छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
काठमाडाैं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो । गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । दमक– विद्युत् चुहिएर मङ्गलबार झापाको दमकमा एक युवाको मृत्यु भएको छ । दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको घटनास्थलमै मृत्यु भएको कमल–१ का वडाध्यक्ष केदार कटुवालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। चिप्लेढुङ्गा– कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा मङ्गलबार ट्र्याक्टर दुर्घटना भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । कास्की माछापुच्छ्रे बाटुलेथरमा ग१त २२८३ नंको ट्र्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच मिटर तल खस्दा चालक सोही ठाउँ निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको ट्र्याक्टरले च्यापेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार ट्र्याक्टरमा च्यापिएका अधिकारीको उपचारका लागि मणिपाल अस्पताल पठाएको र उपचारका क्रममा अधिकारीको मृत्यु भएको हो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस
ब्राजिलको राष्ट्रपतिमा देखियाे काेराेना संक्रमण
काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकाे छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि उनको स्वास्थ्य परीक्षणमा काेराेना देखिएकाे हाे । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै लकडाउन तथा मास्ककाे प्रयाेगकाेआलोचना गरिरहेका थिए । कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता
टोकियो । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएका छन् । जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरुले बताएका छन् । मौसम पूर्वानुमान विभागका अनुसार क्युसुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने देखिएको छ । जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको देखिएको छ । फुकुओकामा जापानी सेनाले मानिसलाई निकै जोखिमका साथ घरघरबाट उद्धार गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनले प्रशारण गरिरहेका छन् । फुकुओकामा एक अधवैंसे महिला आफ्ना परिवारजनको उद्धारका लागि गए पनि बाढीको पानी उनको घाँटीसम्म पुगेको थियो । विपद व्यवस्थापन विभागले कुमामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको शव निकालिएको जनाएको छ । अर्की एक वृद्धा भने घरभित्रै मृत अवस्थामा भेटिएकी थिइन् । जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्युसुबाट करिब ३० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थलमा जान सरकारले आदेश दिएको छ । हाल उद्धार कार्यमा दशौं हजार सेना, प्रहरी र अरु उद्धार कार्यकर्ता अहोरात्र खटिएका छन् । खासगरी कुमा नदीको आसपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । उद्धारकार्यमा निरन्तरको वर्षासँगैको बाढीले अबरोध गरिरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । रासस–एपी