काठमाडौं । आँखा रसाएका छन्, जीउ निथ्रुक्क भिजेको छ । अनुहार मलिन भएको छ । सिम्सन राई सोध्छन्, ‘मेरो बुवा-आमा कहाँ जानु भयो ?’
जडिबुटीको मनोहराको किनारमा आइतबार बिहानैदेखि डोजर चलिरहेको छ । सयौं सुरक्षाकर्मीको सहयोगमा सरकारले मनोहराको सुकुम्बासी बस्तीका घर टहरा धमाधम भत्काउँदैछ । वर्षौंदेखि आफ्नै घर सम्झिएर बस्दै आएका सुकुम्बासीको टहरा एक्कासि डोजर चल्दा उनीहरुको मनमात्रै आत्तिएको छैन, अब के गर्ने होला भन्ने चिन्ताले पनि पिरोल्न थालेको छ ।

केहीले साना बालबच्चामा समातेर सुरक्षित ठाउँ खोजिरहेका छन् । केहीले घरबाट धमाधम सामान ओसारिरहेका छन् । त्यही भीडमा ८ वर्षीय सिम्सन राई बिहानैदेखि आफ्ना बाआमा खोज्दैछन् ।
सिम्सन बिहानैदेखि आफ्ना बुबाआमासँग छुटेका थिए । डोजर चलेसँगै मानिसहरू भागदौडमा निस्किँदा उनी कसरी छुट्टिए ? उनलाई आफैंलाई थाहा छैन । उनका बुबा रामजी राई र आमा जानुका राई पनि त्यही सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका थिए । परिवारको एक मात्र सन्तान सिम्सन स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
बस्तीमा डोजर चलेपछि धेरै परिवार विस्थापित भएका छन् । कसैले आफ्ना सामान बोकेर सडक किनारमा थुपारेका छन्, कोही आफन्तको घरतिर लागेका छन् । सिम्सन भने त्यो त्यो भीडमा बाआमालाई खोज्दैछन् ।
स्थानीयहरूका अनुसार बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौं परिवार एकैपटक हटाइँदा यस्तो अवस्था सिर्जना भएको हो । ‘हामीलाई विकल्प नदिई एक्कासि डोजर आयो,’ एक स्थानीयले भने, ‘सामान जोगाउने कि बच्चा सम्हाल्ने भन्ने अवस्था आयो ।’

सुरक्षाकर्मीहरूले भने सरकारी निर्णयअनुसार बस्ती खाली गराइएको बताएका छन् । उनीहरू भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनमा केन्द्रित छन् ।
सिम्सन कहिले भत्किएका टहराको अवशेषतिर हेर्थे, कहिले मानिसहरूको भीडतिर । उनलाई आशा थियो– शायद आमा त्यही कतै हुनुहुन्छ, सायद बुबा पनि फर्केर आउनेछन् । तर, समय बित्दै जाँदा उनको अनुहारमा देखिने चिन्ता गहिरिँदै गएको छ ।
स्सुरक्षाकर्मीले उनको नाम, ठेगाना र विद्यालयको जानकारी लिँदै परिवार खोजी भइरहेको बताइएको छ । तर, यस्ता घटनाले सुकुम्बासी बस्ती हटाउने प्रक्रियामा मानवीय पक्ष कति कमजोर छ भन्ने प्रश्न फेरि उठाएको छ ।
साँझ पर्नै लाग्दा सिम्सन अझै एउटै आशामा छन्, ‘बाआमा पक्कै भेटिन्छिन् ।’