नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
जानकी । नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो । उक्त सेवा लिएकी यात्री सरिता शर्माले निःशुल्क ट्रलीबस सेवाले विशेष राहत मिलेको बताइन् । 'म आज काठमाडौंबाट नेपालगन्ज आएकी हुँ । यहाँ झर्दा अटोले लिने चर्को शुल्क र अटोवालासँग ‘बार्गेनिङ’ गर्दा खेप्नुपर्ने गर्मी यी दुवैबाट छुटकारा पाएको अनुभूति भएको छ', उनले भनिन् । नेपालगन्ज विमानस्थल प्रमुख सन्तोषकुमार पोखरेलले यात्रुहरूको सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको बताए । उनले भने, 'करिब २५ सिट क्षमता रहेको यो बस पूर्ण रूपमा अपाङ्गमैत्री छ । शारीरिक रूपमा असहजता भएका यात्रुहरूलाई समेत सहज पहुँच होस् भन्ने सोचका साथ यसको सञ्चालन गरिएको हो ।' नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको सेवा प्रवाहलाई थप व्यवस्थित, आधुनिक र यात्रुमैत्री बनाउन विभिन्न सुधार भइरहेका छन् ।
टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ सुरु
काठमाडौं । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज 'वर्ल्ड अफ डान्स' को दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो । यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्नेछ । सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ र सोही प्रणालीको प्रयोग गरि इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्क भुक्तानी गर्ने प्रणाली बिकास गरिसकेको छ । प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसी भेरिफिकेसन गरेर सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन् । साथै दर्शकहरूले समेत ग्राण्ड फिनालेको टिकट सिटीपे मार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ । यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई 'सेलिब्रेटी ग्रान्ड जज' को रूपमा घोषणा गरिएको छ । 'डान्स इन्डिया डान्स' र 'इन्डियाज बेस्ट डान्सर' जस्ता ठुला शोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ । उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन् । प्रतियोगितालाई चार वटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन् । प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । साथै विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन् । नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ । जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौं र २ जेठमा इटहरीमा आयोजना हुनेछ । अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्राण्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ । यो सिजनको फाइनल इभेन्ट 'प्याराडाइम टिभी' मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ । सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको 'वर्ल्ड अफ डान्स' अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ । नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, नृत्याङ्गना कविता नेपाली र भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो ।
विकासन्युजको समाचारका नेक्साको खण्डन
काठमाडौं । विकासन्युज डटकममा चैत २६ गते प्रकाशित ‘कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन–कुन कन्सल्टेन्सी परे ?’ शीर्षकको समाचारको खण्डन प्राप्त भएको छ । नेपाल शैक्षिक परामर्श सेवा संघबाट समाचारको खण्डन प्राप्त भएको छ । समाचारमा उल्लेख गरिएका सूचना र तथ्यहरु सूचनाको अधिकार (आरटीआई) प्रयोग गरी शिक्षा मन्त्रालयबाट प्राप्त गरेको उल्लेख गरिएको र ठगिएका विद्यार्थीको समेत धारणा लिएर लिएर बनाएको समाचार गलत र भ्रामक होइन भन्ने प्रष्ट पार्न चाहन्छौं । विकासन्युज डटकम विश्वसनीय र सत्यतथ्यमा आधारित समाचार सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम भएको जानकारी गराउँदै नेपाल शैक्षिक परामर्श सेवा संघले नेपाल प्रेस काउन्सिललाई बोधार्थ दिएर पठाएको खण्डनलाई जस्ताको त्यस्तै प्रकाशित गरेका छौं ।