काठमाडौं । चारपटकको विश्व च्याम्पियन जर्मनीले एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम १६ को टिकट काटेको हो ।
खेलको सुरुआतमा जर्मनीले कडा चुनौतीको सामना गर्नुपर्यो । खेलको ३०औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्राङ्क केस्सीले उत्कृष्ट गोल गर्दै अफ्रिकी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको जर्मनीले खेलमा फर्कन लामो समयसम्म निकै संघर्ष गर्नुपर्यो । आइभरी कोस्टको बलियो रक्षापंक्ति तोड्न जर्मनीलाई हम्मेहम्मे परेको थियो ।
दोस्रो हाफमा जर्मनीले आफ्नो खेल रणनीतिमा सुधार गर्यो । खेलको ६८औं मिनेटमा डेनिज उन्डाभले एक आकर्षक फिनिसिङ गर्दै जर्मनीलाई १-१ को बराबरीमा फर्काए ।
त्यसपछि खेल बराबरीमै सकिने र दुवै टोलीले अंक बाँड्ने संकेत देखिइरहेको थियो । तर, निर्धारित ९० मिनेटपछिको थप गरिएको ६ मिनेटको इन्जुरी समय जर्मनीका लागि भाग्यशाली सावित भयो ।
इन्जुरी समयको चौथो मिनेटमा उन्डाभले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै जर्मनीलाई २-१ को रोमाञ्चक जित दिलाए ।
समूह चरणको अन्तिम खेल खेल्नु अगावै जर्मनीले नकआउट चरणमा स्थान पक्का गरेर आफ्नो दावेदारी बलियो बनाएको छ ।
जर्मनीसँग पराजित भए पनि आइभरी कोस्टको अर्को चरण पुग्ने सम्भावना अझै समाप्त भएको छैन । उसले आफ्नो अन्तिम खेलमा कुरासाओको सामना गर्नेछ । उक्त खेलमा अनुकूल नतिजा निकाल्न सकेमा आइभरी कोस्टको पनि शीर्ष ३२ मा पुग्ने सम्भावना कायमै रहनेछ।