डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, 'पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।' पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ । शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।
कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सवर्ग कोपनहेगन ट्रीप
काठमाडौं । कार्ल्सवर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा 'कार्ल्सवर्ग गल्फ क्लासिक' प्रतियोगिता सम्पन्न भएको छ । एकदिवसीय गल्फ प्रतियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् । प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । 'कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित काल्र्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए । त्यस्तै, ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते । त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै, सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ’ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले 'लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए । त्यसैगरी, मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कार्ल्सवर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
दशौं राष्ट्रिय खेलकुद अन्योलमा, खेलाडीलाई निराश बनाउँदै मन्त्री चौधरी
काठमाडौं । नेपाली खेलकुद विकासको मेरुदण्ड मानिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मन्त्री र राजनीतिक स्वार्थका कारण अन्योलमा परेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यबीचको राजनीतिक चलखेलले दशौं राष्ट्रिय खेलकुद आयोजनामा अड्चन आएको हो । सन् २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद नियमित अन्तरालमा आयोजना हुने लक्ष्य भए पनि राजनीतिक हस्तक्षेप र स्वार्थका कारण हालसम्म मात्र नौ संस्करण सम्पन्न भएका छन् । दशौं संस्करण गत मंसिरमै कर्णाली प्रदेशमा हुनुपर्ने भए पनि मन्त्री चौधरीको असक्षमताका कारण हालसम्म पनि आयोजना हुन सकेको छैन । गत चैत २८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले बिना पर्याप्त आधार दशौं राष्ट्रिय खेलकुद स्थगन गर्ने निर्णय गरेको थियो । बोर्डका बहुमत सदस्यले असहमति जनाए पनि मन्त्री चौधरीले कार्यक्रम रोक्ने निर्णय लिएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट सुनिश्चित भइसकेको अवस्थामा आयोजनामा अनावश्यक अवरोध ल्याउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले केही सीमित व्यक्तिको स्वार्थले राष्ट्रिय खेलकुद अन्योलमा परेको र यसले खेलाडी पलायनलाई प्रोत्साहन गर्ने चेतावनी दिए । यसैबीच, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पटक-पटक समयमै प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएको भए पनि मन्त्री चौधरीले कुनै ठोस कारणबिना खेलकुद स्थगन गरेका छन् । मन्त्री चौधरीले राष्ट्रिय खेलकुद स्थगनबारे प्रश्न गर्दा उपाध्यक्ष आचार्यको अनुगमन प्रतिवेदन र कर्णाली प्रदेशका मुख्यमन्त्रीको असहमतिको हवाला दिएका छन् । खेलकुद व्यवस्थापनको तयारी पूरा भइसकेको अवस्थामा बजेट विनियोजन, खेलाडी छनोट प्रक्रिया र समाग्री व्यवस्थापन पनि टुंगोमा पुगेको थियो । तर, मन्त्री चौधरीको नेतृत्वमा भएको निर्णयले राष्ट्रिय खेलकुद प्रतियोगितालाई गम्भीर संकटमा पारेको छ । पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन धमलाले मन्त्री चौधरीलाई नैराश्यता फैलाउने र खेलकुद विकासमा बाधा पुर्याउने आरोप लगाउँदै राजीनामाको माग गरेका छन् । यसैबीच, मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको भूमिका र निर्णयमाथि चौतर्फी आलोचना भइरहेको छ । खेलकुद क्षेत्रका जानकारहरूले अब तत्काल स्पष्ट योजना ल्याई राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न नगरे विकास र खेलाडीहरूको भविष्यमा गम्भीर क्षति पुग्ने चेतावनी दिएका छन् ।