भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् । बिहीबार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गरे । आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताए ।  प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा रंगशालाहरु अब साना भए । अहिलेका रंगशालाहरु साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउँदैछौँ । न्युनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन ।’ प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरुलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए । नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको जानकारी दिए ।     

खेलाडीहरू अब खेल खेलेरे बाँच्नसक्ने स्थिति निर्माण भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन् । बुधबार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  उनले नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको बताए । धेरै देशहरूमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा नेपालमा संगठित रुमपा खेल अघि बढेको धेरै समय नरहेको बताए । खेलाडीहरु अब खेल खेलेरे बाँच्न सकिन्छ भन्ने स्तरमा पुगेको बताए । पहिला व्यवसायिक खेलाडी वा सम्पूर्ण रुपमा खेलमै समर्पित खेलाडी हुनसक्ने स्थिति नरहेकोमा अहिले समर्पित खेलाडी हुनसक्ने परिस्थिति निर्माण भएको बताए । परिणामतः नेपालले सफलता हाँसिल गर्दै गएको जिकिर गरे ।  प्रधानमन्त्री ओलीले भने, ‘खेललाई अघि बढाउन थालेको धेरै भएको छैन । अरु धेरै देशहरुमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा हाम्रोमा संगठित रुमपा खेल अघि बढाएको थिएन । पछिल्लो समयमा बढाएपनि त्यसमा पर्याप्त ध्यान गएको थिएन । खेलकुद सुविधाको हिसावले पनि हामीसँग जम्मा एउटा दशरथ रंगशाला थियो, फुटबलका लागि, केही इण्डोर्स खेलहरुका लागि पनि । तर क्रिकेटले पछि आएपनि धेरै राम्रो सफलता प्राप्त गर्दै गएको छ ।’ प्रधानमन्त्री ओलीले गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्र्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरे । यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एशियन कबड्डी च्याम्पियन (महिला) मा काँस्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।  यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो । साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।   

प्रधानमन्त्रीबाट अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई प्रधानमन्त्री ओलीले नगद रु ६५ लाख पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे । यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) तर्फ कास्य पदक विजेता मनमती विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरे । सोही अवसरमा असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कामा भएको ‘काभा यु–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो । साथै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको ‘एसिसी यु–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको बताउँदै लगनशील भई व्यावसायिक हिसावले समर्पणभावका खेलजगतमा रमाउनसके सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । 'हामीले सङ्गठित रुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडी व्यावसायिक रुपमा अगाडि बढेका छन्', प्रधानमन्त्री ओलीले भने, 'म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षक लगायतलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।' युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षकोभन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुरमा निर्माण भइरहेको क्रिकेट खेल मैदानको काम करिब अन्तिम चरणमा पुगेसँगै मुलुकको खेलकुद क्षेत्र उत्साहित भएको बताए ।