काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै प्रतिस्पर्धात्मक खेलमा इक्वेडर र क्युरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
कान्सास सिटी स्टेडियममा भएको उक्त खेलमा क्युरासाओका गोलकिपर एलोय रुम नायक बन्दा बलियो टोली इक्वेडर स्तब्ध बनेको हो ।
पहिलो खेलमा आइभोरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडर र जर्मनीसँग ७–१ को भारी अन्तरले पराजित भएको क्युरासाओ दुवैका लागि नकआउट चरणको यात्रा जीवित राख्न यो खेल जित्नैपर्ने दबाब थियो ।
इक्वेडरले खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण जमाउँदै लगातार आक्रमण बुनेको थियो । कप्तान एनेर भ्यालेन्सिया, गोन्जालो प्लाटा र जोन येबोआको प्रहारलाई क्युरासाओको रक्षापंक्ति र गोलकिपरले असफल तुल्याइदिए ।
क्युरासाओका गोलकिपर एलाय रुमले खेलभरि कुल १२ वटा उत्कृष्ट बचाउ गर्दै इक्वेडरलाई गोल गर्नबाट पूर्ण रूपमा बञ्चित गरे।
इक्वेडरको अभागी प्रहारस् दोस्रो हाफको अन्तिम समयतिर मोइसेस काइसेडोलाई लक्षित गरी गरिएको एउटा क्रस गोलपोस्टको बारमा लागेर बाहिरिँदा इक्वेडर अग्रता लिनबाट चुकेको थियो ।
क्युरासाओको काउन्टर अट्याकस् रक्षात्मक रणनीति अपनाएको क्युरासाओले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । जुनिन्हो बाकुना र जुर्गेन लोकाडियाको प्रहारलाई इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलभरि रेफ्रीले क्युरासाओका ५ जना खेलाडी (लेआन्द्रो बाकुना, जुनिन्हो बाकुना, लिभानो कोमेनेन्सिया, जुरिएन गारी र गेर्भाने कास्तानेर) लाई पहेँलो कार्ड देखाएका थिए भने इक्वेडरका जोर्डील्सिभारले पनि पहेँलो कार्ड पाएका थिए ।
यो बराबरीसँगै दुवै टोलीले विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोडेका छन् । यद्यपि, अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउन अब दुवै टोलीले समूह चरणको अन्तिम खेलमा गर या मरको अवस्थामा मैदान उत्रनुपर्नेछ ।