अर्बको एनपीएल, खेलाडीसँगै व्यवसायीबीच पनि ‘ब्याटल’
काठमाडौं । केही वर्षअघि मात्रै क्रिकेट खेल्नका लागि राम्रो ब्याट पाएनौं भनेर गुनासो गरिरहेका नेपाली खेलाडी आज सुविधासम्पन्न आफ्नै मैदानमा फ्रेन्चाइज खेल खेल्दैछन् । वर्षौंदेखि देशका लागि खेले पनि मासिक पारिश्रमिक नपाएको भन्दै चिन्ता व्यक्त गर्ने तिनै खेलाडी केही दिन मात्रै क्रिकेट खेलेर लाखौं कमाउँदैछन् । कुनै दिन राजनीतिक रजगजमा व्यस्त नेपाल क्रिकेट संघ (क्यान)ले इतिहासमै पहिलो पटक आफ्नो कमालको व्यवस्थापन विश्वसामु देखाउँदैछ । क्रिकेट हेर्नका लागि सुविधा भएन भनेर पानीमा पनि छाता ओडेर खेल हेर्ने क्रेजी प्रशंसकहरु सुविधासम्पन्न मैदानमा कुर्सीसहितको डिजिटल बोर्डमा स्कोर हेर्दै आजदेखि एनपीएलको हुटिङ गर्दै खेलको आनन्द लिनेछन् । कुनै बेला क्रिकेटको क्रेज थाहा नभएको कर्पोरेट क्षेत्र लाखौं÷करोडौं लगानी गर्न उत्साहित छ । यो माहोलमा नेपाली क्रिकेटले प्रवेश गरेकोे छ । धेरैले यसलाई इतिहास स्थापनाको प्रवेश द्वार भनेका छन् । कतिले एनपीएललाई महाकुभ्मको उपमा दिएका छन् । उपमा जे दिइए पनि नेपाली क्रिकेटले आजदेखि नयाँ अध्यायको सुरुवात भने पक्कै गरेको छ । खेलाडी खेल्न आँतुर छन्, दर्शकहरु खेल हेर्न उत्साहित छन्, कमेन्टेटरहरु जोर–जोरले कमेन्ट गर्न पर्खिरहेका छन् । सारा नेपालीमात्रै होइन, यतिखेर विश्वको ध्यान नेपाल प्रिमियर लिग (एनपीएल)मा छ । स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रसारण, टीयू मैदानमा विभिन्न खालका सेवा–सुविधा र विदेशी खेलाडीको आगमन लगायत कारणले एनपीएलप्रति धेरैको चासो बढेको छ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको खेलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आज पहिलो खेल बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । बिराटनगरका लागि सन्दिप लामिछाने र जनकपुरका लागि अनिल शाह कप्तान छन् । दुवै टिमले जित्ने लक्ष्यका साथ खेल्ने बताएका छन् । शुक्रबारको पत्रकार सम्मेलनमा बिराटनगरका कप्तान लामिछानेले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘हामी जितकै लागि खेल्नेछौं । मैदानमा उत्रेपछि जसले पनि जित्न नै चाहन्छ,’ उनले भनेका थिए । यस्तै, जनकपुरका कप्तान शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए । ‘हामीले जनकपुरमा मैदान नभएर काठमाडौंमा आएर मात्र तयारी ग¥यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी खेलाडी आएर टिम पनि राम्रो देखिएको छ,’ पत्रकार सम्मेलनमा उनले भने । ठूला स्टारले थप उत्साह नेपाली खेलाडीसँगै विदेशी स्टार खेलाडीले एनपीएलको गरिमा थप बढाएको छ । एनपीएलमा खेल्न ४० वटा विदेशी खेलाडी नेपाल आएका छन् । भारतका स्टार ब्याटर शिखर धवन, न्युजिल्याण्डका मार्टिल गप्टिल, जिम्मी निसम र बेन कटिङ जस्ता टी–२० का स्टार नामहरू एनपीएल खेल्न नेपाल आएका छन् । सुदूरपश्चिम रोयल्समा चार जना विदेशी खेलाडी छन भने कर्णाली याक्समा पनि चार, लुम्बिनी लायन्समा छ जना, पोखरामा पनि छ जना, चितवनमा पाँच, काठमाडौं गोर्खाजमा पाँच, जनकपुरमा छ जना र विराटनगरमा पाँच जना विदेशी खेलाडी छन् । विश्वकै स्टार खेलाडीहरू आएर खेल्दा अहिले नेपाली क्रिकेटका बारेमा विश्वको चासो र चर्चा पनि बढेको छ । भीआईपी टिकटदेखि डिजिटल बोर्ड क्रिकेट खेल हुने टीयू मैदानलाई यस पटक भव्य रुपमा सजाइएको छ । मैदानमा पहिलो पटक डिजिटल बोर्ड, भीआईपी टिकट तथा टिमका प्रशंसकहरुलाई फरक ठाउँ (फ्यान जोन)को व्यवस्था गरिएको छ । क्यानले यस पटक समर्थकहरूको सुविधालाई लक्षित गर्दै टीयू मैदानमा विभिन्न सुविधाहरू थप गरेको छ । दर्शकले भीआईपी टिकट काटेर राम्रो ठाउँमा बस्न पाउनेछन् । व्यवसायीबीच पनि ब्याटल अहिले एनपीएलमा प्रायोजक बन्नका लागि कर्पोरेट क्षेत्रबीच पनि प्रतिस्पर्धा चलेको छ । कर्पोरेट क्षेत्रका विभिन्न व्यवसायीले पनि लाखौं लगानी गरेर स्पोन्सर गरिरहेका छन् । एनपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक बनेको छ । बैंकले पाँच वर्षका लागि एनपीएलसँग समझदारी गरेको बुझिएको छ । यस्तै, ब्रोडकास्ट पार्टर्नर स्टार स्पोर्टस् बनेको छ भने पावर्ड बाई एनसेल बनेको छ । एनपीएलको अफिसियल टिकट पार्टर्नर खल्ती बनेको छ भने अफिसियल स्ट्रिमिङ पाटर्नर फ्यानकोड बनेको छ । एनपीएलको स्पार्टस् पाटर्नर ड्रिम ११ बनेको छ । स्पिकिङ स्माइल पाटर्नर ह्याप्पिडेन्ट बनेको छ भने बेभरेज पाटर्नर रेडबुल, स्मार्टफोन पाटर्नर भिभो र अम्पायर पाटर्नर नेपाल पे बनेको छ । विभिन्न टिमले पनि आफ्नो टिम प्रायोजक खोजेका छन् । सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक बनेको छ भने महिन्द्रा र अग्नी ग्रुप कर्णाली याक्सको मुख्य प्रायोजक बनेका छन् । यस्तै, विराटनगरको एभरेष्ट बैंक, जनकपुरको मुख्य प्रायोजक डिएनए इन्टरनेसनल, कागठमाडौं गोखार्जको बिवाईडी, चितवन राइनोजको ब्यू स्टार, लुम्बिनी लायन्सको रिलायन्स फाइनान्सले प्रायोजनको काम गरेको छ । आठ वटा टिमलाई हस्पिटालिटी, बीमा, ट्राभल लगायत पार्टनरको रुपमा पनि अन्य व्यावसायिक समूहहरु जोडिएका छन् । अधिकांश व्यवसायी एनपीएलमा जोडिएका छन् । उनीहरुले करोडौं लगानी गरेका छन् । अर्ब बढी खर्च यस पटक कर्पोरेट क्षेत्रको पृथक किसिमको आकर्षण एनपीएलमा देखिएको छ । मैदानमा खेलाडीको ब्याटल हुनेछ भने व्यावसायिक जगतमा ठूला व्यावसायिक घरानाबीच प्रायोजन गर्ने प्रतिस्पर्धा देखिएको छ । त्यो प्रतिस्पर्धा टिम र खेलाडी खरिद गर्नेदेखि अहिले प्रायोजन गर्नेसम्म प्रष्ट देखिन्छ । ८ वटा टिम किन्न विभिन्न व्यवसायीले कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ खर्च गरेका छन् । एउटा टिम किन्न टिम मालिकले ३ करोडसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको छ । यस्तै, काठमाडौं गुर्खाजलाई कान्तिपुर पब्लिकेसन्सले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ, जनकपुर बोल्टलाई ड्रिम स्पोर्टस् प्रालिले दुई करोड पाँच लाख, लुम्बिनी लायन्सलाई फरच्युना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख चार रुपैयाँ,चितवन राइनोजका लागि चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार र सुदूरपश्चिम रोयल्सलाई इम्पाइर स्पोर्टस् म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा खरिद गरेको थियो । यस्तै, विराटनगर किंग्सलाई एमएडी ड्रिम्स स्पोर्टस् प्रालिले एक करोड ५१ लाख र कर्णाली याक्सलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले एक करोड ११ लाख ७० हजारमा किनेको थियो । ८ टिमले अक्सनबाट ८० खेलाडीका लागि पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । मार्की खेलाडीले २० लाख पाउँदा ‘ए’ श्रेणीले १० देखि १५ लाखसम्म पाएका छन् । बी श्रेणीका खोडीले ५ देखि १० लाख रुपैयाँसम्म पाए भने सी श्रेणीका खेलाडीले २ देखि ५ लाख रुपैयाँसम्म पाए । एउटा टिमले खेलाडी खरिदमा अधिकतम् १५ करोड रुपैयाँसम्म खर्च गरेको बुझिएको छ । यति धेरै लगानी र खर्च भएको लिगमा पुरस्कार राशी पनि ठूलै छ । विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने५ । उत्कृष्ट नेपाली खेलाडीले ६२ लाखको कार पाउनेछन् । त्यसका लगि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता नै गरेको छ । सम्झौता अनुसार एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले लिग सकिएपछि ६२ लाख बराबरको ओमोडा ई-५ कार प्राप्त गर्नेछन् । फ्रेन्चाइज टिम किन्न नपाएका व्यावसायिक घराना अहिले प्रयोजन गरेर साथ दिइरहेका छन् । यसले एनपीएलमा थप उत्साह थपिएको छ । सम्बन्धित सामग्री : एनपीएल : क्रिकेटमा छिरे ठूला व्यवसायी, सुस्ताएकाे अर्थतन्त्र चलायमान हुने विश्वास
जनकपुरले टस जित्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्टसले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । यस्तै, न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् ।
एनपीएलको अफिसियल अम्पायर पार्टनर नेपाल पे, खड्का र प्रधानले गरे सम्झौता
काठमाडौं । नेपाल प्रिमियर लिग २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे, नेपालको आफ्नै क्यूआर बनेको छ । एनपीएल २०२४ को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे हुने गरी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको हो । क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको पहिलो क्रिकेट लिग एनपीएल आजदेखि टियूको क्रिकेट मैदानमा शुरु हुँदैछ । राष्ट्रिय स्तरको भुक्तानीका पूर्वाधारहरू प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको हो । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नृपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआरमा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।