पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै, ६ हजार दर्शक क्षमता
काठमाडौं । हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाख रुपैयाँमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपक लामाले जानकारी दिए । त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए । क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए । गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा-६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गरेका थिए । क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उनले बताए ।
दीपेन्द्रसिंह ऐरीलाई अर्को लाभ, बन्ने भए ओमोडाको ब्रान्ड एम्बेस्डर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् । ऐरीलाई ओमोडाको ब्रान्ड एम्बेस्डर बनाउन लागिएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको ब्रान्डका लागि नेपालकाे आधिकारिक बिक्रेता रहेको छ । सोही दिन नै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिने पनि कार्यक्रम रहेको छ । साथै उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । दीपेन्द्रले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपाल भलिबल लिगको मुख्य प्रायोजक केडिया ग्रुप
काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल)ले आगामी फागुनमा आयोजना गर्ने नेपाल भलिबल लिग २०२४ को मुख्य प्रायोजकको रूपमा केडिया ग्रुप आवद्ध भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गरी केडिया ग्रुपले नेपाल भलिबल लिगको मुख्य प्रायोजकका लागि एनभीएलसँग सहकार्य गरेको हो । खेलमा ७ टिम रहनेछन् । प्रत्येक टिममा नेपाली खेलाडी ९/९ जना र ३/३ जना विदेशी खेलाडी रहनेछ्न् । कुल १५ लिग खेल र एउटा फाइनल गरी १६ वटा खेल खेलाइने आयोजकले जनाएको छ । खेल ९ दिनसम्म चल्नेछ । यसैगरी, कार्यक्रममा १५ जना भलिबल खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल भलिबल लिग २०२४ को लोगो अनावरण गरे । यस्तै, मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । यो स्लोगनको अर्थ नेपालको सबै ठाउँमा खेलिने खेल भलिबललाई झन् व्यवस्थित तथा व्यावसायिक बनाइ नयाँ स्थान स्थापित गर्नु हो। केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ उचाइको उडान स्लोगन राखिएको बताए । कार्यक्रममा केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमारले आउने दिनमा कभर्डहल निर्माणका लागि सबै मिलेर सरकारलाई पहल गर्नुपर्ने बताए । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ ।सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ । बिमल केडिया । लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले बेहोर्ने जनाइएको छ । प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा हुनेछ भने अन्य संस्करणहरू होम एन्ड अवेका आधारमा अन्य सहरहरूमा खेलाइने संघको योजना छ । कार्यक्रममा नेपाल खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायत पनि सहभागी थिए ।