मानव संसाधनलाई संस्थागत परिवर्तनका लागि दुई दिने सम्मेलन हुने
काठमाडौं । ग्रोथ सेलर्सले मानव संसाधन भेलाको ११औ संस्करण ‘एच् आर मिट २०१८’ आगामी चैत ५ र ६ गते आयोजना गर्ने भएको छ । सेलर्सले मानव संसाधन पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य सहित उक्त दुई दिने सम्मेलन गर्न लागेको हो । ‘मानव संसाधनले परिवर्तन ल्याउन सक्छ, मानव संसाधनले हाक्न सक्छ’ भन्ने भावको उक्त सम्मेलनमा, मानव संसाधनका विषयमा आफ्ना सत्रहरू प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताहरू हुनेछन् । वक्ताहरूले आफ्ना सत्रहरू दि डिजाइन थिन्किंग वे (रुपरेखा सोच्ने तरिका) र एम्प्लोई इंगेजमेन्ट (कर्मचारी संलग्नता) विषयक प्रस्तुती दिनेछन् । २५० भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरूलाई लक्षित यस कार्यक्रमका प्रमुख आकर्षणमा प्रमुख कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूको प्यानल छलफल, समानान्तर सत्रहरू, प्यानल अन्तरवार्ता र तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलन सम्बन्धी एकल सत्रहरू रहेका छन् । यस सम्मेलनले कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरू बीच ‘रोजगारीको अवसर र सीपमा कमी’ का विषयमा प्यानल छलफल चलाउने योजना गरेको छ । आयोजकहरूका अनुसार, अघिल्लो वर्षको कार्यक्रममा ठुला व्यवसायिक प्रतिष्ठान, ब्यांकिंग, उत्पादन, सुचना प्रविधि, संस्थान, अरगैसस र देश भरका विभिन्न क्षेत्रका २ सय ६० जतिको सहभागिता रहेको थियो र यस संस्करणका लागि पनि यतिकै अपेक्षा राखिएको छ । मानव व्यवस्थापनमा इच्छुक मानव संसाधन र गैर मानव संसाधन पेशाकर्मीहरूले यस भेलामा भाग लिन सक्नेछन् । त्यसैगरि, आयोजकले सेजोनका सदस्यहरूका विकासका लागि आफ्नो वार्षिक प्रतिवद्दता अनुरूप मानव संसाधन भेलाको शुल्कबाट छुट्याइएको २५ हजार रुपैयाँ आर्थिक पत्रकार समाजको खातामा जम्मा गरेको छ ।
काठमाडौंमै दलित पत्रकारलाई घरबेटीले कोठाबाटै निकालिदिए
काठमाडौँ । दलित भएको भन्दै दुई जना क्रियाशिल पत्रकारलाई घर मालिकद्वारा दुव्र्यवहार गरिएको छ । उनीहरुले भाडामा लिएको कोठाबाटै निकालिएको छ ।इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरुलाई नै दिएका हुन् । मंगलबार घटनाबारे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको प्रहरीको जाने जान लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा पत्रकार विक्रम सुनारले घर मालिक गौतम दम्पतीले दुई कोठाको आफूहरुले कोठाको अग्रिम दिएर कोठा सर्ने बेला अरुलाई नै दिनुको साथै आफूहरुमाथि दुव्र्यवहार गरेको बताए । “दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी त्यही पनि तयार भयौं । भाडास्वरुप अग्रिम २५ सय दिएका थियौं । सर्ने दिनमा त अरुनै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौं भन्दै उल्टै दुव्र्यवहार गरियो” विश्कर्माले पत्रकार सम्मेलनमा भने । फागुन ५ गते कोठा आफूहरुले लगेको र २० गते सर्नेबेला अरुलाई दिइसकेको उनले बताए । कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
अब सबै एम्बुलेन्स सेवालाई एउटै नम्बर १०२ प्रयोगमा ल्याइने
काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यस सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको व्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ । यो सम्झौता पत्रमा नीति, योजना र अन्तर्रा्ष्ट्रिय सहयोग विभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए । नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका प्रोफेसर गिरीले हस्ताक्षर गर्दै भने ‘अब हामी सबै एम्बुलेन्स सेवालाई एउटै कल सेन्टर १०२ मा जोडेर काम गर्दैछौं, जसको व्यवस्थापन नासले गर्ने छ ।’ नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष राजभण्डारीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण र गौरवमय क्षण हो । जहाँ हामीले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवाहरुलाई एउटै नम्बर १०२ मा ल्याएर काम गर्ने छौं । हामीले विगत लामोसमय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेका छौं । यो सहकार्यले हामी अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न र आपत्कालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग काम गर्न सक्ने छौं ।’