कारवाहीमा परे क्रिकेटर करण केसी
काठमाडौं । अम्पायरहरूविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई कारबाही गरेको छ । जारी ‘प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२’ का क्रममा अम्पायरहरूको भूमिकालाई लिएर सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै क्यानले उनलाई प्रतिबन्ध र जरिवाना सुनाएको हो । करण केसीले जारी प्रधानमन्त्री कपको आगामी एक खेल खेल्न पाउने छैनन् । त्यसैगरी, उनलाई उक्त खेलबापत प्राप्त हुने म्याच शुल्कमा शतप्रतिशत जरिवाना गरिएको छ । क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, खेलाडी करण केसीले अम्पायरहरू प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गरिएको छ। सोही कारण सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयमा उनलाई कारबाही गर्ने निर्णय गरिएको हो ।’ मैदान बाहिर र विशेष गरी सामाजिक सञ्जालमा गरिने टिप्पणीले खेलको मर्यादामा आँच पुग्ने भन्दै क्यानले यो कदम चालेको बुझिएको छ ।
क्रिकेटको प्रसारण अधिकारका लागि बोलपत्र आह्वान, १० हजार शुल्क तोकियो
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूको व्यावसायिक, उत्पादन तथा प्रसारण अधिकार बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । संघले शुक्रबार (आज) एक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य बोलपत्रदाताहरूबाट आवेदन माग गरेको हो । क्यानका विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरूको व्यावसायिक प्रवर्द्धन, भिडियो उत्पादन र प्रत्यक्ष प्रसारण अधिकार तथा यो बोलपत्र सिंगल स्टेज सिंगल एभलप प्रक्रिया अन्तर्गत छनोट गरिने सूचनामा उल्लेख छ । इच्छुक बोलपत्रदाताहरूले काठमाडौंको मुलपानी- ६ स्थित नेपाल क्रिकेट संघको कार्यालयबाट थप जानकारी लिन सक्नेछन् । पछिल्लो समय नेपाली क्रिकेटको बढ्दो क्रेज र अन्तर्राष्ट्रिय सहभागितासँगै क्यानले आफ्ना प्रतियोगिताहरूलाई थप व्यावसायिक बनाउन र गुणस्तरीय प्रसारण सुनिश्चित गर्न यो कदम चालेको हो । बोलपत्र खरिद र दर्ता सम्बन्धी विस्तृत सर्तहरू आधिकारिक बोलपत्र दस्ताबेजमा उपलब्ध गराइएको संघले जनाएको छ ।
एनपीएल दोस्रो संस्करणबाट क्यानले कमायो ४७ करोड ३६ लाख, खुद नाफा ९ करोड २१ लाख
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सोमबार क्यानले दोस्रो संस्करणको एनपीएलमार्फत ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ । एनपीएल दोस्रो संस्करणमार्फत क्यानको खुद आम्दानी भने ९ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सञ्चालन गर्न २१ करोड ९७ लाख ५ हजार रुपैयाँ खर्च भएको क्यानको आय(व्यय विवरणमा उल्लेख छ । क्यानले आम्दानीको ५० प्रतिशत रकम ८ फ्रेन्चाइ टिमसँग पनि वितरण गर्ने गर्छ । जसअन्तर्गत १६ करोड १८ लाख ७३ हजार रुपैयाँ ८ फ्रेन्चाइलाई दिएको छ । आम्दानी बाढ्नु अघि क्यानको खुद आम्दानी २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको जनाइएको छ ।