ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : कांग्रेस महामन्त्री पौडेल

पाटन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।       नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुमबासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए । 'सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्' उनले भने ।      महामन्त्री पौडेलले सुकुमबासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमबासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।      कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी छ । ११ः०० बजे बोलाइएको बैठक दिउँसो १ः०० बजेदेखि सुरु भएको हो ।   

चट्याङका कारण एक घर खरानी, ६ सदस्यीय परिवार घरवारविहीन

काठमाडौं ।  गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा घरमा आगलागी भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट परियारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर जलेपछि परियारको ६ जनाको परिवार विस्थापित बनेको छ । उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।      घटनाको जानकारी पाएपछि प्रहरी चौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक हवल्दार हर्कबहादुर साउदको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको छ ।  घटनास्थल प्रहरी चौकी धुर्कोटबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ ।   

सुुकुम्बासी बस्तीमा बुवा-आमा खोजिरहेका सिम्सन

काठमाडौं । आँखा रसाएका छन्, जीउ निथ्रुक्क भिजेको छ । अनुहार मलिन भएको छ । सिम्सन राई सोध्छन्, ‘मेरो बुवा-आमा कहाँ जानु भयो ?’ जडिबुटीको मनोहराको किनारमा आइतबार बिहानैदेखि डोजर चलिरहेको छ । सयौं सुरक्षाकर्मीको सहयोगमा सरकारले मनोहराको सुकुम्बासी बस्तीका घर टहरा धमाधम भत्काउँदैछ । वर्षौंदेखि आफ्नै घर सम्झिएर बस्दै आएका सुकुम्बासीको टहरा एक्कासि डोजर चल्दा उनीहरुको मनमात्रै आत्तिएको छैन, अब के गर्ने होला भन्ने चिन्ताले पनि पिरोल्न थालेको छ ।  केहीले साना बालबच्चामा समातेर सुरक्षित ठाउँ खोजिरहेका छन् ।  केहीले घरबाट धमाधम सामान ओसारिरहेका छन् । त्यही भीडमा ८ वर्षीय सिम्सन राई बिहानैदेखि आफ्ना बाआमा खोज्दैछन् ।  सिम्सन बिहानैदेखि आफ्ना बुबाआमासँग छुटेका थिए । डोजर चलेसँगै मानिसहरू भागदौडमा निस्किँदा उनी कसरी छुट्टिए ? उनलाई आफैंलाई थाहा छैन । उनका बुबा रामजी राई र आमा जानुका राई पनि त्यही सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका थिए । परिवारको एक मात्र सन्तान सिम्सन स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।  बस्तीमा डोजर चलेपछि धेरै परिवार विस्थापित भएका छन् । कसैले आफ्ना सामान बोकेर सडक किनारमा थुपारेका छन्, कोही आफन्तको घरतिर लागेका छन् । सिम्सन भने त्यो त्यो भीडमा बाआमालाई खोज्दैछन् ।  स्थानीयहरूका अनुसार बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौं परिवार एकैपटक हटाइँदा यस्तो अवस्था सिर्जना भएको हो । ‘हामीलाई विकल्प नदिई एक्कासि डोजर आयो,’ एक स्थानीयले भने, ‘सामान जोगाउने कि बच्चा सम्हाल्ने भन्ने अवस्था आयो ।’ सुरक्षाकर्मीहरूले भने सरकारी निर्णयअनुसार बस्ती खाली गराइएको बताएका छन् । उनीहरू भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनमा केन्द्रित छन् ।  सिम्सन कहिले भत्किएका टहराको अवशेषतिर हेर्थे, कहिले मानिसहरूको भीडतिर । उनलाई आशा थियो– शायद आमा त्यही कतै हुनुहुन्छ, सायद बुबा पनि फर्केर आउनेछन् । तर, समय बित्दै जाँदा उनको अनुहारमा देखिने चिन्ता गहिरिँदै गएको छ ।  स्सुरक्षाकर्मीले उनको नाम, ठेगाना र विद्यालयको जानकारी लिँदै परिवार खोजी भइरहेको बताइएको छ । तर, यस्ता घटनाले सुकुम्बासी बस्ती हटाउने प्रक्रियामा मानवीय पक्ष कति कमजोर छ भन्ने प्रश्न फेरि उठाएको छ । साँझ पर्नै लाग्दा सिम्सन अझै एउटै आशामा छन्, ‘बाआमा पक्कै भेटिन्छिन् ।’