दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्धयामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको तयारी थाल्न निर्देशन दिएका हुन् । उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए । छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।
स्ववियु आरआर क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने, विजेतालाई ३ लाख पुरस्कार
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले राष्ट्रियस्तरको अन्तरक्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ ‘आरआर स्ववियु कप-२०८२’ आयोजना गर्न लागिएको हो । आगामी भदौ २२ गतेदेखि सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ। भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता आरआर क्याम्पसकै प्राङ्गणमा आयोजना गरिने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए । अध्यक्ष खड्काले भलिबलको माध्यमबाट विद्यार्थीहरूबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘यो प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने अपेक्षा गरेका छौं । यसले विद्यार्थीमा नेतृत्व विकास र राष्ट्रिय एकताको सन्देश फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले थप जानकारीका लागि आयोजकलाई ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । अध्यक्ष खड्काले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अग्रसर गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहयोग गर्न अपिल गरेका छन् ।
स्ववियु आरआर क्याम्पसले भदौ २२ देखि भलिबल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔं’ भन्ने नारा सहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘आरआर स्ववियु कप-२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि सुरु हुने भएको हो। ६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता भदौ २२ देखि भदौ २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ । प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए । उनले भने, ‘भलिबलको माध्यमबाट विद्यार्थीबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवर्द्धन गर्ने उद्देश्य हाम्रो हो। यो प्रतियोगितामा देशभरबाट सहभागी हुने अपेक्षा गरेको छु।’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। देशका विभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मक प्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए। ‘विद्यार्थीहरूमा नेतृत्व विकास, सहकार्य भावना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले पनि प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’, उनले भने। आरआर स्ववियु कप-२०८२ का लागि सहभागी टोलीहरूलाई २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिन खोजेको भन्दै सबै क्याम्पसका विद्यार्थीहरूलाई सहभागिताका लागि आह्वान गरिएको स्ववियु अध्यक्ष खड्काले बताए।