्रिकेट मैदानतिर केन्द्रित छ । ८ वटा क्रिकेट टिमका मालिकले आफ्नो पक्षमा नतिजा पार्नका लागि करोडौं खर्च गरिरहेका छन् । आज हामीले ८ वटा टिम खरिद गरेका व्यवसायी के कस्तो व्यवसायमा संलग्न छन् भनेर यो सामग्री तयार गरेका छौं । काठमाडौं गोर्खाज काठमाडौं गोर्खाजका टिम मालिकमा कैलाश सिरोहिया, उपेन्द्र महतो र अरुणकुमार सराफ हुन् । नेपाल स्पोर्ट्स डेभलपमेण्ट भेन्चर प्रालि कम्पनीले यो टिम किनेको हो । सिरोहिया सञ्चार उद्यमी हुन् । उनी कान्तिपुर पब्लिकेशनका मालिक हुन् । उनको अन्य थुप्रै क्षेत्रमा पनि लगानी छ । यसैगरी, एनआरएनका पूर्वअध्यक्ष महतो मेडिसिटी अस्पतालका सञ्चालक हुन् । यसबाहेक पनि महतोको अन्य थुप्रै क्षेत्रमा लगानी छ । सराफ पनि होटल व्यवसायी हुन् । उनी काठमाडौं दरबारमार्गमा रहेको याक एन्ड यति होटलका मालिक हुन् । हस्पिटालिटी व्यवसायमा निकै ठूलो प्रभाव राख्ने उनको लगानीमा अरू पनि थुप्रै होटल रहेका छन् । पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स नेपाल टी-ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको हो । यसको टिम मालिक सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ हुन् । त्रिपाठी पोखरा एभेन्जर्सका अध्यक्ष हुन् । उनी पनि व्यवसायी नै हुन् । उनी समाजसेवी तथा अभियन्ता भनेर पनि चिनिन्छन् । चितवन राइनोज चितवन मेडिकल कलेजले किनेको टिम चितवन राइनोज हो, जसका मालिक हरिशचन्द्र न्यौपान र आयुश न्यौपाने हुन् । न्यौपाने चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । उनी अन्य व्यवसायमा पनि आवद्ध छन् । विराटनगर किंग्स विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन् । कम्पनीको नाम एमएडी ड्रीम्स हो । उनी विराटनगरका उद्योगी हुन् । नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका लुनियाँले खेलकुद क्षेत्रबाट नेपाल र नेपालीको गौरवलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान गरेका छन् । उद्योगी लुनियाँ उद्योग संगठन, मोरङका कार्यकारिणी सदस्य र महालक्ष्मी केवल प्रालिका प्रबन्ध निर्देशक हुन् । लुम्बिनी लायन्स लुम्बिनी लायन्सका टिम ईश्वर जीसीले फर्चुन हेल्थ केयर कम्पनीको नाममा टिम किनेका हुन् । लुम्बिनी लायन्सका जिसी पनि व्यवसायी हुन् । उनको मेडिकल उत्पादन हस्पिटालिटी तथा सेवामूलक संस्थाहरूमा लगानी छ । एक्सपर्ट एजुकेशन सेन्टर जिसी लुम्बिनी लायन्स क्लबसँगै सामाजिकको क्षेत्रमा पनि सक्रिय छन् । जनकपुर बोल्ट्स ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन् । उनी पनि उद्योगी नै हुन् । उनको विशाल सिमेन्ट कम्पनी छ । उनी पनि व्यापार र उद्योग क्षेत्रमा सक्रिय छन् । कर्णाली याक्स हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका मालिक झनकदत्त खनाल र गृहेन्द्र घिमिरे हुन् । कर्णाली याक्सका मालिक खनाल र घिमिरे पनि व्यवसायी हुन् । उनीहरूको कम्पनी हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स हो । खनाल निर्माण व्यवसायसँगै फिल्म उद्योगमा पनि संलग्न छन् । घिमिरे भने मनोरञ्जन क्षेत्रका उद्यमी हुन् । सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन् । शाह अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघको संस्थापक अध्यक्षसमेत हुन् । हाल उनकै नेतृत्वमा सुदूरपश्चिमको धनगढीमा पाँचतारे होटल निर्माणको काम भइरहेको छ । उनी दुई दशक लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । उनले अस्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । ८ वटा फ्रेञ्चाइज टोलीबाट पैसा उठाएर क्यानले पौने १७ करोड रुपैयाँ आम्दानी गरेको छ । ब्रान्ड डिजिटल लजिक प्रालिलाई एनपीएलको कमर्सियल राइट्सको अधिकार बेच्दा क्यानले ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । टिकट बिक्रीबाट प्राप्त हुने रकम पनि क्यानको आम्दानी हुनेछ तर त्यसको ५० प्रतिशत रकम ८ वटा फ्रेञ्चाइज टोलीलाइ बाँड्नु पर्नेछ । सम्बन्धित सामग्री : अर्बको एनपीएल, खेलाडीसँगै व्यवसायीबीच पनि ‘ब्याटल’ एनपीएल : क्रिकेटमा छिरे ठूला व्यवसायी, सुस्ताएकाे अर्थतन्त्र चलायमान हुने विश्वास