साढे ५ करोडमा प्रशिक्षण केन्द्र सञ्चालन, लाहुरेमा भर्ती हुन पोखरा र बुटवल जानु नपर्ने

काठमाडौं । बागलुङमा ५ करोड ५० लाख रुपैयाँ लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र २ जना सिङ्गापुरे लाहुरेसहित ६ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बागलुङ नगरपालिका-४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् । प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवाहरुलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले जानकारी दिए । बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । जैमिनी नगरपालिका-३ दमेकका बेलायती सेनाका भुतपूर्व लाहुरे पुनले ३ वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको जानकारी दिए । डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सयजना युवाहरुलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ । ‘बागलुङ, म्याग्दी र पर्व क्षेत्रका धेरै युवाहरु लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रका कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरुले सञ्चालनमा ल्याएका हौँ, हालसम्म तालिम केन्द्रमा साढे पाँच करोड रुपैयाँ लगानी भइसकेको छ,’ उनले भने । १८ वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरु सिङ्गापुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्षपछिनै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताए । राना सिङ्गापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुन् । अहिले काठेखोला गाउँपालिका-८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रुपमा खटिएका छन् ।

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ । मंगलबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भूटान र बङ्गलादेशवीच पनि प्रतिस्पर्धा हुनेछ । विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलङ्का छन् । त्यसैगरी नेपालले आफनो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ । १३ तारिखमै हुने अर्को खेल माल्दिभ्स र भूटानबीच हुनेछ । उक्त प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ मा हुने

काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत्र २३ गते काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो । चैत्र २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा प्रतियोगिता हुने बताइएको छ । व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रष्स्पिर्धा गराउँदै देशको आर्थिक अभिवृद्धिका लागि वैचारिक बहसमा संलग्न गराउने उद्देश्यका साथ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिता यस वर्ष आठौं संस्करणमा प्रवेश गरेको जनाएको छ । गल्फ खेललाई समृद्धहरूको मनोरञ्जनको माध्यम मात्र नबनाएर यस खेलमा बढीभन्दा बढी व्यावसायिक व्यक्तित्वको प्रतिनिधित्व बढाउने र सोही समूहले देशका राजनीतिक, सामाजिक र नीतिगत नेतृत्व तहमा रहेकाहरूसँग अर्थतन्त्रको चिन्तन गर्ने ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ चैत २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी गरी करिव १ सय २० जना कर्पोरेट गल्फरको सहभागिता रहने बताइएको छ । भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । साथै नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ । काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगञ्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउने पनि आयोजकको विश्वास छ । कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुने र गल्फ प्रतियोगितालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।