एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि सुरु हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल २०२५ को दोस्रो सिजन नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने जनाएको छ । यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको क्यानले जनाएको छ । तर प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ ।

टप इण्ड टी २० : अस्ट्रेलियामा एनटी स्ट्राइक विरुद्ध भिड्दै नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौं । अस्ट्रेलियाको डार्विनस्थित डिएक्ससी एरिनामा शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिमले टप इण्ड टी २० मा आफ्नो पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपाल घरेलु टिम नर्दन टेरीटोरी स्ट्राइक विरुद्ध प्रतिस्पर्धामा उत्रिन लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । डेब्यू जितको लक्षसहित अष्ट्रेलियन टोलीसँग आमनेसामने हुँदै गरेको नेपाली टोली आईसीसी टी २० विश्वकप छनोटको तयारी स्वरूप प्रतियोगितामा सहभागिता भएको हो ।  यो प्रतियोगिता नेपालका लागि अस्ट्रेलियामा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय सिरिज हो । प्रतियोगितालाई आगामी टी २० विश्वकप क्वालिफायरको तयारीको रूपमा हेरिएको छ ।  उक्त सिरिजमा नेपालसहित पाकिस्तान शाहीन्स, बंगलादेश ए, अमेरिकी क्लब शिकागो किङ्ग्समेन र अष्ट्रेलियाका बिबिएल फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्दैछन् । नेपालले आजको खेलपछि १६ अगस्टमा बंगलादेश ए र १८ अगस्टमा मेलबर्न स्टार्स एकाडेमीसँग खेल्नेछ ।  कुल ६ खेलको राउन्डरबिन चरणपछि शीर्ष ४ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुवर्ड लले यसअघि नै रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए ।  नेपाली टोलीमा कप्तान पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र अहाब आलम रहेका छन् ।

अल्फा बिटा इन्स्टिच्युटले अन्तर-कलेज फुटसल प्रतियोगिता आयोजना गर्दै, १६ कलेजले भाग लिने

काठमाडौं । अल्फा बिटा इन्स्टिच्युटले भदौ ४ र ५ गते धुम्बाराहीस्थित सूर्य फुटसलमा अन्तर–कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलप्रेमी विद्यार्थीलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १६ कलेजका विद्यार्थी टोलीहरूको सहभागिता रहनेछ । आयोजकले विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । अल्फा बिटाका मार्केटिङ म्यानेजर स्वरुप तिम्सिनाका अनुसार प्रथम हुने टोलीलाई रु। ६० हजार र द्वितीय हुने टोलीलाई ३० हजार नगद पुरस्कार दिइनेछ । साथै, उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । तिम्सिनाले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए । उनले यसपटकको प्रतियोगिता भव्य र व्यवस्थित हुने उल्लेख गर्दै खेल तालिका तथा सहभागी विद्यालयहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिए । प्रतियोगिताको प्राविधिक पक्ष व्यवस्थित गर्न अनुभवी प्रशिक्षक, निर्णायक र रेफ्रीहरूको टोली खटाइनेछ । अल्फा बिटाको विश्वास छ कि यस्ता प्रतियोगिताले युवा पुस्तामा खेलप्रतिको रुचि बढाउने मात्र नभई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नेछ । साथै, अन्तर–कलेज फुटसल प्रतियोगिता विद्यालयहरूबीच आपसी समझदारी, सहकार्य, मित्रता, सम्मान र प्रतिस्पर्धात्मक भावना निर्माण गर्ने उत्कृष्ट अवसर पनि हो । यस प्रतियोगितामा सहभागी १६ कलेजमा डीएभी कलेज, युनिग्लोब कलेज, बुढानीलकण्ठ स्कुल, युलेन्स स्कुल, द ब्रिटिश इन्टरनेशनल कलेज, डियरवाक कलेज, स्वस्तीश्री गुरुकुल, कान्जिरोवा कलेज, काष्ठमण्डप स्कुल, प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल, काठमाडौं वर्ल्ड स्कुल, लिटिल एन्जल्स कलेज, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ट्रिनिटी इन्टरनेशनल कलेज, जेभियर इन्टरनेशनल कलेज र सीसीआरसी रहेका छन् ।