अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण ठेकेदारबीचको विवादका कारण अलपत्र
बैतडी, २ मङ्सिर । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण करोडौँको काम अलपत्र परेको हो । सुदूरपश्चिममै पहिलोपटक करिब रु ११ करोडको लागत अनुमानसहित बैतडी सदरमुकाम नजिकै सुन्दरखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण एक वर्षअघि देखि रोकिएको छ । दुई वर्षअघि राष्ट्रिय खेलकुद परिषद्ले बहुउद्देश्यीय क्रिकेट स्टेडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनले निर्माण जिम्मा पाएको थियो । “सम्झौताअनुसार हामीले निर्माण कार्य सम्पन्न गरिसकेका छौँ”, चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनका प्रबन्ध निर्देशक गणेश चन्दले भने , “खाल्डाखुल्डी छ मैदानमा भन्ने राखेपले आरोप लगाएको छ ।” गत वर्ष नै निर्माण कार्य सम्पन्न गरिसकेको र हामीलाई जानकारी नदिईकनै रङ्गशाला निर्माणको अनुगमन गरेको समेत उहाँको आरोप रहेको छ । “निर्माण कार्य सम्पन्न गरेर बिल पेस गरेका छौँ, प्रक्रिया चलिरहेको छ, ” निर्माण कम्पनीका ठेकेदार सुरेश चन्दले, भने “६३ हजार घनमिटर माटो काट्ने सम्झौता भएको हो ।” ठेकेदारले स्वीकृत ठेक्का रु एक करोड १९ लाख बरारबको काम गरेपनि खेलकुद परिषद्ले पूरै रकम भुक्तानी नदिएको दाबी गरेको छ भने खेलकुद परिषद्ले कामको मूल्याङ्कनका आधारमा रकम भुक्तानी दिइसकेको बताएकाले विवाद बढेको बताइएको छ । खेलमैदानको अभाव काम रोकिएर निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ । डेढ दशकअघि बाट क्रिकेटको सुरुवात भएसँगै बैतडीको दशरथचन्द नगरपालिकाको सुन्दरखालीमा क्रिकेट फिल्ड निर्माण गरिएको थियो । यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएको बैतडीमा हाल आएर खेलमैदानको नै अभाव भएको क्रिकेट एसोसिएसन नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । “सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेटप्रेमी तथा प्रतिभावान् खेलाडी अहिले चिन्तित भएका छन्”,उनले भने , “निर्माण कार्य जुनसुकै हालतमा पनि चाँडोभन्दा चाँडो अघि बढ्नुपर्छ ।” दुवै पक्षबीचको टकरावका कारण क्रिकेट खेलाडी भने मर्कामा पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द क्रिकेट रङ्गशाला निर्माण कार्य जिल्लामा कुनै पनि क्रिकेट प्रतियोगिता हँुदासमेत समस्या हुने गरेको छ । खेलाडी निराश जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हँुदा हर्षित भएका स्थानीय खेलाडीमा भने केही निराशा छाएको छ । नियमित अभ्यासका साथै स्थानीय टुर्नामेन्ट सञ्चालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी मोहित भण्डारीले बताए । बैतडीमा क्रिकेटप्रति आकर्षण बढ्दै गएपनि उचित खेलमैदान भने बन्न सकेका छैनन् । वर्षमा विभिन्न टुर्नामेन्ट गर्दा स्थानीय खेलाडी उत्पादन हुने भएपनि दुईवर्ष यता आफूले कुनै टुर्नामेन्ट गर्न नसकेको अर्का क्रिकेट खेलाडी खेमराज भट्टको भनाइ छ । दशरथचन्द क्रिकेट मैदान भत्काइएपछि स्थानीय खेलाडी सदरमुकामभन्दा १० किलोमिटर टाढाको देहिमाडौँ र बुड्ढामा रहेको धुलाम्मे मैदानमा जानुपर्ने बाध्यता सिर्जना भएको छ । टाढाको खेलमैदान एकतिर सानो आकारको धुलाम्मे रहेको र अर्कातिर त्यहाँसम्म जान खर्चिलो हुँदा समस्या भएको छ । करिब रु ११ करोडमा निर्माण हुने भनिएको क्रिकेट स्टेडियममा ५५ गेजभन्दा बढीको खेलमैदान, डे«सिङ रुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने तयारी अलपत्र परेको छ । रङ्गशालाको निर्माण कार्य तीन वर्षभित्रै सम्पन्न गरिसक्ने गरी रु ११ करोड अनुमानित बजेट लाग्ने अनुमान गरिएको थियो । रङ्गशाला निर्माणपछि भारतसँग सीमा जोडिएको सो ठाउँमा भारतका खेलाडी आउन सक्ने र खेलको स्तरसमेत बढ्न सक्ने आँकलनसमेत गरिएको छ । बैतडीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला र पुरुष गरी दर्जनौँ क्रिकेटर जन्माइसकेकाले रङ्गशाला निर्माण भएपछि थप सहयोग पुग्ने आशा गरिएको छ । रासस
चलचित्र जात्राले बुधबारसम्ममा एक करोड ५ लाख कमायो
काठमाडौं । चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् । मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको भनाई छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपीनुका साथै दर्शकको उपस्थिति बाक्लीँदै गरेकाले फिल्म निर्माण टोली उत्सहित रहेको उनले बताएका छन् । समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म विहिबारदेखि दोश्रो सातामा प्रवेश गर्दैछ ।
मेरी स्टोप्स् नेपालद्वारा मेरी स्टोप्स् इन्टरनेशनलसंगको साझेदारीको ४०औं वार्षिकोत्सव मनाइँदै
काठमाण्डौ, २ मंसिर । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले मेरी स्टोप्स् इन्टरनेशनलसँगको साझेदारीको ४०औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । उक्त उत्सवहरु संस्थाको सबै सेवा प्रदायक च्यानलहरुमा हुनेछ र अन्तिम दिन मंसिर ३ गते काठमाडौं स्थित मुख्य कार्यालयमा गर्ने उक्त संस्थाले जनाएको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल, १९७६ मा स्थापित विश्वभरका यौन तथा प्रजनन स्वास्थ्य संस्थाहरुको ग्लोबल पार्टनरशिप मेरी स्टोप्स् इन्टरनेशनलसँग सम्बद्ध छ । उक्त संस्थाको अनुसार स्थापनाको ४० वर्षमा मेरी स्टोप्स् इन्टरनेशनल लण्डनको एउटा सानो एकल परिवार नियोजन क्लिनिकबाट बढेर एउटा ग्लोबल पार्टनरशिपमा परिणत भएको छ र ३७ वटा भन्दा बढी देशहरुमा करोडौं महिलाहरुलाई गर्भनिरोेधक तथा सुरक्षित गर्भपतनको सेवाहरु दिन सक्षम भएको छ । गत वर्ष, विश्वभर २ करोड १० लाख महिलाहरुले मेरी स्टोप्स् इन्टरनेशनलद्वारा उपलब्ध गर्भनिरोधक सेवाहरु प्रयोग गर्दै आएका छन् । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल १९९४ मा स्थापित भएको थियो । विगत ६ वर्षमा करिब ७७१,९७३ अनेच्क्षित गर्भहरु तथा करीब ५२६,४५९ असुरक्षित गर्भपतनहरु हुनबाट जोगाएको उक्त संस्थाको दावी छ । मेरी स्टोप्स् नेपालका कन्ट्री डाइरेक्टर शोफी होडरका भन्छन्–‘‘मेरी स्टोप्स् इन्टरनेशनलको “सन्तान करले होइन, रहरले” भन्ने लक्ष्य प्राप्तिमा काम गर्दै आएको छ र आफ्नो भूमिकाप्रति गर्व गर्दछौं । हाम्रो पार्टनरशिप विश्वभरीका महिला तथा परिवारहरुले सन्तान पाउने कि नपाउने छान्ने अधिकार पूरा गर्न स्थापित भएको हो र हामी यस अधिकारलाई नेपालीहरु माझ यथार्थ बनाउन प्रतिबद्ध छौं ।”