अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा
क्यानबेरा । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गरे । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन् । उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताए । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित बन्नुभएका कोम्र्यानले सन् २०१३ पछि बनेका विभिन्न सरकारको अर्थमन्त्रीका रूपमा काम गर्दै आएका छन् । कोम्र्यानले आफ्नो राजनीतिक जीवनबाट विदा लिन लाएको जानकारी गराउँदै जारी वक्तव्यमा भनिएको छ, ‘म यस पद (अर्थमन्त्री) का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु ।’ कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ । “मैले यो काम मन पर्छ । मैले हरेक दिन यसैका लागि अर्पण गर्ने गरेको छु । तर यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ ।” उनले भने, ‘अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट विदा लिन उपयुक्त समय हुनेछ ।’ कोम्र्यानको राजिनामा यति वेला आएको छ जति वेला अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेको छ । कोम्र्यानको राजिनामासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो मन्त्री परिषद्मा फेरबदल गर्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा
बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
काठमाडाैं । काठमाडौंको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । पक्राउपर्नेमा गोकर्णेश्वर –४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका– ४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका– ६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् । अभियुक्तले मादक पदार्थ सेवन गरी ती महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । रासस
बाढी र पहिरोले पुर्याएको क्षतिबारे ध्यानाकर्षण
खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा आज सदस्यले गुल्मी र अर्घाखाँचीमा बाढी र पहिरोले पु¥याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सो जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यले शून्य समयमा तत्काल उद्धार र राहतका कार्यक्रम लैजान प्रदेश सरकारसँग माग गरे । गुल्मीका प्रदेशसभा सदस्य गीता थापाले जिल्लाको मुसिकोट र इस्मामा बाढी र पहिरोले क्षति पु¥याएको उल्लेख गर्दै १ सय ५० विस्थापित भएर विद्यालयको शरणमा बसेको बताए । उनले भने, ‘मोटरबाटो अवरुद्ध भएको छ, संरचना भत्केको छ तर प्रदेश सरकारको ध्यान गएको छैन । ’ अर्घाखाँचीका प्रदेशसभाका सदस्य रामजी घिमिरेले प्राकृतिक प्रकोपप्रति प्रदेश सरकार उदासीन भएको आरोप लगाउँदै अर्घाखाचीमा दर्जनौं घर भत्केको र खानेपानी योजना र सिंचाइ योजना तहसनहस भएको बताए । उनले भने, ‘ बाढीपीडितको घरआँगनमा राहत र पुनः निर्माणका प्याकेज लिएर प्रदेश सरकार जानुपर्छ ।’ प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले कोरोना भाइरसको स्वाब परीक्षणमा शुल्क लिने विषयमा प्रदेश सरकारको नीति भएको वा नभएको स्पष्ट गर्न माग गए । सदस्य सरस्वती गौतमले राप्ती विज्ञान प्रतिष्ठानमा स्वाबका विषयमा समस्या देखिएको उल्लेख गर्दै त्यहाँका उपकुलपतिले जथाभाबी काम गरेको आरोप लगाए । सभामा स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पेश गरे । सो विधेयकमाथि कमला विक र दीपेन्द्र पुन मगरले सैद्धान्तिक छलफल गरेका थिए । त्यस्तै सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरे । सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य सुरेन्द्रबहादुर हमाल, तुलसी चौधरी, दामा शर्मा र सन्तोष पाण्डेले सैद्धान्तिक छलफल गर्दै विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्राप्त हुने थलोका रुपमा विकास गर्न आवश्यक रहेकामा जोड दिए । छलफलपछि सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बरालले विश्वविद्यालयको स्वायत्ततालाई कम नगरिएको बताए । सभामा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रमाणीकरण गरेका दुई विधेयक सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए । रासस